दैलेख — दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेटारा क्षेत्रमा बिहीबार भएको फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुनेमा कालिकोटको पचाल झरना गाउँपालिका–९ निवासी ४५ वर्षीय जेखे तिरवा रहेका छन्। दुर्घटनापछि उनलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुल्लु लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट अनियन्त्रित भई कर्णाली नदीमा खसेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको थियो।
प्रहरीका अनुसार गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा ५ देखि ६ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। सशस्त्र प्रहरी बलको तालिमप्राप्त गोताखोर टोलीसमेत परिचालन गरिएको छ।













