पाल्पा । पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा आगामी कात्तिक १५ गतेदेखि ‘दमकडा माण्डव्य ऋषि कप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। दमकडा ब्रदर्श फुटबल क्लबको आयोजनामा कात्तिक २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।>
स्थानीय स्तरमा रहेका प्रतिभावान् खेलाडीको पहिचान, खेलकुदका अवसर सिर्जना तथा खेलाडीबीच आपसी सद्भाव, भाइचारा र अनुशासनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।>
तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपानेले माण्डव्य ऋषिको तपोभूमिमा प्रतियोगिता आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र ऊर्जाशील बनाउनुका साथै आपसी एकता र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।>
कार्यक्रममा तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, खेलकुद पत्रकार संघ पाल्पाका अध्यक्ष माधव अर्याल, एन्फा पाल्पाका अध्यक्ष प्रणय वीरजंग राणा तथा खेलकुद संयोजक चन्दमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष धिरेन थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।>
प्रतियोगितामा आयोजक क्लबसहित १४ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका छन्। प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।>
प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापन, सरसफाइ, मर्मतसम्भार, सुरक्षा, स्वास्थ्य सेवा, एम्बुलेन्स, रेफ्री तथा अफिसियल व्यवस्थापन र प्रचारप्रसारलगायतका काममा करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका सचिव केशवप्रसाद बस्यालले जानकारी दिनुभयो।>
प्रतियोगिता सफल बनाउन पाल्पाका स्थानीय तह, संघसंस्था, उद्योग प्रतिष्ठान, व्यवसायी तथा खेलप्रेमीबाट आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको सचिव बस्यालले बताउनुभयो।>
प्रतियोगिताले स्थानीय तथा आसपासका क्षेत्रका खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ खेलाडीको पहिचान, फुटबलप्रतिको आकर्षण र स्थानीय खेलकुदको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।>>