पृष्ठभूमि>
जीवन र जगतप्रतिको मानवीय दृष्टिकोणलाई दर्शन भनिन्छ। दर्शन भनेको सामाजिक एवं व्यावहारिक चेतनाको उच्चतम् अभिव्यक्ति हो। प्रकृति र समाजसम्बन्धी मानवीय चिन्तन नै दर्शन हो। कार्ल मार्क्सका अनुसार हरेक सच्चा दर्शन आफ्नो समयको उच्चतम बौद्धिक सारतत्त्व हो। भौतिक पदार्थ र चेतनामध्ये कुन पहिलो हो भन्ने प्रश्न नै दर्शनको क्षेत्रमा आधारभूत प्रश्न हो। चेतना पहिलो हो र चेतनाबाट नै पदार्थको सृष्टि भएको हो भन्ने दर्शनलाई आदर्शवाद भनिन्छ। पदार्थ पहिलो हो र पदार्थबाट चेतनाको उत्पत्ति भएको हो भन्ने दर्शनलाई भौतिकवाद भनिन्छ। आदर्शवादले यो जगत बोधगम्य छैन भनेर मान्दछ। भौतिकवादले जगतलाई बोधगम्य छ भन्ने ठान्दछ।>
आदर्शवाद दुई प्रकारका हुन्छन्– वस्तुगत आदर्शवाद र आत्मगत आदर्शवाद। वस्तुगत आदर्शवादले मानिसभन्दा बाहिर चेतना, विचार, परमात्मा, ईश्वर आदिलाई मूलतत्त्व मान्दछ र भौतिक पदार्थलाई तिनीहरूकै आधारमा बनेको ठान्दछ। प्लेटो, हेगेल आदि वस्तुगत आदर्शवादी हुन्। आत्मगत आदर्शवादले मानिसको चेतनाभन्दा बाहिर पदार्थको कुनै स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दैन। बर्कले, ह्यूम आदि आत्मगत आदर्शवादी हुन्। >
भौतिकवाद पनि तीन प्रकारका छन् – प्रारम्भिक भौतिकवाद, यान्त्रिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद। प्रारम्भिक भौतिकवाद प्राचीन युनान, भारत र चीनमा विभिन्न रूपमा देखा पर्यो । यो दर्शनले सर्वप्रथम ईश्वरको अस्तित्वलाई अस्वीकार गरी भौतिकवादी दर्शनको जग बसाल्यो। प्राकृतिक घटनाहरूलाई दैवी कारणले होइन भौतिक कारणले व्याख्या गर्यो। प्राचीन ग्रीक दार्शनिक थेल्सले सबै कुरा पानीबाट बनेको भने, हेराक्लिट्सले आगोलाई आधार हो भनी माने, डेमोक्रिटसले सबै वस्तुहरू परमाणुबाट बनेका छन् भने। भारतीय चार्वाक् दर्शनले आत्मा वा परलोक छैन, चेतना भनेको शरीरबाट उत्पन्न हुन्छ भन्ने धारणा दियो। समाज वर्गमा विभाजित नहुँदासम्मको दर्शन आधारभूतरूपमा प्राकृतिक भौतिकवादी चरित्रको थियो। यान्त्रिक भौतिकवादले सम्पूर्ण विश्वलाई एउटा यन्त्रको रूपमा मान्दछ। सबै गति र परिवर्तन आन्तरिक कारणबाट नभई बाहिरी कारण एवम् पूर्व निर्धारित क्रम अनुसार चल्ने मान्यता राख्दछ। यसले सबै कुरालाई स्थिर र स्थायी देख्दछ। यसैगरी, द्वन्दवाद र भौतिकवादको संयोजनबाट विकसित भएको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो। यो दर्शनले पदार्थको प्रधानतालाई स्वीकार गर्दै भौतिक जगतलाई निरन्तर गतिशील, विकासशील एवं उन्नतरूपमा परिवर्तन हुन्छ भनी मान्दछ। >
पद्धतिगतरूपमा बुझ्दा अधिभूतवादी र द्वन्दवादी गरी दर्शनलाई दुई समूहमा विभाजन गरिन्छ। द्वन्दवादले हरेक वस्तुमा निरन्तर परिवर्तन भइरहेको हुन्छ, वस्तुभित्र चल्ने अन्तर्विरोध नै परिवर्तनको कारण हो र कुनै चीजको विकास निम्नस्तरबाट उच्चस्तरमा हुने गर्दछ भन्ने मान्यतालाई ग्रहण गरेको हुन्छ। साथै अधिभूतवाद भनेको द्वन्दवादको ठीक उल्टो दार्शनिक पद्धति हो। अधिभूतवादले वस्तुहरू र घटनाहरूलाई अपरिवर्तनीय, स्थिर तथा एक–अर्कोबाट स्वतन्त्र मान्दछ। यसले कुनै चीजको विकासको कारण स्वयं त्यो पदार्थभित्र हुन्छ भन्ने तथ्यलाई अस्वीकार गर्छ र बाह्य शक्तिको भूमिकालाई निर्णायक ठान्दछ। >
दर्शनको इतिहासमा भौतिकवाद र आदर्शवादका बीचमा निरन्तर संघर्ष चल्दै आएको छ। समाजमा वर्ग विभाजन सुरु भएपछि दर्शन मुख्य रूपमा आदर्शवादी र भौतिकवादी दुई धारामा विभाजित भयो र वर्गपक्षधरताका साथ अघि बढ्यो। आदर्शवादले अन्ततः शोषक वर्गको सेवा गर्दछ। द्वन्द्वात्मक भौतिकवाद सबभन्दा उन्नत, वैज्ञानिक र क्रान्तिकारी दर्शन हो जसले श्रमजीवी वर्गको हितमा काम गर्दछ। मार्क्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन अनुसार मानव समाजको इतिहासको व्याख्या गर्नु भयो। मानव समाजको द्वन्द्वात्मक भौतिकवादी यही व्याख्यालाई ऐतिहासिक भौतिकवाद भनिन्छ। यसर्थ द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई समष्टिगतरूपमा मार्क्सवादी दर्शन पनि भनिन्छ। मार्क्सवादी दर्शन सर्वहारा श्रमजीवी वर्गको मुक्तिको दर्शन हो। अब मार्क्सवादी दर्शनका यी दुई अवयवहरूबारे छुट्टाछुट्टै चर्चा गरिनेछ। सारमा भन्दा, द्वन्द्वात्मक भौतिकवादले सम्पूर्ण जगतकै अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले मानव समाजको विकासक्रमको अध्ययन गर्दछ। >
१.द्वन्द्वात्मक भौतिकवाद >
फायरबाखको दर्शनमा भएको भौतिकवाद र हेगेलको दर्शनमा भएको द्वन्दवादलाई संयोजन गरी मार्क्स र एङ्गेल्सद्वारा द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन भएको हो। यस दर्शनले पदार्थलाई प्रमुख र चेतनालाई पदार्थको उपजको रूपमा स्वीकार गर्दै यस भौतिक जगतलाई निरन्तर गतिमान र नवीनरूपमा परिवर्तनशील हुने भनी स्वीकार गर्दछ। यस दर्शन अनुसार, “पदार्थ र गतिको घनिष्ठ सम्बन्ध छ। पदार्थ विना गति हुन्न र गतिबिना पदार्थ रहँदैन। पदार्थ कहिल्यै नष्ट हुन्न र त्यसको रूपमा परिवर्तन भइरहेको हुन्छ। पदार्थको गति निम्नबाट उच्चस्तरमा विकास हुँदै जान्छ। पदार्थको अस्तित्व सधैँ गतिमा नै रहन्छ र त्यो अस्तित्व स्थान (space) र काल(time)मा बाहेक अन्यत्र रहन्न। ” मार्क्सले भन्नुभएको छ, “दार्शनिकहरूले संसारलाई विभिन्न किसिमले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो। ” वास्तवमा समाजका शोषित उत्पीडित वर्गका पक्षमा संसारलाई बदल्ने काममा यही द्वन्द्वात्मक भौतिकवादी दर्शन सहयोगी बन्दछ। >
द्वन्द्वात्मक भौतिकवादका मुख्य तीन नियमहरू हुने कुरा एङ्गेल्सले बताउनु भएको छ। ती हुन् – (क) प्रतिपक्षहरूको एकत्व र संघर्षको नियम, (ख) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम, (ग) नकारको नकारसम्बन्धी नियम। माओले प्रतिपक्षहरूको एकत्व र संघर्षको नियमलाई नै द्वन्द्वात्मक भौतिकवादको आधारभूत नियम मान्नु भएको छ। >
(क) प्रतिपक्षहरूको एकत्व र संघर्षको नियम>
यस नियमअनुसार सबै वस्तु र घटनाहरूमा परस्पर विरोधी पक्षहरू रहेका हुन्छन्। ती परस्पर विरोधी पक्षहरू वस्तुमा सँगसँगै रहेका पनि हुन्छन् र आपसमा अन्तर्क्रिया अर्थात् संघर्ष पनि गरिरहेका हुन्छन्। ती विपरीत पक्षहरूलाई अलग गर्न सकिँदैन। संसारमा कुनै यस्तो वस्तु र घटना छैन जो प्रतिपक्षहरूमा विभाजित नभएको होओस्। प्रतिपक्षहरूले एक दोस्रोलाई निषेध मात्र गर्ने होइनन्, एकले अर्काको अस्तित्व अनिवार्य पनि ठान्दछन्। उदाहरणको लागि, पुँजीवादी समाजको अस्तित्व परस्पर विरोधी सर्वहारा वर्ग र वुर्जुवा वर्ग बिना असम्भव हुन्छ। यी वर्गहरू सँगै पनि रहन्छन् र आपसमा निरन्तर संघर्ष पनि गरिरहेका हुन्छन्। प्रतिपक्षहरूको एकत्वले नै संघर्षको निम्ति आवश्यक अवस्थाको सिर्जना गर्दछ। प्रतिपक्षहरू बीचको संघर्ष अर्थात् आपसी अन्तरविरोध नै पदार्थको विकासको मूल स्रोत हो। वास्तवमा विकास भन्नु नै विपरीतहरू बीचको ‘संघर्ष’ हो। जस्तो कि, सर्वहारा र पुँजीपति वर्ग बीचको प्रतिपक्षीय निरन्तर संघर्षको परिणामस्वरूप पुँजीवादी व्यवस्था समाजवादमा विकसित हुन्छ। प्राकृतिक विज्ञानमा पनि परमाणुको केन्द्रमा रहने धनात्मक चार्जयुक्त प्रोटोन र वरिपरिका सेलहरूमा घुमिरहने ऋणात्मक चार्जयुक्त इलेक्ट्रोनको एकत्वले परमाणुको अस्तित्व सम्भव बनाउँछ र साथै तिनीहरूको आपसी अन्तर्क्रिया पनि चलिरहेको हुन्छ। जसले पदार्थको परिवर्तनलाई पनि सघाइरहेको हुन्छ। >
वस्तु र घटनाहरू दुई विपरीत पक्षहरूमा बाँडिएका हुन्छन्। जसले प्रतिपक्षहरूको एकत्वको प्रतिनिधित्व गर्दछन्। प्रतिपक्षहरू सहअस्तित्वमा पनि रहने र आपसी संघर्षको स्थितिमा पनि रहन्छन्। विपरीत पक्षहरूको संघर्ष नै वास्तविक विकासको आन्तरिक सार तथा स्रोत हो। यो नियमको सारतत्त्व यही हो। लेनिनका अनुसार, “विकास भनेको विरोधी पक्षहरूको संघर्ष हो। ” >
(ख) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा सङ्क्रमणको नियम>
प्रत्येक घटना र वस्तु निश्चित गुणको साथै निश्चित परिणामले पनि युक्त हुन्छ। मात्रा र गुणमा एकत्व पनि हुन्छ र अन्तर पनि हुन्छ। क्रमिकरूपले हुने मात्रात्मक परिवर्तन निश्चित विन्दुमा पुगेपछि आकस्मिक छलाङ वा फड्कोमार्फत् गुणात्मक परिवर्तनमा बदलिन्छ। कुनै नयाँ वस्तुले अचानक जन्म लिएजस्तो देखिने प्रक्रिया भित्र पहिलेदेखि नै चलिरहेको निरन्तर मात्रात्मक परिवर्तनको क्रम अन्तर्निहित हुन्छ। मात्रात्मक परिवर्तनको एउटा निश्चित विन्दुमा गुणात्मक परिवर्तन अनिवार्य हुन्छ। गुणमा हुने परिवर्तनद्वारा वस्तुमा नै परिवर्तन आउँछ र त्यो पूर्णतः अर्को वस्तुमा फेरिन्छ। गुणात्मक परिवर्तन शून्यबाट हुँदैन। त्यसमा मात्रा थपिँदै जाँदा एउटा विन्दुमा पुगेपछि मात्र गुणात्मक परिवर्तन आउँछ। मार्क्सले भन्नु भएको छ, “...विशुद्ध परिमाणात्मक परिवर्तनहरू निश्चित स्तरमा पुगेपछि गुणात्मक विभेदहरूमा रूपान्तरित हुन्छन्। ”>
उदाहरणको रूपमा पानीलाई तताउने क्रममा १०० डिग्री सेन्टिग्रेड तापक्रम नपुग्दासम्म पानी भित्र तापको मात्रा क्रमशः बढ्दै गए पनि पानीकोे तरल अवस्थामा परिवर्तन आउँदैन। तर जब पानीको तापक्रम १०० डिग्री सेन्टिग्रेडमा पुग्दछ तब पानी उम्लिन्छ र तरलबाट गुणात्मक परिवर्तन भई वाफ अर्थात् ग्यास अवस्थामा रूपान्तरण हुन्छ। यस्ता कुरा समाज विकासमा पनि देखिन्छ। पुँजीवादी समाजमा श्रमजीवी वर्गले संघर्ष गरिरहँदा पुँजीवादलाई क्रमशः दबाब बढ्दै जान्छ र एक स्थितिमा पुगेपछि यस्तो परिस्थिति आउँछ कि सर्वहारा क्रान्तिद्वारा पुँजीवाद परास्त हुँदै गुणात्मक परिवर्तनद्वारा समाजवादी व्यवस्थामा रूपान्तरण हुन्छ। >
सारमा भन्दा विकास प्रक्रियामा टड्कारो रूपमा नदेखिने क्रमिक परिमाणात्मक परिवर्तनहरूले आमूल गुणात्मक परिवर्तनहरूमा संक्रमण गर्दछन्। यो संक्रमण फड्कोको रूपमा सम्पन्न हुन्छ। केही फड्काहरू तीव्र गतिमा सम्पन्न हुन्छन् अर्थात् पुरानो गुण तत्कालै पूर्णतः नयाँमा बदलिन्छन् भने केही फड्काहरू मन्द गतिले अघि बढ्दछन् । अर्थात् पुराना गुणहरू बिस्तारै लोप हुन्छन् र नयाँ गुणहरू पनि बिस्तारै उदाउँदै जान्छन्। >
(ग) नकारको नकारसम्बन्धी नियम>
पुरानोको आधारमा उत्पन्न भएको नयाँ कुराले पुरानोलाई विस्थापित गर्नुलाई नकार वा निषेध भनिन्छ। मानव समाजको इतिहासमा नयाँ सामाजिक व्यवस्थाहरूद्वारा पुरानो व्यवस्था विस्थापित हुनु निषेध / नकारकै शृङ्खला हो। जस्तो कि आदिम साम्यवादको नकार दासप्रथा हो, दासप्रथाको नकार सामन्तवाद हो आदि। नयाँ वैज्ञानिक सिद्धान्तले अपरिपक्व पुरानो वैज्ञानिक सिद्धान्तलाई विस्थापित गर्नु पनि नकारको उदाहरण हो। मार्क्सले भन्नु भए अनुसार, “आफ्नो अस्तित्वको पहिलेका रूपहरूको नकारबिना कुनै पनि क्षेत्रमा विकास सम्भव हुँदैन। ”>
नकार भनेको वस्तु वा घटनामा बाहिरबाट थोपरिने कुरा होइन र यो वस्तु वा घटनाको आफ्नै आन्तरिक विकासको परिणाम हो। वास्तवमा, वस्तु वा घटनाहरूमा भएको आन्तरिक अन्तर्विरोधको कारणले पुरानो कुराको निषेध भई नयाँ उत्पन्न हुन पुग्दछ। नयाँले पुरानोलाई पूर्णरूपमा निर्मूल पार्दैन; बरु त्यसमा रहेका सबै सकारात्मक तत्त्वहरूको संरक्षण गर्दछ। साथै नयाँले पुरानोबाट निश्चित तत्त्वहरू मात्र ग्रहण गर्दछ र पुरानोबाट सम्पूर्ण कुराहरू कदापि ग्रहण गर्दैन। ‘नकारको नकार’को शृङ्खला निरन्तर चलिरहेको हुन्छ। कुनै पुरानो कुरालाई नयाँले निषेध गर्ने बित्तिकै त्यो नयाँलाई पुनः त्यसपछिको अर्को नयाँ कुराले निषेध गर्दछ र यो क्रम निरन्तर अघि बढ्दछ। >
नकारको नकारसम्बन्धी नियमले विकासको प्रगतिशील चरित्रलाई पुष्टि गर्दछ। तर त्यो प्रक्रिया रेखीय रूपमा नभई वृत्ताकार रूपमा अघि बढ्दछ। उदाहरणको निम्ति सजीव जगतमा वर्तुलाकार विकास भेटिन्छ। एङ्गेल्सले गहुँको गेडाको विकासको उदाहरणमा यो नियम कसरी लागू हुन्छ भन्ने कुरा देखाउनु भएको छ। अनुकूल वातावरणमा गहुँको गेडाबाट बोट उम्रन्छ। यो गेडाको नकार हो। अनि त्यसमा नयाँ धेरै गेडाहरूसहित बाला लाग्दछ। नयाँ गेडाहरूले बोटको नकार गर्दछन्। यो नकारको नकार हो। तर यहाँ नकारको नकारभित्र एउटा गहुँबाट धेरै गहुँका दानाहरू प्राप्त हुन्छन्; यसरी प्राप्त गेडाहरू मात्रा र गुणमा पनि पृथक हुँदै जान्छन् र यहाँ वृत्ताकार रूपमा विकासको प्रक्रिया सम्पन्न हुन्छ।>
सारमा भन्दा नयाँले पुरानाको नकार गर्दै त्यसका सकारात्मक पक्षहरूलाई सुरक्षित र विकसित पनि गर्दै लैजान्छ र विकासको चरित्र पनि प्रगतिशील हुँदै जान्छ। यसका साथै विकास वृत्ताकार रूपमा सम्पन्न हुन्छ र उच्चतम स्तरहरूमा निम्नस्तरका केही पक्षहरूको समेत पुनरावृत्ति हुँदै रहन्छ। “नयाँले पुरानोलाई निर्मूल पार्दैन; बरु त्यसमा रहेका सबै सकारात्मक तत्त्वहरूको संरक्षण गर्दै अघि बढ्दछ र यो क्रममा पुरानो वस्तु वा घटनाबाट नवीन वस्तु वा घटना विकसित हुँदै जान्छ। ” यही नै नकारसम्बन्धी द्वन्दवादी धारणाको सार हो। द्वन्दवादले के सिकाउँछ भने नयाँले पुरानोलाई निषेध गर्नुपर्दछ। नकारको शृङ्खला सकारात्मक विकासको साधन हो, प्रगतिको एउटा शर्त हो। >
द्वन्द्वात्मक भौतिकवादका भावहरू>
दर्शनको क्षेत्रमा भावहरू भन्नाले आधारभूत अवधारणाहरूलाई जनाउँछ। दर्शनको विकासक्रममा उत्पन्न हुने भावहरू त्यो दर्शनका आधारभूमि बन्दछन्। दार्शनिक भावहरू भनेका यस्ता अवधारणाहरू हुन् जसले वास्तविकताका सामान्य चरित्र र सम्बन्धहरू, पक्ष र स्वभावहरूको प्रतिबिम्बित गर्दछन्। यी भावहरूलाई प्रवर्गहरू पनि भन्न सकिन्छ। द्वन्द्वात्मक भौतिकवादका भावहरू निम्नानुसार छन्। >
१) व्यष्टि र समष्टि २) सार र रूप ३) स्वत्व र घटनाक्रम ४) कारण र कार्य ५) अनिवार्यता र आकस्मिकता ६) सम्भाव्यता र वास्तविकता>
१) व्यष्टि र समष्टि>
वस्तु वा घटनाको विशिष्ट लक्षण वा चरित्रलाई व्यष्टि भनिन्छ। कुनै खास व्यक्ति, वस्तु वा घटना एउटै मात्र हुन्छ र त्यसलाई नै व्यष्टि भनिन्छ। अथवा कुनै वस्तु वा घटनाको निजी गुण वा विशेषता नै व्यष्टि हो। वस्तु वा घटनाका साझा गुण वा विशेषतालाई समष्टि भनिन्छ। व्यष्टि र समष्टिको बीचमा द्वन्द्वात्मक एकत्व कायम हुन्छ। जुनसुकै व्यष्टि पनि कुनै न कुनै रूपमा समष्टि हो र समष्टि पनि व्यष्टिको माध्यमद्वारा अस्तित्वमा रहन्छ। वस्तु वा घटनाको साझा लक्षण समष्टि हो भने विशिष्ट लक्षण नै व्यष्टि हो। उदाहरणको लागि जंगल समष्टि हो भने त्यहाँको एउटा रुख व्यष्टि हो।>
२) सार र रूप>
निश्चित वस्तु अथवा घटनाको निर्माण गर्ने तत्त्वहरू र प्रक्रियाहरूको समुच्चयलाई सार भनिन्छ। अथवा सार भनेको वस्तु वा घटनाको निर्माण गर्न संलग्न भएका आधारभूत तत्त्वहरू, आन्तरिक प्रक्रिया र अन्तर्विरोधहरूको समष्टि हो। वस्तु वा घटनाको बाहिरी संरचनालाई त्यसको रूप भनिन्छ। सार आन्तरिक कुरा हो भने रूप बाहिर देखिने पक्ष हो। रूप र सारलाई एक अर्काबाट अलग गर्न सकिन्न, यिनीहरुको बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ। रूपले सारमाथि प्रभाव पार्दछ भने सारले रूपको निर्धारण गर्दछ। सारको भूमिका निर्णायक हुन्छ भने रूपको भूमिका गौण हुन्छ। उदाहरणको लागि उत्पादन–सम्बन्ध त्यस उत्पादन पद्धतिको रूप हो भने उत्पादक शक्ति त्यसको सार हो। त्यस्तैगरी राजतन्त्र, प्रजातन्त्र आदि राज्यसत्ताका विविध रूपहरु हुन् भने जुनसुकै शासन प्रणाली पनि वर्गीय दमनका साधन हुन् भन्ने कुरा राज्यसत्ताको सार हो। >
३) स्वत्व र घटनाक्रम>
स्वत्वले नै वस्तुको स्वभाव निरूपित गर्दछ। स्वत्वलाई अन्तर्वस्तु पनि भनिन्छ। स्वत्व भनेको कुनैपनि वस्तु वा घटनाको प्रमुख, आन्तरिक र अपेक्षाकृत स्थिर पक्ष हो। स्वत्वबाट वस्तुका अन्य पक्षहरू तथा लक्षणहरू उत्पन्न हुन्छन्। घटनाक्रम भनेको स्वत्वको बाहिरी, प्रत्यक्ष अभिव्यक्ति हो। स्वत्व बाहिरी सतहमा देखिँदैन। घटना भनेको वास्तविकताको बाहिरी र सतही पक्ष हो। स्वत्व अपेक्षाकृतरूपले स्थिर हुन्छ भने घटनाक्रम परिवर्तनशील हुन्छ। स्वत्व र घटनाको एकत्व हुँदाहुँदै पनि तिनीहरू प्रतिपक्षी हुन्। यिनीहरुले एकअर्कालाई प्रभावित पारिरहेका हुन्छन्। कुनै पनि समाज व्यवस्था, उत्पादन प्रणाली आदि घटनाक्रमका उदाहरण हुन्। त्यस्तै, उत्पादनका साधनमाथिको निजी स्वामित्व पुँजीवादी उत्पादन प्रणलीको स्वत्व हो। उत्पादनका साधनमाथिको सामूहिक स्वामित्व समाजवादी प्रणालीको स्वत्व हो।>
४) कारण र कार्य >
कारण भनेको घटना अथवा आपसमा अन्तर्सम्बन्धित घटनाहरूको समूह हो जसले अर्को घटना जन्माउँछ। कारणको असरले गर्दा जुन घटना उत्पन्न हुन्छ त्यसलाई कार्य भनिन्छ। कारणबिना कार्य हुँदैन । जस्तै, कुनै ठाउँमा धूँवा आइरहेको छ भने पक्कै पनि त्यहाँ आगोको अस्तित्व रहेका हुनुपर्दछ। यहाँ, आगो कारण हो भने धूवाँ उड्नु कार्य हो। त्यस्तै, उत्पादनका साधनमा हुने निजी स्वामित्वको कारणले समाजमा वर्गसङ्घर्ष चल्दछ। एउटै घटना पनि एक प्रसंगमा कारण हुन्छ भने अर्को प्रसंगमा कार्य बन्दछ। एउटा घटनाले अर्को घटना निम्त्याउँछ। पहिलो घटना कारण हो, पछिल्लो घटना कार्य हो। कारण कार्यको सिलसिला निरन्तर चलिरहन्छ। कारण र कार्य अभिन्न रूपले सम्बन्धित हुन्छन् र तिनीहरूको बीचमा द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ।>
५) अनिवार्यता र आकस्मिकता>
जुन घटनाहरू निश्चित अवस्थामा नियमअनुसार निश्चित समय र प्रक्रियामा अनिवार्य रूपमा घट्दछन् ती घटनाहरूलाई नियमितता वा अनिवार्यता भनिन्छ। अनिश्चित समय एवं प्रक्रियामा अनियमितरूपले घटना घट्नुलाई आकस्मिकता भनिन्छ। नियमितताको विपरीत आकस्मिकता अवश्यम्भावी हुँदैन। निश्चित अवस्थामा त्यो घट्न पनि सक्छ नघट्न पनि सक्छ। अनिवार्यता र आकस्मिकताको बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ। कुनै घटना एउटा स्थितिमा अनिवार्य हुन्छ भने अर्को अवस्थामा आकस्मिक हुन्छ। आकस्मिकता अस्थिर र क्षणिक भएपनि अकारण भने हुँदैन। अधिभूतवादीहरूले अनिवार्यता र आकस्मिकताको परस्पर सम्बन्धलाई नकार्दछन्। >
६) सम्भाव्यता र वास्तविकता>
नयाँको उत्पत्तिको निम्ति वर्तमानमा विद्यमान रहेका पूर्वाधारहरूलाई सम्भाव्यता भनिन्छ। सम्भाव्यताको कार्यान्वयन नै वास्तविकता हो। सम्भाव्यता र वास्तविकता घनिष्ठ रूपले अन्तरसम्बन्धित छन्। सम्भाव्यता पनि अमूर्त र यथार्थ गरी दुई प्रकारका हुन्छन्। वस्तुगत नियमहरूको जगबाट नै सम्भाव्यता उत्पन्न हुन्छ। एक समयको सम्भाव्यता अर्को समयमा वास्तविकतामा परिणत हुन्छ। प्राकृतिक परिघटनाहरूमा कुनै सम्भाव्यता स्वतःस्फूर्त ढंगबाटै वास्तविकतामा परिणत हुन सक्दछ। तर समाजमा जबसम्म मानिसले वस्तुगत नियमहरूको आधारमा सचेत हस्तक्षेप गर्दैन, तबसम्म सम्भाव्यता वास्तविकतामा परिणत हुन सक्दैन। कुनैबेला संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सम्भाव्यताको विषय थियो, त्यो अहिले वास्तविकतामा बदलिएको छ। अहिलेका लागि वैज्ञानिक समाजवाद नेपालमा केवल संभावना मात्र हो भने भविष्यका लागि यो वास्तविकता हुन सक्दछ। >
द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त>
ज्ञान प्राप्ति भनेको मानिसको मस्तिष्कमा वस्तुगत जगत र त्यसका नियमहरूको क्रियाशील र सार्थक प्रतिबिम्ब हो। बाहिरी जगत नै ज्ञान प्राप्तिको स्रोत हो। जगत पूर्णतया बोधगम्य छ र भौतिक संसारका वस्तु एवं घटनाहरू नै ज्ञान प्राप्तिको एक मात्र स्रोत हो भन्ने मान्यता नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको आधार हो। ज्ञान प्राप्ति मूर्तबाट अमूर्ततर्फ, साधारणबाट जटिलतर्फ, ज्ञातबाट अज्ञाततर्फ, विशिष्टबाट सामान्यतर्फ, अपूर्णबाट पूर्णतर्फ निर्देशित हुन्छ। ज्ञान प्राप्ति स्थिर रहँदैन; यो निरन्तर गतिशील र विकासशील हुन्छ। वैज्ञानिक ज्ञानमात्र सही ज्ञान हो। सही ज्ञानले मात्र मानवजातिको कल्याण गर्दछ। ज्ञानको उद्देश्य सत्यको नजिक पुग्नु हो र सत्यको कसौटी व्यवहार हो। द्वन्द्वात्मक भौतिकवादका अनुसार सत्यको अन्वेषण नै ज्ञानको मार्ग हो। जुन ज्ञानले वस्तुको सही प्रतिबिम्ब उतार्छ, त्यो नै सत्य हो। >
इन्द्रियजन्य ज्ञान नै ज्ञानप्राप्तिको पहिलो चरण हो र तार्किक ज्ञान दोस्रो चरण हो। इन्द्रियजन्य ज्ञान र तार्किक ज्ञान एक अर्काका परिपूरक हुन्छन्, एकले अर्कालाई समृद्ध तुल्याउँछन्। इन्द्रियद्वारा प्राप्त ज्ञानलाई संवेदना भनिन्छ। संवेदनाहरू ज्ञानका स्रोत हुन् तर तिनीहरूद्वारा मात्र सही ज्ञान प्राप्त नहुन सक्छ। ती संवेदनाहरूको मस्तिष्कले तार्किक विश्लेषण गरेपछि मात्र सही ज्ञान प्राप्त हुन सक्दछ। ज्ञानको विकासमा श्रमको ठूलो महत्त्व हुन्छ। श्रमको दौरानमा नै मस्तिष्क र भाषाको विकास हुन्छ र ज्ञान समृद्ध हुँदै जान्छ। अनुभव अर्थात मानिसहरूको भौतिक उत्पादनसम्बन्धी क्रियाकलाप ज्ञान प्राप्तिको आधार हो। त्यस्तै गरी व्यवहार नै ज्ञानको प्रस्थान विन्दु र जग हो। प्रकृति र समाज रूपान्तरण गर्न मान्छेले गर्ने क्रियाकलापलाई व्यवहार भनिन्छ। सिद्धान्त र व्यवहारबीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ। सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ भने व्यवहारले सिद्धान्तलाई प्रतिपादन गर्ने र कार्यान्वयन गर्दै पूर्णतातिर लैजान्छ। >
वैज्ञानिक ज्ञान प्राप्तिका अनेकौँ विधि र पद्धतिहरू छन्– निरीक्षण र अनुसन्धान, विश्लेषण र संश्लेषण, आगमन र निगमन, मूर्तबाट अमूर्ततर्फ इत्यादि। द्वन्द्वात्मक भौतिकवादले ज्ञानलाई बौद्धिक विलासको साधन होइन, संसारलाई बदल्ने औजार मान्दछ। ज्ञानले अन्यायपूर्ण समाज बदलेर न्यायपूर्ण एवं शोषणविहीन समाजको सिर्जना गर्नु पर्दछ। निष्कर्षमा, माओले भन्नु भएझैँ उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग नै सही ज्ञान प्राप्तिको बाटो हो। पदार्थबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने बारम्बारका अनेकौँ क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ। माओले भन्नु भएको छ, “व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान। यसरूपले अनन्त फन्को मारिरहन्छ। प्रत्येक फन्कोका साथै व्यवहार र ज्ञानको विषयवस्तु झन् झन् माथिल्लो तहमा चढ्दछ। ...... ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो हुन्छ। ”>
२. ऐतिहासिक भौतिकवाद>
ऐतिहासिक भौतिकवादले सामाजिक घटनाहरूको द्वन्द्वात्मक भौतिकवादी व्याख्या प्रस्तुत गर्दछ। मानव समाज र त्यसका विकासका नियमहरूको अध्ययन नै ऐतिहासिक भौतिकवादको विषयवस्तु हो। श्रमजीवी जनता नै इतिहासका वास्तविक निर्माता हुन्, जनताको श्रमद्वारा नै मानिसलाई आवश्यक पर्ने भौतिक मूल्यहरूको सिर्जना हुन्छ भन्ने कुरा यसले मान्दछ। इतिहास महान् व्यक्तिहरूको इच्छाले होइन, बरु आर्थिक उत्पादन सम्बन्ध र वर्गसङ्घर्षको परिणामस्वरूप अघि बढ्छ। समाज रूपान्तरणको मूल आधार उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आएको परिवर्तन हो। यसले मानव समुदायलाई गतिशील रूपमा हेर्दछ। ऐतिहासिक भौतिकवाद मार्क्स र एङ्गेल्सको समाजविज्ञानको क्षेत्रमा महानतम् आविष्कार हो। >
भौतिक सम्पत्तिको उत्पादन नै सामाजिक जीवनको निर्णायक तत्त्व हो। मानवीय श्रम विना उत्पादन सम्भव हुँदैन। जुन वस्तुहरूमा मानव श्रम लगाइन्छ तिनलाई श्रमका वस्तुहरू भनिन्छ। जुन सामग्रीहरूको सहायताबाट श्रमकार्य गरिन्छ, ती श्रमका औजार वा साधनहरू हुन्। श्रमका वस्तुहरू र श्रमका साधनहरूको समष्टिलाई उत्पादनका साधनहरू भनिन्छ। (श्रमका वस्तुहरू + श्रमका साधनहरू उत्पादनका साधनहरू)>
उत्पादनका साधनहरूलाई मान्छेको श्रमले परिचालन गरेर मात्र वस्तुको उत्पादन हुन सक्दछ। उत्पादनका साधनहरू र श्रम गर्ने मानिसहरूको समष्टिलाई उत्पादक शक्तिहरू भनिन्छ। (उत्पादनका साधनहरू + श्रम गर्ने मानिसहरू उत्पादक शक्तिहरू)>
उत्पादनको प्रक्रियामा मानिसहरूका बीचमा स्थापित हुने सम्बन्धलाई नै उत्पादन सम्बन्ध भनिन्छ। मार्क्सले भन्नु भएको छ, “उत्पादन गर्नको निम्ति मानिसहरूले निश्चित सम्पर्क र सम्बन्ध कायम गर्दछन्, र यस सामाजिक सम्पर्क तथा सम्बन्धको परिधिभित्र मात्रै प्रकृतिसित उनीहरूको सम्बन्ध स्थापित हुन्छ र उत्पादन सम्भव हुन्छ। ” उत्पादक शक्तिहरू र उत्पादन सम्बन्ध मिलेर उत्पादन पद्धति बनाउँछन्। सामाजिक विकासको प्रमुख एवं निर्णायक शक्ति उत्पादन पद्धति हो।>
उत्पादनका साधनप्रति मानिसको सम्बन्ध अर्थात् स्वामित्वको रूप नै उत्पादन सम्बन्धको आधार हो। स्वामित्वको रूप सामाजिक छ भने समाजवादी व्यवस्था निर्माण हुन्छ। यदि स्वामित्वको स्वरूप व्यक्तिवादी छ भने, त्यो व्यवस्था गैरसमाजवादी चरित्रको हुन्छ। उत्पादन सम्बन्धहरू मानिसका इच्छा र आकाङ्क्षामा निर्भर हुँदैनन्। उत्पादन सम्बन्ध निरन्तर परिवर्तन भइरहेको हुन्छ। उत्पादक शक्तिहरूको परिवर्तनका साथसाथै उत्पादन सम्बन्ध पनि बदलिन्छ। कम श्रममा सहजतापूर्वक काम गरी धेरैभन्दा धेरै उत्पादन लिनका लागि उत्पादनका औजारहरूलाई विकसित गर्दै लगिन्छ। उत्पादक शक्तिहरूमा हुने निरन्तर विकासको परिणामस्वरूप यो पुरातन उत्पादन सम्बन्धसँग टकराउन थाल्दछ। उत्पादक शक्ति र उत्पादन सम्बन्धहरूबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ। >
उत्पादन सम्बन्धहरू निष्क्रिय रहँदैनन्। तिनीहरूले उत्पादक शक्तिहरूमाथि सक्रिय प्रभाव पार्दछन्। उत्पादक शक्तिको चरित्र अनुकूलका प्रगतिशील नयाँ उत्पादन सम्बन्धहरूले सामाजिक उत्पादनको विकासलाई तीव्रता दिन्छन्। तर उत्पादक शक्तिहरूको विकासबाट पछि परेका पुराना उत्पादन सम्बन्धहरूले उत्पादक शक्तिको नवीन विकासमा अवरोध ल्याउँछन्। समाजमा क्रमशः अघि बढेका नयाँ उत्पादक शक्तिहरू र पछि परेका पुराना उत्पादन सम्बन्धहरूको बीचमा अन्तरविरोध देखा पर्न जान्छ। उत्पादक शक्तिहरू जुन अनुपातमा निरन्तर बदलिइरहन्छन्, सोही अनुपातमा उत्पादन सम्बन्धहरू परिवर्तन हुँदैनन्। यसर्थ अघि बढेका नयाँ उत्पादक शक्तिहरू र पिछडिएको पुरानो उत्पादन सम्बन्धबीच गहिरो अन्तरविरोध उत्पन्न हुन थाल्दछ, मुठभेड समेत पैदा हुन्छ। यसले सामाजिक क्रान्तिको माग गर्दछ। मार्क्सले भन्नु भएको छ, “क्रान्तिहरू इतिहासका चालक शक्ति हुन्। ” क्रान्तिले पुरानो उत्पादन सम्बन्धलाई उन्मूलन गरी नयाँ उत्पादन सम्बन्धहरूलाई स्थापित गर्दछ। समाज परिवर्तनको ऐतिहासिक रूपरेखा यही नै हो। >
आधार र अधिरचना (Base and Superstructure) >
आधार भन्नाले मूलतः उत्पादन सम्बन्ध हो। आर्थिक आधार अन्तर्गत उत्पादन, वितरण, विनिमय, उपभोग आदि पर्दछन्। जीवन निर्वाहको लागि मानिसले खाने, लाउने वस्तुहरू उत्पादन गर्नुपर्छ। सो काम मानिसले एक्लै गर्न सक्दैनन्, त्यसका लागि अरु मानिससँग मिलेर श्रम गर्नुपर्छ। त्यो आर्थिक क्रियाकलापमा मानिसहरूबीच आपसी सम्बन्ध स्थापित हुन पुग्दछ। समाजको यही भौतिक उत्पादनको सामाजिक, आर्थिक संरचना नै आर्थिक आधार हो। समाजको जस्तो आर्थिक आधार छ, सोही अनुरूपको संरचना निर्माण हुन्छ। यस्ता संरचना अन्तर्गत राज्यसत्ता, दर्शन, सिद्धान्त, विचार, संस्कृति, कानून, संघसंस्था आदि पर्दछन्। यसैलाई अधिरचना भनिन्छ। समाजको आधार जस्तो छ, त्यही अनुरूपको अधिरचना निर्माण हुन्छ। आधार र अधिरचनाबीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ। यिनीहरूले एक अर्कालाई प्रभावित पारिरहेका हुन्छन्। पुरानो आधार उन्मूलन भएपछि पनि नयाँ बनेको अधिरचनामा पुरानो अधिरचनाका केही तत्त्वहरू कायमै रहन्छन्। जसलाई सचेत प्रयत्नबाट क्रमशः हटाउनु पर्ने हुन्छ। अन्यथा केही समयका लागि समाज पछाडि फर्कन पनि सक्दछ। ऐतिहासिक भौतिकवादी मान्यता अनुसार मानव समाजको इतिहास भनेको महान् भनिने व्यक्तिहरूको इच्छाको प्रतिफल होइन, बरु आर्थिक आधार र अधिरचनाबीचको द्वन्द्वात्मक सम्बन्धहरूको शृङ्खला हो। >
मानव इतिहासमा उत्पादन सम्बन्धहरू बदलिदै जाँदा एक पछि अर्को गरी क्रमशः परिवर्तन हुने सामाजिक आर्थिक व्यवस्थाहरू निम्न ५ प्रकारका रहेका छन्।>
(क) आदिम साम्यवादी व्यवस्था>
यस अवस्थामा उत्पादनका साधनमाथि सामाजिक स्वामित्व थियो। त्यसबेला व्यक्तिगत सम्पत्ति थिएन। समाज वर्गहरूमा विभाजित भएको थिएन। ढुङ्गा, काठ, हाड आदिबाट बनेका अत्यन्तै पिछडिएका उत्पादनका औजारहरू थिए। मान्छेहरू गण वा कविलाका रूपमा समूहमा बस्थे, सामूहिक श्रम (शिकार) गरेर खानेकुरा जुटाउँथे, सबैले बाँडेर खान्थे। अतिरिक्त उत्पादन हुन सम्भव थिएन, तसर्थ सञ्चय र शोषण पनि थिएन। >
(ख) दास प्रथात्मक व्यवस्था>
आदिम साम्यवादको विघटन भई दास प्रथात्मक समाज व्यवस्थाको उदय भयो। यो बेलामा उत्पादनका साधनहरू माथि दासमालिकहरूको स्वामित्व थियो। मानिसले धातुका औजारहरू प्रयोग गर्न थाले। र त्यसबाट अतिरिक्त उत्पादन हुन थाल्यो। समाज दास र मालिक दुई वर्गहरूमा विभाजित भयो। उत्पादनका साधनहरू र दासहरू समेत पनि मालिकका निजी सम्पत्ति हुन्थे। दासहरूको श्रमले उत्पादित सबै वस्तुहरू मालिकको कब्जामा रहन्थे। दासहरूले त्यति मात्र पाउँथे जति उनीहरूको लागि जीवन धान्न मात्र पुग्दथ्यो। यसबेला राज्यसत्ताको पनि उदय भयो, समाजमा दास र मालिकहरूका बीचमा वर्गसङ्घर्ष चल्न सुरु भयो। दासप्रथात्मक राज्यसत्ताले, यसको कला, संस्कृति नियम, कानुनले मालिकहरूको पूर्ण संरक्षण गर्दै दासहरूको चरम शोषण गर्यो। >
(ग) सामन्तवादी व्यवस्था>
दास प्रथात्मक व्यवस्थाको विघटन पछि सामन्तवादी व्यवस्थाको उदय भयो। समाज मुख्यतः जमिनदार (सामन्त) र भूदास (किसान) वर्गमा विभाजित भयो। सामन्ती जमिनदार वर्गको उत्पादनका साधनहरू र जग्गा जमीनमा पूर्ण स्वामित्व र त्यसमा काम गर्ने भूदासहरू माथिको अर्धस्वामित्व नै यी सम्बन्धहरूको आधार थियो। सामन्तले किसानहरूलाई आफ्ना जमिनमा निःशुल्क कामसमेत लगाउने र उनीहरूलाई अनेक थरीका दस्तुरहरूसमेत थोपरेर चरम शोषण गर्दथे। तर किसानहरूको जीवनमा भने सामन्तको अधिकार थिएन। किसान र शिल्पकारहरू सामन्त कहाँ काम पनि गर्दथे र उनीहरूको आफ्नो सानो सानो पैमानेको आर्थिक कारोबार पनि हुन्थ्यो। सामन्तवादी युगमा ठूला ठूला राजतन्त्रात्मक राज्यहरू निर्माण हुँदै गए, राज्ययन्त्र र सेनाको ठूलो विकास भयो। भूदासहरूको चरम शोषण र पसिनामा यिनीहरू पालिन्थे। समाजको बौद्धिक जीवन र धर्मको उदय हुँदै गयो। यो बेलाका कानून, दर्शन, कला आदि अधिरचनाका क्षेत्रहरूले भूदासहरूको दमन गर्ने र सामन्तहरूको पूर्ण रक्षा गर्दथे। उत्पादन बढ्दै गयो, उद्योग, कारखानाहरूको समेत विकास हुँदै जादा यसले समाजलाई क्रमशः पुँजीवादी दिशामा अघि बढ्न आधार तयार गर्यो।>
(घ) पुँजीवादी व्यवस्था>
सामन्तवादको विघटन पछि पुँजीवादी व्यवस्थाको उदय भयो। पुँजीवादी व्यवस्थामा समाज मुख्यतः पुँजीपति र सर्वहारा वर्गमा विभाजित हुन्छ। साथै यस समाजमा अन्य मध्यम वर्ग, किसान, निम्नपुँजीपति वर्गहरू पनि रहन्छन्। विशाल पैमानेको यान्त्रिक उत्पादन नै पुँजीवादी उत्पादक शक्तिहरूको प्रमुख लक्षण हो। पुँजीवादी व्यवस्थामा वस्तुको उत्पादन विनिमय र नाफा आर्जनका लागि गरिन्छ। ठूला ठूला उद्योग कारखाना आदि सम्पत्तिको स्वामित्व पुँजीपति वर्गको साथमा हुन्छ। सर्वहाराहरूको आफ्नो भन्ने केही पनि हुँदैन, मात्रै आफ्नो श्रमशक्ति पुँजीपतिलाई विक्री गरेर जीवन निर्वाह गर्दछन्। मुनाफा बढाउने होडबाजीमा नै पुँजीपति वर्गले उत्पादनको विस्तार गर्दछ। उत्पादनका साधन÷औजारहरूको विकास गर्दछ। पुँजीपति वर्गको सम्पूर्ण नाफाको स्रोत भनेको श्रमजीवी वर्गबाट लुटिएको अतिरिक्त मूल्य हो। उन्नाइसौँ शताब्दीको अन्ततिरबाट पुँजीवादले साम्राज्यवादी चरित्र ग्रहण गर्दै गयो। साम्राज्यवाद एकाधिकारी पुँजीवाद हो, यो पुँजीवादको उच्चतम् र मरणासन्न अवस्था हो। सुरु-सुरुमा रहेको प्रतिस्पर्धात्मक पुँजीवाद अंशतः केही प्रगतिशील खालको भए पनि यो साम्राज्यवाद पूर्णतः हिंस्रक र प्रतिकृयावादी चरित्रको छ। >
(ङ) समाजवादी÷साम्यवादी व्यवस्था>
साम्यवादी व्यवस्था क्रमशः समाजवादी एवं साम्यवादी गरी दुई चरणमा विकासित हुन्छ। प्रथम चरण समाजवादी व्यवस्था हो। पुँजीवादी÷साम्राज्यवादी व्यवस्थाको अन्त्य पछि मानव समाज प्रथम चरणमा समाजवादी व्यवस्थामा प्रवेश गर्दछ। यस व्यवस्थामा उत्पादनका साधनहरूमाथि सामाजिक स्वामित्व हुन्छ। यो व्यवस्था पुँजीवाद र साम्यवादी व्यवस्थाबीचको संक्रमणकालीन व्यवस्था हो। समाजवादमा मालको उत्पादन नाफाको लागि नभई समाजको आवश्यकताको आधारमा हुन्छ। समाजवादमा “हरेकलाई उसको क्षमता अनुसार, हरेकलाई उसको काम अनुसार” को वितरण प्रणाली लागू हुन्छ। समाजवादमा मानिसद्वारा मानिसको शोषण हुँदैन। बालक, वृद्ध, रोगी र अपाङ्ग बाहेक “काम नगर्नेले खान पनि पाउँदैन” भन्ने समाजवादी व्यवस्थाको सूत्र वाक्य हो। पुँजीवादी समाजमा उत्पादनको सामाजिक चरित्र र वितरणको व्यक्तिगत रूप लागू भएको हुन्छ भने समाजवादले यो विरोधाभासलाई सदैव अन्त्य गर्दछ। समाजवादमा पुँजीवादका अवशेषहरू समाप्त पार्दै ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसार’ मा प्रवेश गर्न अझै पनि राज्यको आवश्यकता पर्दछ। साथै समाजवादको आर्थिक आधारको निर्माण गर्नको लागि पनि सर्वहारा वर्गको अधिनायकत्वसहितको राज्यसत्ताको आवश्यकता पर्दछ। >
समाजवादी व्यवस्थाको उच्चतम रूप साम्यवादी व्यवस्था हुन्छ, जहाँ वर्ग र राज्यको पूर्ण विलोपीकरण हुन्छ। साम्यवादी समाजमा, “प्रत्येकबाट उसको क्षमता अनुसार प्रत्येकलाई उसको आवश्यकता अनुसार” भन्ने सिद्धान्त लागू हुनेछ। साम्यवादमा शारीरिक र बौद्धिक श्रमको भेद पनि हट्नेछ; र अन्य अघिल्ला व्यवस्थाले सिर्जना गरेका सबै विभेदहरू उन्मूलन हुनेछन्। साम्यवादले नव मानव सिर्जना गर्नेछ जसमा नैतिक शुद्धता र शारीरिक सम्पूर्णताले साकार रूप पाउने छ। राज्यको विलोप भए पछि पनि अझ उन्नत सम्भावनाहरूको लागि प्रकृतिसँग मान्छेको संघर्ष भने निरन्तर चलिरहनेछ। >
निष्कर्ष>
हरेक दर्शनले वर्गीय दृष्टिकोण अभिव्यक्त गर्दछ। हरेक व्यक्ति कुनै न कुनै दार्शनिक दृष्टिकोणबाट प्रभावित हुन्छ। वर्गीय दर्शनलाई नअगाल्ने अथवा वर्गसङ्घर्षको दौरानमा कुनै न कुनै पक्षधरता नलिएर तटस्थ रहने कुनै दर्शन हुँदैन। कुनै पनि घटनाप्रति तटस्थ रहनु पनि आफैमा एक दर्शन हो। सही र गलतको पेँचिलो संघर्षमा तटस्थ रहने दर्शनले अन्ततः गलतकै सेवा गरिरहेको हुन्छ, शोषणमूलक व्यवस्थालाई नै मलजल गरिराखेको हुन्छ। सबै खालका आदर्शवादी दर्शनहरूले सारमा शोषक वर्गको सेवा गरेका हुन्छन्, भने द्वन्द्वात्मक भौतिकवादी दर्शनमात्र शोषित वर्गको पक्षमा खडा भएको हुन्छ। द्वन्द्वात्मक भौतिकवाद संसारलाई बदल्नका लागि उपयोग गर्न सकिने जनताको हातमा भएको सैद्धान्तिक उपकरण हो। >
मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी दर्शनले सबै खालका दर्शनहरू भन्दा भिन्न रहेर संसारलाई अग्रगामी एवं न्यायपूर्ण समाजमा बदल्नका लागि मार्ग दर्शन गरिराखेको छ। श्रमजीवी वर्गले समाजको नेतृत्व आफ्नो हातमा लिनका लागि स्ववर्गीय दृष्टिकोणलाई दर्शनको रूपमा अभिव्यक्त गर्नु र शोषक वर्गको स्वार्थ रक्षा गर्ने दर्शनहरूको विरोध गर्नु आवश्यक छ। >
द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुसार पुँजीवादको पतन अनिवार्य छ र त्यसको समाजवाद हुँदै साम्यवादमा संक्रमण अनिवार्य रूपले हुन्छ। यसका लागि श्रमजीवी वर्गले द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिककादी दर्शनले युक्त क्रान्तिकारी पार्टी नभईकन पुँजीपति वर्ग माथि अन्तिम विजय हासिल गर्न सक्दैन। द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी क्रान्तिकारी दर्शनलाई ठीक ढंगले आत्मसात् नगर्ने हो भने श्रमजीवी वर्गको पार्टीले आफ्ना विचारहरू शत्रुतापूर्ण र समाजवाद विरोधी स्रोतहरूबाट अपनाउन पुग्दछ, जसले गर्दा समाजवादी व्यवस्था स्थापनाको मार्गमा ठूलो विचलन आउँछ। यो दर्शन व्यवहारको दर्शन हो जुन समाजवादको लागि हुने संघर्षको व्यवहारसित अभिन्न रूपले गाँसिएको हुन्छ। सारमा भन्दा, पुँजीवादी समाजलाई खतम पार्दै समाजवादी व्यवस्थाको निर्माण गर्न बहुसंख्यक श्रमजीवी जनतालाई मार्गदर्शन गर्नु नै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन अर्थात् मार्क्सवादी दर्शनको मुख्य ध्येय हो। माओले भने झैं दर्शनलाई दार्शनिकहरूको प्रवचन कोठाहरू र पाठ्यपुस्तकहरूको सीमित घेराबाट मुक्त पारेर यसलाई व्यापक जनसमुदायको हातमा रहेको एउटा धारिलो हतियारको रूपमा फेर्नु पर्दछ। मार्क्सवादी दर्शनको यही आलोकमा नै श्रमजीवी वर्गको निम्ति न्यायपूर्ण संसारको निर्माण गर्नु सम्भव छ।>
सन्दर्भ सामग्रीहरू: >
आफानास्येभ, भिक्टर। १९८५। दर्शनशास्त्रको प्रारम्भिक ज्ञान(अनु. राजेन्द्र मास्के)। मस्को: प्रगति प्रकाशन।>
त्सेतुङ्ग, माओ। २०६३। दर्शनबारे पाँच कृति (अनु. पूर्णबहादुर एम ए)। काठमाडौँ: जनस्रष्टा प्रकाशन।>
कनफोर्थ, मोरिस। २०००। द्वन्द्वात्मक भौतिकवाद (अनु. युवराज पन्थी)। काठमाडौँ: तेजबहादुर गुरुङ्ग।>
कनफोर्थ, मोरिस। २०६२। ऐतिहासिक भौतिकवाद (अनु. युवराज पन्थी)। काठमाडौँ: सहस्राब्दी प्रकाशन।>
भुसाल, डा. वेदुराम। २०७८। मार्क्सवादी दर्शन। काठमाडौँ: जनता सञ्चार गृह प्रा.लि।>>