रोल्पा । तिहार नजिकिँदै गर्दा रोल्पाको होलेरीमा जुवातास खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासहित १० जना पक्राउ परेका छन्।>
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ स्थित होलेरी कृषि हाटबजार परिसरमा रहेको एक होटलमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।>
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले कात्तिक १८ गते राति करिब १ बजे होटलमा छापा मारेको थियो। प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा खटिएको १० सदस्यीय प्रहरी टोलीले होटलमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको हो।>
उक्त होटल रुन्टीगढी गाउँपालिका–होलेरी निवासी ५० वर्षीय दिलबहादुर खड्काले सञ्चालन गर्दै आएका थिए। खानतलासीका क्रममा प्रहरीले जुवाखालबाट नगद १ लाख १७ हजार ७५० रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।>
पक्राउ पर्नेमा होटल सञ्चालक खड्कासहित रुन्टीगढी गाउँपालिका–६ का ३६ वर्षीय टोपबहादुर बोहरा, २१ वर्षीय प्रकाश बुढाथोकी, ३० वर्षीय शान्तराज रेउले र २३ वर्षीय कुलबहादुर रेउले रहेका छन्।>
त्यसैगरी वडा नम्बर ७ का ५५ वर्षीय ज्ञानबहादुर थापा, ३६ वर्षीय महेन्द्र घर्ती र ३९ वर्षीय नरसिंह रोका पक्राउ परेका छन्। यस्तै, वडा नम्बर ५ का २४ वर्षीय देविराम बि.क. तथा वडा नम्बर ८ का ३२ वर्षीय नरबहादुर बस्नेत पनि प्रहरी नियन्त्रणमा रहेका छन्।>
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तिहारको समयमा जुवातास खेल्ने तथा अन्य गैरकानुनी गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा निगरानीसमेत बढाएको छ।>
प्रहरीले होटल तथा सार्वजनिक स्थलमा गैरकानुनी गतिविधि भइरहेको जानकारी पाएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। जुवातासमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।>
पक्राउ परेका व्यक्तिहरू दोषी ठहर भइसकेका छैनन्। घटनाको अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।>>