पाल्पा । तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ आइतबार रामपुरमा सम्पन्न भएको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पा जिल्ला साइक्लिङ सङ्घको आयोजनामा शनिबार तानसेनबाट सुरु भएको साइकल यात्रा दुई दिनपछि रामपुरमा पुगेर समापन भएको हो।>
पाल्पाको पूर्वी क्षेत्रका ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तानसेन दरबारबाट साइकल यात्रा सुरु गरिएको थियो। शनिबार तानसेनबाट सिद्धार्थ राजमार्गको आर्यभञ्ज्याङ हुँदै चिदीपानी, हुमिन, पूर्वखोला, सारङ्गीखोला, ज्यामिरेको चारघरे र मित्याल हुँदै २०० भन्दा बढी साइकल यात्री निस्दी गाउँपालिकाको काउलेडाँडा पुगेका थिए।>
मगर संस्कृतिमा आधारित सांस्कृतिक झाँकीमा रमाउँदै काउलेडाँडा पुगेका साइकल यात्रीले आइतबार बिहान हिमालदेखि तराईसम्मको मनोरम दृश्य अवलोकन गरेका थिए। त्यसपछि सहलकोट, कीर्तिपुर, रजघरा र गण्डकी ढिक हुँदै रामपुर नगरपालिका–१ स्थित टापुधाम पुगेको टोली कालीगण्डकी करिडोर हुँदै ज्याग्दी पार्क पुगेको थियो। ज्याग्दी पार्कमा मेडल वितरणसँगै साइकल यात्राको औपचारिक समापन गरिएको हो।>
पाल्पा जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष रुपेशमान महर्जनको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दीप राना प्रमुख अतिथि रहनुभएको थियो।>
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रानाले पहिचान र प्रचारप्रसार हुन नसकेका पर्यटकीय गन्तव्य तथा ओझेलमा परेका संस्कृतिको उजागर गर्ने उद्देश्यले ‘मेरो सांसद्, मेरो अधिकार’ कार्यक्रमअन्तर्गत साइक्लिङ सङ्घसँग समन्वय गरी पूर्वी पाल्पामा साइकल यात्रा आयोजना गरिएको बताउनुभयो। उहाँले साइकल यात्राले ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यलाई चिनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।>
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सहभागी साइकल यात्रीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै प्रदेश, जिल्ला र स्थानीय तहलाई आपसमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगरपालिकाले कालीगण्डकी किनारका पर्यटकीय तथा धार्मिक स्थललाई जोड्ने गरी पैदलमार्गसँगै साइकल रुट निर्माण गरिरहेको जानकारी दिँदै उहाँले आगामी दिनमा नगरपालिकाभित्रै साइकल यात्रा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।>>