सुुखमय पारी सब संसार, आयो रसिलो चाड तिहार ।>
बन्दछ मान् सबको काम, खुसी छन् राजा रैति तमाम ।।>
– कविशिरोमणि लेखनाथ पौड्याल>
मानव सभ्यताको इतिहासमा केही पर्वहरू यस्ता छन् जसले मानिसको मन, परिवारको सम्बन्ध, समाजको संरचना, प्रकृतिसँगको सहअस्तित्व र जीवनप्रतिको दृष्टिकोणलाई समेत उज्यालो पार्छन् । नेपाली समाजको त्यस्तै बहुआयामिक, जीवन्त र आत्मीय पर्व हो—तिहार, अर्थात् दीपावली । यो उज्यालोको उत्सव हो, सम्बन्धको सेतु हो, प्रकृतिप्रतिको कृतज्ञताको अभिव्यक्ति हो, श्रमको सम्मान हो र मानवीय संवेदनाको सांस्कृतिक पाठशाला पनि हो ।>
दसैँले विजय, शक्ति र सामूहिक आस्थाको सन्देश दिन्छ भने तिहारले प्रकाश, समृद्धि, सहअस्तित्व, आत्मीयता र पारिवारिक सम्बन्धको महत्त्वलाई विशेष रूपमा उजागर गर्छ । घरको आँगनमा बालिएको एउटा सानो दियोले अँध्यारो कोठा उज्यालो बनाएझैँ एउटा सद्विचारले मानिसको चेतना, एउटा सद्व्यवहारले परिवारको वातावरण र एउटा न्यायपूर्ण निर्णयले समाजको भविष्य उज्यालो बनाउन सक्छ । त्यसैले तिहारको वास्तविक अर्थ तेल र बत्तीको दीप प्रज्ज्वलनका साथै यो मानिसभित्रको अज्ञान, अहङ्ककार, ईष्र्या, द्वेष, लोभ र अन्यायको अन्धकार हटाउने जीवनदर्शन पनि हो ।>
तिहारका पाँच दिन—कागतिहार, कुकुरतिहार, गाईतिहार तथा लक्ष्मीपूजा, गोवर्धनपूजा अर्थात् गोरुतिहार र भाइटीकाले क्रमशः सूचना तथा सन्देश, निष्ठा तथा सुरक्षा, प्रकृति तथा समृद्धि, कृषि तथा श्रम र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयताको प्रतीकात्मक महत्त्व बोकेका छन् । यी दिनहरूका धार्मिक व्याख्या, लोकविश्वास र जातीय–सामुदायिक परम्परा फरक हुन सक्छन्, तर तिनको अन्तर्यमा जीवनप्रति सम्मान, कृतज्ञता र पारस्परिक सहयोगको भावना विद्यमान छ ।>
तिहारलाई गहिरिएर बुझ्नु भनेको एउटा पर्वको परिचय लिनु मात्र होइन, नेपाली समाजको सांस्कृतिक स्मृति, कृषि सभ्यता, लोकसाहित्य, अर्थतन्त्र, मनोविज्ञान र सामूहिक जीवनपद्धतिको अध्ययन गर्नु पनि हो । यस अर्थमा तिहार हाम्रो संस्कृतिको ऐना हो, जसमा विगतको प्रतिबिम्ब, वर्तमानको यथार्थ र भविष्यको सम्भावना एकैसाथ देखिन्छन् ।>
२. तिहारको पौराणिक पृष्ठभूमि र सांस्कृतिक विकास>
तिहारको ऐतिहासिक विकासलाई एउटा मात्र पौराणिक कथाबाट व्याख्या गर्न सकिँदैन । यो विभिन्न धार्मिक आख्यान, स्थानीय विश्वास, कृषि जीवन, पशुपालन, पारिवारिक संस्कार र ऋतुचक्रसँग जोडिँदै विकसित भएको बहुपरम्परागत पर्व हो ।>
हिन्दू धार्मिक परम्परामा दीपावलीलाई भगवान् राम चौध वर्षको वनवास पूरा गरी अयोध्या फर्किएको प्रसङ्गसँग जोडिन्छ । रामको आगमनमा अयोध्यावासीले दीप प्रज्वलन गरी खुसी व्यक्त गरेको कथाले अन्धकारमाथि प्रकाश, अन्यायमाथि न्याय र निराशामाथि आशाको विजयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । यद्यपि यो आख्यान विशेषतः दीपावलीको व्यापक धार्मिक व्याख्यासँग सम्बन्धित छ, नेपालमा मनाइने पाँचदिने तिहारको सम्पूर्ण परम्परा यसै कथाबाट मात्र उत्पन्न भएको हो भन्न मिल्दैन ।>
अर्कोतर्फ, लक्ष्मीपूजालाई धन, ऐश्वर्य, सौभाग्य र समृद्धिकी देवी लक्ष्मीसँग जोडिन्छ । यमपञ्चकसम्बन्धी लोकविश्वासमा यमराज, यमुना र दाजुभाइ–दिदीबहिनीको सम्बन्धको प्रसङ्ग आउँछ । गोवर्धनपूजाको धार्मिक आधार भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई अतिवृष्टिबाट जोगाएको कथासँग सम्बन्धित छ । यस कथाले प्रकृति, पशुधन र समुदायको संरक्षणको महत्त्वलाई उजागर गर्छ । यी आख्यानहरूलाई आधुनिक दृष्टिले हेर्दा तिनमा निहित नैतिक सन्देश अझ महत्त्वपूर्ण देखिन्छ । रामको विजयले सत्यनिष्ठा र उत्तरदायित्वको स्मरण गराउँछ; लक्ष्मीपूजाले समृद्धिसँगै विवेक र सदुपयोगको प्रश्न उठाउँछ; गोवर्धनको कथाले प्रकृतिको संरक्षण र सामूहिक सुरक्षाको पाठ सिकाउँछ; यम–यमुनाको आख्यानले पारिवारिक सम्बन्धको आत्मीयता र दीर्घजीवनको कामना व्यक्त गर्छ ।>
यसरी तिहार धर्मकथाको उत्सव मात्र नभई कथाभित्रको मूल्यलाई व्यवहारमा उतार्ने अवसर पनि हो । कथा सुन्नु धार्मिक अभ्यास हो भने कथाको सदाचारलाई जीवनमा लागू गर्नु नैतिक साधना हो ।>
३. कागतिहार: सन्देश, सञ्चार र प्रकृतिप्रतिको सम्मान>
तिहारको पहिलो दिनलाई प्रचलित नेपाली चलनमा कागतिहार भनिन्छ । यस दिन कागलाई भोजन अर्पण गर्ने परम्परा छ । लोकविश्वासमा कागलाई सन्देशवाहक, पूर्वसूचना दिने पक्षी र यमराजसँग सम्बन्धित जीवका रूपमा पनि व्याख्या गरिन्छ । कतिपय धार्मिक आख्यानमा कागलाई यमदूतसँग जोडेर हेरिन्छ । यी मान्यताहरू धार्मिक तथा सांस्कृतिक विश्वास हुन् । >
काग सर्वाहारी पक्षी हो । यसले वातावरणमा रहेका जैविक अवशेषको उपभोग गर्ने, खाद्यशृङ्खलामा योगदान पु¥याउने र प्राकृतिक प्रणालीको एक अङ्गका रूपमा काम गर्ने गर्छ । कागलाई भोजन दिनुको परम्परालाई यही पारिस्थितिक सम्बन्धको सांस्कृतिक अभिव्यक्तिका रूपमा पनि बुझ्न सकिन्छ ।>
दार्शनिक दृष्टिले कागतिहारले मानिसलाई सन्देश सुन्ने, प्रकृतिको सङ्केत बुझ्ने र आफ्नो परिवेशप्रति संवेदनशील हुने शिक्षा दिन्छ । कागको कर्कश आवाज मन नपरे पनि उसको अस्तित्व प्रकृतिका लागि अर्थपूर्ण छ । त्यसैगरी समाजमा हाम्रो विचारसँग नमिल्ने व्यक्ति, फरक विचार राख्ने समुदाय वा कमजोर आवाज भएका मानिसहरूलाई पनि सम्मान गर्नुपर्छ ।>
राजनीतिक अर्थमा कागतिहारले सन्देशको सत्यता र सञ्चारको उत्तरदायित्व सम्झाउँछ । आज सामाजिक सञ्जालमा हल्ला, भ्रम, अपुष्ट समाचार र घृणात्मक अभिव्यक्ति तीव्र गतिमा फैलिरहेका छन् । कागले सन्देश ल्याउँछ भन्ने लोककल्पनालाई आधुनिक सन्दर्भमा रूपान्तरण गर्दा एउटा प्रश्न उठ्छ—हामी समाजमा सत्यको सन्देश फैलाइरहेका छौँ कि भ्रमको?>
शैक्षिक दृष्टिले यस दिनलाई विद्यार्थीहरूलाई पक्षीको जीवन, जैविक विविधता, खाद्यशृङ्खला र वातावरणीय सन्तुलनबारे सिकाउने अवसर बनाउन सकिन्छ । कागलाई भोजन दिँदा कुहिएको, प्लास्टिकमा बेरिएको वा हानिकारक खाद्य पदार्थ नदिई सुरक्षित भोजन उपलब्ध गराउनु उचित हुन्छ ।>
सन्देशभन्दा सत्य ठूलो हुन्छ, आवाजभन्दा विवेक महत्त्वपूर्ण हुन्छ र मानवकेन्द्रित सोचभन्दा प्रकृतिसँगको सहअस्तित्व व्यापक हुन्छ भन्नु नै कागतिहारको वास्तविक सन्देश हो ।>
कुकुरतिहार: निष्ठा, सुरक्षा र करुणाको पाठ>
तिहारको दोस्रो दिन कुकुरतिहार मनाइन्छ । कुकुरलाई टीका लगाइदिने, माला पहि¥याउने र मीठो भोजन दिने चलन छ । हिन्दू धार्मिक मान्यतामा कुकुरलाई यमराजका द्वारपाल तथा यमदूतसँग सम्बन्धित मानिन्छ । महाभारतको महाप्रस्थानिक प्रसङ्गमा युधिष्ठिरले अन्तिम यात्रामा साथ दिएको कुकुरलाई त्याग्न अस्वीकार गरेको कथा पनि निष्ठा र करुणाको प्रतीकका रूपमा व्याख्या गरिन्छ । ऋग्वेदमा सरमा र उनका सन्तानसँग सम्बन्धित आख्यानहरू छन्, जसले वैदिक परम्परामा कुकुरको प्रतीकात्मक उपस्थितिलाई देखाउँछन् ।>
कुकुरतिहारको सबैभन्दा सुन्दर पक्ष भनेको मानिसले आफ्नो सुरक्षामा सहयोग गर्ने पशुप्रति कृतज्ञता व्यक्त गर्नु हो । घरको पहरेदार, गोठको रक्षक, प्रहरीको सहयोगी र उद्धार कार्यमा संलग्न कुकुरले मानिससँग गहिरो सम्बन्ध बनाएको हुन्छ । उसको निष्ठा केवल धार्मिक प्रतीक होइन, दैनिक जीवनमा देखिने व्यवहार पनि हो ।>
मनोवैज्ञानिक दृष्टिले कुकुरसँगको आत्मीयताले मानिसमा स्नेह, सहानुभूति र जिम्मेवारीको भावना विकास गर्न सहयोग पु¥याउन सक्छ । बालबालिकाले पशुलाई माया गर्न सिक्दा अरूको पीडा बुझ्ने क्षमता पनि विकास गर्न सक्छन् । तर कुकुरको पूजा गर्ने दिनमा मात्र माया देखाएर अन्य दिन ढुङ्गा हान्ने, भोकै राख्ने वा सडकमा छाड्ने हो भने त्यो धार्मिक आचरणको विरोधाभास हो ।>
आज नेपालका विभिन्न स्थानमा सडकमा आश्रित कुकुरले भोक, दुर्घटना, रोग र दुव्र्यवहारको सामना गर्नुपर्छ । कुकुरतिहारको सार्थकता माला र टीकामा मात्र होइन, वर्षभरि पानी र भोजन उपलब्ध गराउने, बिरामी पशुको उपचार गर्ने, जिम्मेवार रूपमा पाल्ने तथा आवश्यक खोप र पशुचिकित्सकीय सेवाको व्यवस्था गर्ने व्यवहारमा निहित छ ।>
कुकुरतिहारले मानिसलाई एउटा गम्भीर प्रश्न सोध्छ—हामीले आफूलाई माया गर्ने जीवलाई मात्र माया गर्छौँ कि बोल्न नसक्ने र आफ्नो पीडा व्यक्त गर्न नसक्ने जीवलाई पनि सम्मान गर्छौँ? यस दिनको वास्तविक सन्देश निष्ठाको प्रशंसा मात्र होइन, निर्बलप्रतिको दायित्वको स्वीकारोक्ति पनि हो ।>
गाईतिहार र लक्ष्मीपूजा: मातृत्व, समृद्धि र श्रमको सम्मान>
तिहारको तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा मनाइन्छ । बिहान गाईको पूजा गरिन्छ भने साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ । नेपालको कृषि तथा पशुपालनमा आधारित परम्परागत समाजमा गाई दूध, दही, घिउ, गोबर र गहुँतजस्ता वस्तुसँग सम्बन्धित भएकाले आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिँदै आएको छ । हिन्दू धार्मिक परम्परामा गाईलाई मातृत्व, पवित्रता, पोषण र उदारताको प्रतीकका रूपमा सम्मान गरिन्छ ।>
गाईले आफ्नो दूधबाट मानव जीवनलाई पोषण दिन्छे; कृषि समाजमा उसका उपोत्पादनले घरपरिवार र खेतबारीलाई सहयोग गर्छन् । त्यसैले गाईको सम्मानलाई मानिसले प्रकृतिबाट प्राप्त गरेको उपकारप्रतिको कृतज्ञताको रूपमा पनि बुझ्न सकिन्छ । तर गाईको धार्मिक महत्त्व स्वीकार गर्नुको अर्थ अन्य पशुप्रति अमानवीय व्यवहार गर्न मिल्छ भन्ने होइन । सबै प्राणीको पीडा र जीवनप्रतिको सम्मान नै व्यापक करुणाको आधार हो ।>
लक्ष्मीपूजाको धार्मिक र आर्थिक दर्शन>
लक्ष्मीपूजाको साँझ घरआँगन सफा गरिन्छ, ढोकादेखि पूजास्थलसम्म रङ्गोली वा मण्डप बनाइन्छ, सयपत्री र मखमली फूलले घर सजाइन्छ र दियो बालिन्छ । कतिपय घरमा चामलको पिठो वा रङले लक्ष्मीका पाइला बनाई घरभित्र प्रवेश गराइएको प्रतीकात्मक दृश्य सिर्जना गरिन्छ । धन, अन्न, व्यापार, लेखापढी र आर्थिक साधनको पूजा गर्ने परम्परा पनि प्रचलित छ । यी अभ्यासहरूले समृद्धिको आकाङ्क्षालाई धार्मिक तथा सांस्कृतिक रूप दिन्छन् । तर लक्ष्मीको अर्थ पैसा मात्र हो त? अवश्य होइन । स्वस्थ शरीर, शान्त परिवार, इमानदार श्रम, ज्ञान, सामाजिक प्रतिष्ठा, प्रकृतिको स्वच्छता र विवेकपूर्ण जीवन पनि समृद्धिका महत्त्वपूर्ण आधार हुन् । करोडौँको सम्पत्ति भएर पनि निद्रा, शान्ति र आत्मीयता नभएको मानिस साँच्चिकै सम्पन्न छ भन्न सकिँदैन ।>
आर्थिक दृष्टिले लक्ष्मीपूजा व्यवसायी, व्यापारी, किसान, उद्यमी र श्रमिक सबैका लागि आत्ममूल्याङ्कनको अवसर बन्न सक्छ । व्यापारीले कारोबारको हिसाब मिलाउन सक्छन्, किसानले उत्पादन र खर्चको लेखाजोखा गर्न सक्छन्, परिवारले आगामी वर्षको बजेट बनाउन सक्छ र विद्यार्थीले आफ्नो अध्ययनको लक्ष्य निर्धारण गर्न सक्छन् ।>
धन कमाउनु उपलब्धि हो, धनको सदुपयोग गर्नु बुद्धिमत्ता हो र धनको न्यायपूर्ण वितरणमा योगदान दिनु सामाजिक उत्तरदायित्व हो – यस दिनले सिकाउने गहिरो सन्देश हो । यदि धनले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादन बढाउँछ भने त्यो समृद्धिको साधन हुन्छ । तर धनले भ्रष्टाचार, शोषण, असमानता र अहङ्कार बढाउँछ भने त्यो लक्ष्मीको पूजा गरे पनि समृद्धिको नैतिक अर्थबाट टाढा हुन्छ ।>
मनोवैज्ञानिक र सामाजिक महत्त्व>
घर सफा गर्ने, परिवारका सदस्य मिलेर सजावट गर्ने, मिठाई बनाउने र दियो बाल्ने कार्यले सामूहिक सहभागिता बढाउन सक्छ । घर उज्यालो पार्ने बाह्य क्रियाले मानिसको मनमा पनि नयाँ सुरुवातको अनुभूति जगाउन सक्छ । परिवारमा पुराना असमझदारी हटाउने, ऋण तथा खर्चबारे जिम्मेवार छलफल गर्ने र परस्पर सहयोगको प्रतिबद्धता व्यक्त गर्ने हो भने लक्ष्मीपूजा मनोवैज्ञानिक पुनर्ताजगीको अवसर बन्न सक्छ । यद्यपि लक्ष्मीपूजामा महँगा बत्ती, सजावट र उपहारको प्रतिस्पर्धा गर्नु समृद्धिको प्रमाण होइन । माटोको एउटा दियो बाल्ने सामान्य परिवार र हजारौँ विद्युतीय बत्ती बाल्ने सम्पन्न परिवारबीचको वास्तविक भिन्नता खर्चमा हुन सक्छ, तर दुवैको घरमा प्रेम, इमानदारी र सम्मान भए तिनको सांस्कृतिक मूल्य समान रूपमा अर्थपूर्ण रहन्छ ।>
गोवर्धनपूजा र गोरुतिहार: प्रकृति, कृषि र श्रमको महिमा>
तिहारको चौथो दिनको धार्मिक तथा सामुदायिक स्वरूप विविध छ । धेरै नेपाली समुदायमा गोरुतिहार मनाइन्छ, कतिपय वैष्णव परम्परामा गोवर्धनपूजा गरिन्छ र नेवार समुदायमा म्हपूजा विशेष महत्त्वका साथ मनाइन्छ । यी सबै अभ्यासलाई एउटै नाम वा एउटै विधिमा सीमित गर्नुको सट्टा तिनको विशिष्टता बुझ्नु आवश्यक छ । >
गोवर्धनपूजासँग सम्बन्धित पौराणिक कथाअनुसार भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासी र गाईवस्तुलाई भीषण वर्षाबाट जोगाएका थिए । यस आख्यानले प्रकृतिसँगको सम्बन्ध, समुदायको सुरक्षा र जीवनदायी पर्यावरणको महत्त्व सम्झाउँछ । गोरुतिहारमा हलो जोत्न, खेतबारी तयार पार्न, बाली भित्र्याउन र कृषि उत्पादन बढाउन योगदान गर्ने गोरुको सम्मान गरिन्छ ।>
कृषिसभ्यताको सांस्कृतिक अभिव्यक्ति>
पाल्पाका ग्रामीण बस्तीमा विगतमा गोरु कृषि जीवनका अपरिहार्य सहयोगी थिए । हलो जोत्ने, खेतको माटो पल्टाउने, दाइँ गर्ने र अन्न उत्पादनको प्रक्रियामा तिनको भूमिका महत्त्वपूर्ण थियो । गोरुको श्रमबिना किसानको जीवन कल्पना गर्न कठिन हुने समय थियो । आज आधुनिक कृषि उपकरण र यान्त्रिकीकरण बढे तापनि गोरुतिहारले उत्पादन प्रक्रियामा योगदान गर्ने जीव तथा श्रमिकप्रति कृतज्ञताको भावना जीवित राख्दछ । कृषकले अन्न फलाउँछ, श्रमिकले संरचना बनाउँछ, शिक्षकले ज्ञान उत्पादन गर्छ, चिकित्सकले स्वास्थ्य जोगाउँछ र वैज्ञानिकले नयाँ प्रविधि विकास गर्छ । यी सबै योगदानको सम्मान गर्नु नै गोरुतिहारको श्रमदर्शनलाई आधुनिक समाजमा विस्तार गर्नु हो ।>
हाम्रो समाजमा कहिलेकाहीँ शारीरिक श्रमलाई सानो र कार्यालयमा बसेर गरिने कामलाई ठूलो ठान्ने प्रवृत्ति पाइन्छ । तर खेतमा पसिना बगाउने किसानको श्रमबिना बजारमा अन्न आउँदैन; निर्माण मजदुरबिना भवन उठ्दैन; सरसफाइकर्मीबिना सहर स्वच्छ रहँदैन । श्रमको सम्मान नगर्ने समाजले उत्पादनको सम्मान गर्न सक्दैन ।>
पर्यावरणीय सन्देश>
गोवर्धनको कथा केवल पर्वत उठाएको चमत्कारको कथा भनेर मात्र बुझ्दा यसको पर्यावरणीय अर्थ ओझेलमा पर्न सक्छ । पर्वत, वन, पानी, घाँसेमैदान र पशुधन एकअर्कासँग सम्बन्धित प्राकृतिक प्रणालीका अङ्ग हुन् । वन विनाश, पानीका स्रोतको प्रदूषण, माटोको क्षय र अनियन्त्रित विकासले मानव जीवनलाई नै जोखिममा पार्छ । आज जलवायु परिवर्तन, अनियमित वर्षा, पहिरो र खडेरीजस्ता समस्याको सामना गरिरहेका बेला गोवर्धनपूजाको आधुनिक सन्देश अझ सान्दर्भिक देखिन्छ—प्रकृतिलाई जित्ने वस्तु होइन, बुझ्ने र संरक्षण गर्ने जीवनाधारका रूपमा हेर्नुपर्छ ।>
म्हपूजाको नेवार परम्पराले भने आफ्नै शरीर, जीवन र अस्तित्वको सम्मान गर्न सिकाउँछ । अरूको सेवा गर्दा आफ्नो स्वास्थ्य, आत्मसम्मान र मानसिक सन्तुलनलाई बेवास्ता गर्नु हुँदैन भन्ने सन्देश यसबाट लिन सकिन्छ ।>
भाइटीका: नाताको पवित्रता, पारस्परिकता र समानताको दर्शन>
तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाउने, माला पहि¥याउने, मिठाई तथा परिकार खुवाउने र दीर्घायु, स्वास्थ्य, सुख तथा समृद्धिको कामना गर्ने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार, दक्षिणा वा अन्य सामग्री दिएर स्नेह व्यक्त गर्छन् । यमराज र यमुनाको आख्यानसँग जोडिएको यस पर्वलाई यमपञ्चकको समापनसँग सम्बन्धित मानिन्छ । भाइटीकाको बाह्य दृश्य रङ्गीन टीका, फूलमाला, ओखर, फलफूल, मिठाई र पारिवारिक जमघट हो । तर यसको गहिरो अर्थ नाताको नवीकरण, भावनात्मक सुरक्षाको अनुभूति र पारस्परिक उत्तरदायित्वमा निहित छ । बाल्यकालमा एउटै आँगनमा खेल्ने दाजुभाइ–दिदीबहिनी जीवनका विभिन्न चरणमा फरक ठाउँमा पुग्न सक्छन् । कसैले गाउँ छाडेर सहर जान्छ, कसैले विदेशमा रोजगारी खोज्छ, कसैले परिवारको जिम्मेवारी सम्हाल्छ र कसैले आर्थिक कठिनाइ भोग्छ । भाइटीकाले दूरीलाई केही समयका लागि भए पनि आत्मीयतामा रूपान्तरण गर्ने अवसर दिन्छ ।>
मनोवैज्ञानिक दृष्टिले पारिवारिक सम्बन्धले मानिसलाई भावनात्मक आधार दिन सक्छ । दुःखमा साथ दिने, असफलतामा हौसला दिने र सफलतामा खुसी हुने नाता जीवनको महत्त्वपूर्ण सम्पत्ति हो । तर टीकाको दिन मात्र आत्मीयता देखाएर अरू दिन अपमान, उपेक्षा वा सम्पत्तिका विषयमा अन्याय गर्नु भाइटीकाको भावनासँग मेल खाँदैन ।>
लैङ्गिक समानता र बदलिँदो सम्बन्ध>
परम्परागत व्याख्यामा दाजुभाइलाई दिदीबहिनीको रक्षक र दिदीबहिनीलाई दाजुभाइको दीर्घायुको कामना गर्ने व्यक्तिका रूपमा प्रस्तुत गरिन्छ । आधुनिक सामाजिक चेतनाले यो सम्बन्धलाई अझ व्यापक बनाउन आवश्यक ठान्छ । सुरक्षा एकतर्फी जिम्मेवारी होइन; दिदीबहिनी र दाजुभाइ दुवै एकअर्काका सहयोगी, सम्मानकर्ता र संरक्षक हुन सक्छन् । दिदीबहिनीको शिक्षा, सम्पत्ति, निर्णयाधिकार र स्वतन्त्रताको सम्मान नगर्ने दाजुभाइले भाइटीकाको वास्तविक मर्म आत्मसात् गरेका हुँदैनन् । त्यसैगरी दाजुभाइको भावना र जिम्मेवारीलाई सम्मान गर्नु पनि पारिवारिक आत्मीयताको अङ्ग हो ।>
रगतको नाता जन्मले दिन्छ, तर नाताको पवित्रता व्यवहारले जोगाउँछ । भाइटीकाको सबैभन्दा सुन्दर दर्शन यही हो ।>
जातीय तथा सामुदायिक परम्परामा तिहारको विविधता>
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले तिहार मनाउने शैली पनि एकरूप छैन । एउटै पर्वभित्र समुदायअनुसार फरक विधि, प्रतीक, गीत, भोजन र पारिवारिक संस्कार पाइन्छन् । यही विविधता नेपाली संस्कृतिको कमजोरी होइन, जीवन्तता हो ।>
– पहाडी हिन्दू समुदायमा काग, कुकुर, गाई, गोरु तथा भाइटीकासम्बन्धी पूजा, घरको सरसफाइ, फूलमाला, दियो, सेलरोटी र देउसी–भैलो प्रचलित छन् ।>
– नेवार समुदायमा म्हपूजा विशेष महत्त्वको पर्व हो, जसमा आफ्नै शरीर र अस्तित्वको पूजा गरिन्छ । नेपाल संवत्सँग यसको सम्बन्ध पनि उल्लेखनीय छ ।>
– वैष्णव परम्परामा गोवर्धनपूजाले भगवान् कृष्णको आख्यान, गाईवस्तु र प्रकृतिसँगको सम्बन्धलाई महत्त्व दिन्छ ।>
– तराईका कतिपय क्षेत्रमा दीपावलीका धार्मिक विधि, लक्ष्मीपूजा, दीपदान र भाइदूजसँग सम्बन्धित अभ्यास स्थानीय परम्पराअनुसार फरक स्वरूपमा देखिन्छन् ।>
– नेपाली डायस्पोरामा विदेशमा बस्ने नेपालीहरूले सामुदायिक भवन, मन्दिर वा घरमा भेला भएर टीका, माला, देउसी–भैलो र सांस्कृतिक कार्यक्रममार्फत आफ्नो पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गर्छन् ।>
यी उदाहरणलाई सबै जाति वा क्षेत्रका सम्पूर्ण अभ्यासको पूर्ण सूचीका रूपमा बुझ्नु हुँदैन । एउटै समुदायभित्र पनि परिवार, धार्मिक आस्था, स्थानीय इतिहास र बसाइँसराइअनुसार भिन्नता हुन सक्छ । तिहारको सांस्कृतिक शक्ति यसको एकरूपतामा होइन, साझा मानवीय मूल्यलाई फरक–फरक ढङ्गले व्यक्त गर्न सक्ने क्षमतामा छ । विविधता स्वीकार्नु भनेको आफ्नै परम्परा त्याग्नु होइन; अरूको परम्परालाई पनि सम्मान गर्न सिक्नु हो ।>
देउसी–भैलो: लोकसाहित्य, सामूहिकता र सांस्कृतिक लोकतन्त्र>
तिहारको आत्मीयता र रौनकलाई जीवन्त बनाउने प्रमुख लोकपरम्परा हो—देउसी–भैलो । साँझ परेपछि गाउँबस्ती, टोल र घरआँगनमा जम्मा भएर गीत गाउने, नाच्ने, मादल बजाउने, शुभकामना दिने र घरधनीबाट दक्षिणा, फलफूल वा परिकार ग्रहण गर्ने चलन यससँग जोडिएको छ ।>
देउसी–भैलोको उत्पत्तिसम्बन्धी विभिन्न लोककथन प्रचलित छन् । कतिपय जनश्रुतिले देउसीलाई राजा बलि र वामन अवतारको कथासँग जोड्छन् भने भैलोको सम्बन्ध कतिपय स्थानीय परम्परामा स्त्रीसमूहको सामूहिक गायनसँग जोडिन्छ । यी व्याख्यालाई एउटै ऐतिहासिक उत्पत्तिको निर्विवाद प्रमाण मान्न सकिँदैन । बरु देउसी–भैलोलाई पुस्तौँदेखि विकसित हुँदै आएको नेपाली लोकसांस्कृतिक अभ्यासका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।>
देउसी–भैलोको सामाजिक र मनोवैज्ञानिक अर्थ>
देउसी–भैलो खेल्ने समूह घरघर पुग्छ । घरधनीले स्वागत गर्छन्, सहभागीले गीत सुनाउँछन् र दुवै पक्षबीच आत्मीय संवाद हुन्छ । यसले छिमेकीबीचको परिचय, सामाजिक सम्बन्ध र सामुदायिक सहभागिता बढाउन सक्छ । पहिले गाउँमा मानिसहरू एकअर्काको सुखदुःखमा सहभागी हुन्थे । तिहारको देउसी–भैलो त्यसको एउटा जीवन्त उदाहरण थियो । गरिब र धनीका घरमा जाने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र घरधनीको प्रशंसा गर्ने क्रममा सामाजिक सम्बन्धको नवीकरण हुन्थ्यो । देउसी–भैलो लोकसाहित्यको मौखिक विश्वविद्यालय पनि हो । यसमा स्थानीय भाषा, उखानटुक्का, हास्यव्यङ्ग्य, आशीर्वाद, जीवनदर्शन, ऐतिहासिक स्मृति र तत्कालीन सामाजिक परिस्थितिको अभिव्यक्ति पाइन्छ । औपचारिक विद्यालयमा नपढाइने कतिपय स्थानीय शब्द, लय र कथन यस्तै परम्परामार्फत पुस्तान्तरण हुन्छन् ।>
नेपाली देउसी भैलो गीतहरुका नमूना>
१. भैलो गीतको नमूना (लक्ष्मीपूजाको दिन गाइने)>
भैलो सामान्यतया केटीहरूले गाउने गर्छन् । यसको थेगो र भट्याउने शैली यसप्रकार हुन्छः>
थेगोः भैलेनी आइन् आँगन, बली राजाको हुकुमले !>
भट्याउनेः हरीयो गोबरले लिपेको,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः लक्ष्मी पूजा गरेको,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः हे औँसीको बारो, गाईको तिहारो,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः हामी त्यसै आएनौँ, दुःख दुःख आएनौँ,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः बली राजाले पठाएको,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः ताना सुनको माला, छाना मोति माला,>
सबैः भैलेनी आइन् आँगन !>
२. देउसी गीतको नमूना (गोवर्धन पूजाको दिन गाइने)>
देउसी सामान्यतया केटाहरूले भट्याएर गाउने गर्छन् । यसको प्रस्तुत गर्ने शैली यसप्रकार हुन्छः>
थेगोः देउसिरे !>
भट्याउनेः हे भन भन भाइ हो,>
सबैः देउसिरे !>
भट्याउनेः हे राम्रो सँग भन,>
सबैः देउसिरे !>
भट्याउनेः हे स्वर मिलाई भन,>
सबैः देउसिरे !>
भट्याउनेः हे हामी त्यसै आएनौँ,>
सबैः देउसिरे ! >
भट्याउनेः हे दुःख दुःख आएनौँ,>
सबैः देउसिरे !>
भट्याउनेः हे बली राजाको हुकुमले,>
सबैः देउसिरे !>
भट्याउनेः हे यो घर हेर्दा सिंहदरबार जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे छाना हेर्दा सुनको जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे दैलो हेर्दा रुपौँ को जस्तो,>
सबैः देउसिरे !>
३. आशिष दिँदा गाइने भाग (देउसी÷भैलो दुवैमा)>
घरबेटीले दक्षिणा (सेलरोटी, चामल, पैसा) दिइसकेपछि आशिष दिने चलन हुन्छः>
थेगोः देउसिरे ! (वा भैलेनी आइन् आँगन !)>
भट्याउनेः हे यो घरका घरबेटी राजालाई,>
सबैः देउसिरे !>
भट्याउनेः हे दिर्घायू आरोग्यको कामना,>
सबैः देउसिरे !>
भट्याउनेः हे कमाउने हात कहिल्यै नथापुन,>
सबैः देउसिरे !>
भट्याउनेः हे अन्नले भरियोस् अन्न भण्डार,>
सबैः देउसिरे !>
भट्याउनेः हे धनले भरियोस् धन भण्डार,>
सबैः देउसिरे !>
भट्याउनेः हे दुबो जस्तै मौलाइ रहुन,>
सबैः देउसिरे !>
भट्याउनेः हे अर्को साल आउँदा यो भन्दा राम्रो होस्,>
सबैः देउसिरे !>
४. बिदा माग्दा गाइने लोक लय>
दक्षिणा पाइसकेपछि टोली अर्को घरतिर लाग्दा गाउने गीतः>
“चामलको पिठो सेलरोटी चिल्लो, जे दिइन् आमैले सबै थोक राम्रो...“>
“केराको थुम्बा झिलिमिली झिल्ला, बिदा पाउँ घरबेटी बाटो भयो ढिला...“>
१. भैलो गीतको नमूना (लक्ष्मीपूजाको दिन गाइने)>
भैलो सामान्यतया केटीहरूले गाउने गर्छन् । यसको थेगो र भट्याउने शैली यसप्रकार हुन्छः>
थेगोः भैलेनी आइन् आँगन, बली राजाको हुकुमले !>
भट्याउनेः हरीयो गोबरले लिपेको,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः लक्ष्मी पूजा गरेको,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः हे औँसीको बारो, गाईको तिहारो,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः हामी त्यसै आएनौँ, दुःख दुःख आएनौँ,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः बली राजाले पठाएको,>
सबैः भैलेनी आइन् आँगन !>
भट्याउनेः ताना सुनको माला, छाना मोति माला,>
सबैः भैलेनी आइन् आँगन !>
२. देउसी गीतको नमूना (गोवर्धन पूजाको दिन गाइने)>
देउसी सामान्यतया केटाहरूले भट्याएर गाउने गर्छन् । यसको प्रस्तुत गर्ने शैली यसप्रकार हुन्छः>
थेगोः देउसिरे !>
भट्याउनेः हे भन भन भाइ हो,>
सबैः देउसिरे !>
भट्याउनेः हे राम्रो सँग भन,>
सबैः देउसिरे !>
भट्याउनेः हे स्वर मिलाई भन,>
सबैः देउसिरे !>
भट्याउनेः हे हामी त्यसै आएनौँ,>
सबैः देउसिरे !>
भट्याउनेः हे दुःख दुःख आएनौँ,>
सबैः देउसिरे !>
भट्याउनेः हे बली राजाको हुकुमले,>
सबैः देउसिरे !>
भट्याउनेः हे यो घर हेर्दा सिंहदरबार जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे छाना हेर्दा सुनको जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे दैलो हेर्दा रुपौँ को जस्तो,>
सबैः देउसिरे !>
३. आशिष दिँदा गाइने भाग (देउसी÷भैलो दुवैमा)>
घरबेटीले दक्षिणा (सेलरोटी, चामल, पैसा) दिइसकेपछि आशिष दिने चलन हुन्छः>
थेगोः देउसिरे ! (वा भैलेनी आइन् आँगन !)>
भट्याउनेः हे यो घरका घरबेटी राजालाई,>
सबैः देउसिरे !>
भट्याउनेः हे दिर्घायू आरोग्यको कामना,>
सबैः देउसिरे !>
भट्याउनेः हे कमाउने हात कहिल्यै नथापुन,>
सबैः देउसिरे !>
भट्याउनेः हे अन्नले भरियोस् अन्न भण्डार,>
सबैः देउसिरे !>
भट्याउनेः हे धनले भरियोस् धन भण्डार,>
सबैः देउसिरे !>
भट्याउनेः हे दुबो जस्तै मौलाइ रहुन,>
सबैः देउसिरे !>
भट्याउनेः हे अर्को साल आउँदा यो भन्दा राम्रो होस्,>
सबैः देउसिरे !>
४. बिदा माग्दा गाइने लोक लय>
दक्षिणा पाइसकेपछि टोली अर्को घरतिर लाग्दा गाउने गीतः>
“चामलको पिठो सेलरोटी चिल्लो, जे दिइन् आमैले सबै थोक राम्रो...”>
“केराको थुम्बा झिलिमिली झिल्ला, बिदा पाउँ घरबेटी बाटो भयो ढिला...”>
तिहारका थप पुराना, मौलिक र रैथाने देउसी भट्याउने शब्दहरू तल प्रस्तुत गरिएका छन्, जसले नेपाली परम्परा र संस्कृतिलाई अझ गहिरोसँग झल्काउँछन् ः>
१. देउसीको उद्गम र बलि राजाको कथा झल्काउने भाग>
यो भागमा देउसी खेल्न आउनुको ऐतिहासिक वा पौराणिक कारण (बलि राजाको कथा) भट्याइन्छः>
थेगोः देउसिरे !>
भट्याउनेः हे सन्धि र सर्पन,>
सबैः देउसिरे !>
भट्याउनेः हे भन भाइ हो भन,>
सबैः देउसिरे !>
भट्याउनेः हे हामी त्यसै आएनौँ,>
सबैः देउसिरे !>
भट्याउनेः हे सत्य जुगमा,>
सबैः देउसिरे !>
भट्याउनेः हे बलि राजाले,>
सबैः देउसिरे !>
भट्याउनेः हे राज्य गरेका,>
सबैः देउसिरे !>
भट्याउनेः हे उनै राजाको,>
सबैः देउसिरे !>
भट्याउनेः हे हुकुम भयो र,>
सबैः देउसिरे !>
भट्याउनेः हे हामी खेल्न आएका,>
सबैः देउसिरे !>
२. घरबेटीको घर र आँगनको प्रसंसा (परम्परागत शैली)>
यो भागमा घरबेटीलाई खुसी पार्न उनीहरूको घरको सुन्दरताको वर्णन गरिन्छः>
थेगोः देउसिरे !>
भट्याउनेः हे यो घर हेर्दा,>
सबैः देउसिरे !>
भट्याउनेः हे कैलाश जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे आँगन हेर्दा,>
सबैः देउसिरे !>
भट्याउनेः हे टुँडिखेल जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे बार्दली हेर्दा,>
सबैः देउसिरे !>
भट्याउनेः हे मयुरको प्वाँख जस्तो,>
सबैः देउसिरे !>
भट्याउनेः हे झ्याल ढोका हेर्दा,>
सबैः देउसिरे !>
भट्याउनेः हे मन्दिर जस्तो,>
सबैः देउसिरे !>
३. थप मौलिक आशिष>
दक्षिणा थापेपछि दिइने निकै पुराना र घतलाग्दा आशिषका शब्दहरूः>
थेगोः देउसिरे !>
भट्याउनेः हे अमलाको बोट जस्तै,>
सबैः देउसिरे !>
भट्याउनेः हे मौलाइ रहनु,>
सबैः देउसिरे !>
भट्याउनेः हे केराको थुम्बा जस्तै,>
सबैः देउसिरे !>
भट्याउनेः हे फस्टाई रहनु,>
सबैः देउसिरे !>
भट्याउनेः हे हिउँचुलीको हिउँ जस्तै,>
सबैः देउसिरे !>
भट्याउनेः हे कीर्ति चम्कियोस्,>
सबैः देउसिरे !>
भट्याउनेः हे सागर जस्तै,>
सबैः देउसिरे !>
भट्याउनेः हे नाम फैलियोस्,>
सबैः देउसिरे !>
भट्याउनेः हे गोठ भरी गाई भैँसी,>
सबैः देउसिरे !>
भट्याउनेः हे भकारी भरी धान होस्,>
सबैः देउसिरे !>
४. बिदा माग्दा गाइने रमाइला टुक्काहरू>
घरबाट निस्कने बेला नाच्दै गाइने पुराना प्रचलित टुक्काहरूः>
“हामी त जाने ओरालो बाटो, घरबेटी दिने तगारो बाटो...”>
“मानो खायौँ, मुरी हगाऔँ, यो घरका शत्रुलाई सबै भगाऔँ...” (ठट्टा गर्दै गाइने)>
“रातो माटो चिप्लो बाटो, लड्दै पड्दै आएका, घरबेटी आमैले सेलरोटी पकाउँदा, मगमग बास्ना पाएका...”>
नेपाली चलचित्र र एल्बमका लोकप्रिय आधुनिक तिहार गीतहरूका बोल र तिनका विशेषताहरू तल प्रस्तुत गरिएका छन्, जुन देउसी–भैलो खेल्दा र नाच्दा बढी प्रयोग गरिन्छ:>
१. “तिहारै आयो लौ तिहारै आयो“ (चलचित्रः सम्झना)>
यो नेपाली इतिहासकै सबैभन्दा लोकप्रिय र कालजयी तिहार गीत हो । यसमा दियो बाल्ने, दाजुभाइ र दिदीबहिनीको प्रेम, र देउसी–भैलोको रौनकताको सुन्दर वर्णन छ ।>
मुख्य बोलः>
“तिहारै आयो लौ तिहारै आयो...>
झ्यालमा र ढोकामा मखमली फूलको माला लायो...>
भन भन भाइ हो देउसिरे, स्वर मिलाई भन देउसिरे...>
हामी त्यसै आएनौँ, दुःख दुःख आएनौँ...>
बली राजाको हुकुमले, देउसी खेल्न आएका...”>
२. “दियो बलेछ“ (चलचित्रः माइतीघर)>
यो अर्को क्लासिक तिहार गीत हो, जसले तिहारको धार्मिक र साँस्कृतिक पक्षलाई निकै भावुक र गहिरो तरिकाले प्रस्तुत गर्छ ।>
मुख्य बोलः>
“दियो बलेछ, अँध्यारो हटेछ...>
आजको यो तिहारमा दियो बलेछ...>
लक्ष्मीको बास होला यो घरमा आज, सबैको मनमा हर्ष छाएछ...”>
३. “सप्तरङ्गी टीका निधारमा“>
दियो, कलश र तिहारको रौनकतालाई समेटेर तयार पारिएको यो आधुनिक लोक पप शैलीको गीत देउसी–भैलोमा नाच्नका लागि निकै रुचाइन्छ ।>
मुख्य बोलः>
“सप्तरङ्गी टीका निधारमा, मखमली माला यो गलामा...>
दिदी र बहिनीले दाजु र भाइलाई, पुज्ने नि दिन आयो तिहारमा...>
देउसिरे... भन भन भाइ हो देउसिरे...”>
४. “झिलिमिली झिलिमिली आयो तिहार“>
यो गीत अलि बढी उर्जावान् र छिटो लयको छ, जसले गर्दा युवा पुस्ताले तिहारमा डिजे (म्व्) वा स्पिकरमा बजाएर नाच्नका लागि यसलाई निकै प्रयोग गर्छन् ।>
मुख्य बोलः>
“झिलिमिली झिलिमिली आयो तिहार...>
खमली फूलको लायो माला, माइती र चेलीको कस्तो छ प्यार...>
नाचौँ न साथी हो कम्मर भाँचेर, रमाइलो गरौँ न तिहारैमा...”>
देउसी–भैलोमा नाच्न प्रयोग गरिने रैथाने लोक भाकाहरूः>
चलचित्रका गीतहरू बाहेक गाउँघरमा देउसी खेल्दा नाच्नका लागि झ्याउरे लय, मारुनी नाचको भाका, र कौडा÷चुड्का को पनि ठूलो प्रयोग हुन्छ ।>
झ्याउरे टुक्काको नमूनाः>
“ए... सेलरोटी चिल्लो छ, घरबेटी आमैको मन कति ठूलो छ...>
मादलु घन्काउ साथी हो, नाच है नाच तिहारको राति हो...”>
देउसी गीतका थप नमुनाहरू>
तलका गीतहरू मौलिक नमुनाका रूपमा प्रस्तुत गरिएका हुन् ।>
देउसी रे ! — समृद्धि र सद्भावको गीत>
भैलो आयो आँगनैमा, उज्यालोको लहर,>
सुखशान्ति छाओस् घरमा, हटोस् दुःखको कहर ।>
देउसी रे ! देउसी रे !>
माया बाँडौँ, मन जोडौँ, देउसी रे !>
किसानका खेतबारीमा सुनझैँ धान फलोस्,>
मेहनत गर्ने हातहरूमा सफलताको फूल फलोस् ।>
विद्यार्थीको कलमबाट ज्ञानको ज्योति बलोस्,>
अन्यायको अँध्यारो हटोस्, सत्यको घाम झुल्कोस् ।>
देउसी रे ! देउसी रे !>
सबै जाति, सबै भाषा, एउटै मन होस् रे !>
नहोस् कसैको चुलो खाली, नहोस् कोही पराया,>
दुःख पर्दा हात बढाऔँ, बाँडौँ माया–छाया ।>
फूलझैँ फुलोस् सम्बन्ध, नदीझैँ बगोस् प्रीति,>
सत्य, श्रम र सेवाभित्र भेटियोस् जीवननीति ।>
देउसी रे ! देउसी रे !>
सद्भाव र समृद्धिको शुभकामना देउसी रे !>
भैलो गीतको नमुना>
भैलिनी आयौँ — नारी सम्मान र शुभकामनाको गीत>
भैलिनी आयौँ आँगनमा, फूलको माला बोकी,>
सुखका दीप जलाऊँ आज, मनका ढोका खोली ।>
भैलो है ! भैलो !>
मायाको फूल फुलोस्, भैलो !>
आमा हाँसून्, बुबा हाँसून्, हाँसून् दाजु–भाइ,>
दिदीबहिनी सुखी होऊन्, दुःख नआओस् कहिल्यै ।>
ज्ञान बढोस्, सीप बढोस्, श्रमको मान बढोस्,>
हाम्रो गाउँ र देशभरि शान्ति र न्याय बढोस् ।>
भैलो है ! भैलो !>
समानता र सद्भावको उज्यालो, भैलो !>
नारीको सम्मान होस्, बालबालिका सुरक्षित,>
ज्येष्ठ नागरिकको जीवन रहोस् सधैँ सम्मानित ।>
प्रकृतिलाई माया गरौँ, सफा राखौँ गाउँ,>
सुखी, समुन्नत समाजको सँगै सपना बुनौँ ।>
भैलो है ! भैलो !>
उज्यालो भविष्य ल्याऔँ, भैलो !>
यी गीतलाई स्थानीय भाका, पाल्पाली लवज, मादलको ताल र समुदायको मौलिक शब्दावलीअनुसार रूपान्तरण गर्न सकिन्छ । यही अनुकूलनशीलता लोकसाहित्यको विशेषता हो ।>
देउसी–भैलोका आर्थिक, राजनीतिक र साहित्यिक पक्ष>
देउसी भैलोको पारिवारिक, सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय, राजनीतिक, साहित्यिक र भावी कार्ययोजनाको निर्माण आदिमा महत्त्व रहेको हुन्छ ।>
देउसी–भैलोबाट सङ्कलित रकम विद्यालय, बालक्लब, पुस्तकालय, मठमन्दिर, सडकबत्ती, विपन्न परिवारको सहयोग वा सामुदायिक विकासमा खर्च गर्न सकिन्छ । यसरी मनोरञ्जनलाई सामाजिक लगानीमा रूपान्तरण गर्न सकिन्छ ।>
राजनीतिक दृष्टिले देउसी–भैलो सामाजिक विकृति, भ्रष्टाचार, बेरोजगारी, असमानता र सार्वजनिक सेवाका कमजोरीमाथि व्यङ्ग्य गर्ने माध्यम बन्न सक्छ । तर व्यङ्ग्य तथ्यमा आधारित, मर्यादित र व्यक्तिको मानमर्दन नगर्ने हुनुपर्छ ।>
साहित्यिक दृष्टिले यसमा लय, अनुप्रास, पुनरुक्ति, प्रतीक, रूपक, आशीर्वाद र तत्कालीन सामाजिक टिप्पणी पाइन्छन् । देउसी–भैलो गीतले लोककविता, लोकसङ्गीत र मौखिक इतिहासको संरक्षणमा योगदान पु¥याउँछ ।>
तर यस परम्पराको संरक्षणका लागि घरधनीलाई अनावश्यक दबाब दिने, राति अबेरसम्म चर्को आवाज निकाल्ने, मादक पदार्थ सेवन गर्ने वा सङ्कलित रकमको हिसाब नदेखाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । संस्कृतिको नाममा अरूको शान्ति र स्वतन्त्रता खोस्नु संस्कृतिको सम्मान होइन ।>
तिहारको भाषिक, भौगोलिक र वाङ्मयिक महत्त्व>
तिहार नेपाली भाषाको जीवन्त प्रयोगशाला पनि हो । काग, कुकुर, गाई, गोरु, दियो, बाती, मखमली, सयपत्री, टीका, जमरा, रङ्गोली, सेलरोटी, देउसी, भैलो, दक्षिणा र आशीर्वादजस्ता शब्दहरूले पर्वको सांस्कृतिक संसार निर्माण गर्छन् ।>
भाषा केवल शब्दकोशमा सुरक्षित रहने वस्तु होइन; त्यो मानिसको व्यवहार, गीत, उखान, कथा र दैनिक संवादमा जीवित रहन्छ । स्थानीय भाषिक भेदमा तिहारका परिकार, पूजाका सामग्री र नातासम्बन्धी सम्बोधनका फरक नाम भेटिन सक्छन् । यस्ता शब्द सङ्कलन गरी तिनको अर्थ, उच्चारण र प्रयोगको अभिलेख राख्नु भाषिक सम्पदाको संरक्षण हो ।>
पाल्पाका गाउँबस्तीमा देउसी खेल्दा प्रयोग हुने स्थानीय लवज, पुराना सम्बोधन, आशीर्वचन र हास्यपूर्ण कथनलाई अभिलेखीकरण गर्न सकियो भने ती भावी पुस्ताका लागि मूल्यवान् भाषिक स्रोत बन्न सक्छन् ।>
वाङ्मयिक दृष्टिले तिहारले कविता, निबन्ध, कथा, गीत, नाटक, संस्मरण, चित्रकला र लोकगाथालाई प्रेरणा दिन्छ । घरको आँगनमा बलिरहेको दियो कवितामा आशाको प्रतीक बन्न सक्छ; भाइटीकाको प्रतीक्षा संस्मरणमा विछोडको अनुभूति बन्न सक्छ; देउसीको सामूहिक आवाज सामाजिक परिवर्तनको आह्वान बन्न सक्छ ।>
भौगोलिक दृष्टिले पनि तिहारको स्वरूप स्थानअनुसार फरक हुन्छ । पहाडका ग्रामीण बस्ती, तराईका बजार, उपत्यकाका सांस्कृतिक समुदाय र विदेशमा रहेका नेपाली परिवारले आफ्नो परिवेशअनुसार पर्व मनाउँछन् । कतै माटोको दियो प्रमुख हुन्छ, कतै विद्युतीय सजावट; कतै घरआँगनमा सामूहिक देउसी हुन्छ, कतै सामुदायिक हलमा सांस्कृतिक कार्यक्रम ।>
यसले भूगोल पर्वको स्वरूप निर्धारण गर्ने सक्रिय सांस्कृतिक कारक पनि हो भन्ने देखाउँछ । >
पहिलेको तिहार र अहिलेको तिहार: परिवर्तनको तुलनात्मक अध्ययन>
समयसँगै तिहारको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ । विगतको ग्रामीण जीवन र वर्तमानको बजारमुखी, प्रविधियुक्त जीवनबीचको अन्तरले पर्व मनाउने तरिका पनि बदलिएको छ ।>
पक्ष पहिलेको तिहार अहिलेको तिहार>
प्रकाश माटोको दियो, तोरीको तेल, कपासको बाती दियोसँगै एलईडी बत्ती र विद्युतीय सजावट>
फूलमाला घरबारीमा फुलेका सयपत्री र मखमली घरबारीका फूलसँगै बजारमा खरिद गरिएका माला>
परिकार घरमै बनाइने सेलरोटी, अर्सा, अनरसा तथा स्थानीय परिकार घरेलु परिकारसँगै बजारका मिठाई र प्याकेटबन्द खाद्यवस्तु>
देउसी–भैलो गाउँटोलमा सामूहिक गायन र प्रत्यक्ष संवाद परम्परागत समूहसँगै मञ्चीय कार्यक्रम र सामाजिक सञ्जाल>
पारिवारिक भेटघाट पैदल यात्रा र गाउँमै सामूहिक जमघट सवारीसाधन, विदेशबाट आगमन तथा अनलाइन शुभकामना>
अर्थतन्त्र स्थानीय उत्पादन र वस्तु साटासाटको प्रभाव बजार, उपभोग, उपहार र डिजिटल भुक्तानीको प्रभाव>
सांस्कृतिक सिकाइ घरपरिवार र समुदायबाट मौखिक रूपमा सिकिने मौखिक परम्परासँगै डिजिटल माध्यमबाट सिकाइ>
वातावरण स्थानीय सामग्रीको तुलनात्मक रूपमा बढी प्रयोग प्लास्टिक, विद्युतीय फोहोर र पटाकाको सम्भावित प्रदूषण>
यो तुलना सामान्य प्रवृत्तिमा आधारित हो; सबै गाउँमा पुरानो चलन र सबै सहरमा आधुनिक चलन समान रूपमा लागू हुन्छन् भन्ने होइन ।>
परिवर्तनका सकारात्मक पक्ष>
आज टाढा रहेका परिवारका सदस्यले भिडियो कलबाट शुभकामना दिन सक्छन् । विद्यालयले तिहारका धार्मिक तथा सांस्कृतिक पक्षबारे शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्छन् । स्थानीय कलाकारले सामाजिक सञ्जालमार्फत मौलिक देउसी–भैलो विश्वभरका नेपालीसम्म पु¥याउन सक्छन् । स्थानीय फूल, हस्तकला, परिकार र अन्य उत्पादनको बजार पनि विस्तार हुन सक्छ ।>
प्रविधि आफैँमा संस्कृतिको शत्रु होइन । त्यसको प्रयोग कसरी गरिन्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो ।>
परिवर्तनका चुनौती>
अर्कोतर्फ, तिहारलाई महँगा उपहार, आकर्षक सजावट र सामाजिक सञ्जालमा प्रदर्शन गर्ने अवसरका रूपमा मात्र हेर्ने प्रवृत्ति बढ्न सक्छ । आर्थिक अवस्था कमजोर भएका परिवारले अरूको देखासिकीमा ऋण लिएर खर्च गर्नुपर्ने दबाब महसुस गर्न सक्छन् । विदेशमा रहेका परिवारले चाडपर्वमा घर फर्कन नसक्दा भावनात्मक दूरी अनुभव गर्न सक्छन् ।>
त्यसैले प्रश्न पुरानो तिहार राम्रो र नयाँ तिहार नराम्रो भन्ने होइन । प्रश्न हो—आधुनिक सुविधाको उपयोग गर्दै परम्पराको मानवीय सार कसरी जोगाउने?>
तिहारका विकृति र विसङ्गति: उज्यालोभित्रका अँध्यारा पक्ष>
कुनै पनि सांस्कृतिक पर्व समाजका सबै समस्याबाट मुक्त हुँदैन । तिहारको वास्तविक सम्मान गर्न यसको नाममा देखिने विकृति र विसङ्गतिबारे पनि स्पष्ट छलफल आवश्यक छ ।>
पहिलो, आर्थिक आडम्बर र देखासिकी । अरूको घरभन्दा बढी बत्ती बाल्ने, महँगा उपहार दिने वा सामाजिक सञ्जालमा सम्पन्नताको प्रदर्शन गर्ने प्रतिस्पर्धाले पर्वको आत्मीयता कमजोर बनाउन सक्छ । आर्थिक क्षमता फरक भएका मानिसलाई समान सम्मान प्राप्त हुने वातावरण बनाउनुपर्छ ।>
दोस्रो, जुवातास र आर्थिक जोखिम । मनोरञ्जनका नाममा अनियन्त्रित जुवा, ऋण, ठगी र पारिवारिक विवाद बढ्न सक्छ । यसले परिवारको आर्थिक सुरक्षा र मानसिक शान्तिमा असर पार्न सक्छ । मनोरञ्जनको सीमा, कानुन र जिम्मेवारीलाई सम्मान गर्नुपर्छ ।>
तेस्रो, पटाका र ध्वनि प्रदूषण । विस्फोटक सामग्रीले चोटपटक, आगलागी, वायु प्रदूषण र ध्वनि प्रदूषणको जोखिम बढाउँछ । बालबालिका, ज्येष्ठ नागरिक, बिरामी व्यक्ति तथा पशुपक्षी विशेष रूपमा प्रभावित हुन सक्छन् । स्थानीय कानुन र सुरक्षा निर्देशनको पालना गर्दै सुरक्षित विकल्प अपनाउनु आवश्यक छ ।>
चौथो, पशुप्रतिको देखावटी सम्मान । कुकुर, गाई वा गोरुलाई एक दिन पूजा गरेर बाँकी समय भोक, रोग र दुव्र्यवहारमा छाड्नु विरोधाभासपूर्ण व्यवहार हो । धार्मिक आस्था पशुकल्याणको निरन्तर अभ्याससँग जोडिनुपर्छ ।>
पाँचौँ, लैङ्गिक असमानता । दिदीबहिनीको स्वतन्त्रता र सम्पत्तिको अधिकारलाई बेवास्ता गर्दै भाइटीकामा मात्र सम्मान देखाउनु पर्याप्त हुँदैन । पर्वले समानता, सुरक्षा र पारस्परिक जिम्मेवारीलाई व्यवहारमा उतार्नुपर्छ ।>
छैटौँ, देउसी–भैलोको व्यावसायीकरण । अनावश्यक दबाब, अशिष्ट गीत, चर्को ध्वनि, मद्यपान र सङ्कलित रकमको अपारदर्शी प्रयोगले यसको सांस्कृतिक प्रतिष्ठामा चोट पु¥याउन सक्छ ।>
सातौँ, फोहोर र प्लास्टिकको अत्यधिक प्रयोग । प्रयोगपछि फालिने सजावट, प्लास्टिकका माला, प्याकेटबन्द सामग्री र विद्युतीय बत्तीका बिग्रिएका उपकरणले वातावरणमा समस्या निम्त्याउन सक्छन् ।>
यी समस्याको समाधान पर्वलाई निषेध गर्नु होइन; पर्वको अभ्यासलाई विवेकपूर्ण, सुरक्षित र उत्तरदायी बनाउनु हो ।>
स्वस्थ, स्वच्छ र मर्यादित तिहारका लागि व्यावहारिक उपाय>
तिहारको वास्तविक सौन्दर्यलाई दीर्घकालीन बनाउन परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार, सञ्चारमाध्यम र व्यवसायी सबैको भूमिका आवश्यक हुन्छ ।>
१. वातावरणमैत्री पर्व>
माटोका दियो, स्थानीय फूल, पुनःप्रयोग गर्न मिल्ने सजावट र कम ऊर्जा खपत गर्ने बत्तीलाई प्राथमिकता दिने । प्लास्टिकको प्रयोग घटाउने, फोहोर छुट्याउने र पूजापछि सामग्री उचित ठाउँमा व्यवस्थापन गर्ने ।>
२. करुणा र पशुकल्याण>
पशुलाई सफा पानी र उपयुक्त भोजन दिने । पशुलाई हानि पुग्ने गरी रङ, टीका वा माला नलगाउने; उनीहरूलाई जबर्जस्ती नगर्ने । सडकमा आश्रित पशुको दीर्घकालीन हेरचाहका लागि स्थानीय समूहसँग सहकार्य गर्ने ।>
३. आर्थिक अनुशासन>
परिवारको क्षमताअनुसार बजेट बनाउने, अनावश्यक ऋणबाट बच्ने, स्थानीय उत्पादन खरिद गर्ने र सम्भव भए विपन्न परिवारलाई सहयोग गर्ने । पर्वको मूल्य खर्चको आकारले होइन, सम्बन्धको गुणस्तरले मापन गर्ने ।>
४. विद्यालयमा सांस्कृतिक शिक्षा>
विद्यार्थीलाई तिहारका पौराणिक आख्यान, स्थानीय गीत, पर्यावरणीय सन्देश र सामाजिक विकृतिबारे छलफल गराउने । मौलिक देउसी–भैलो लेखन, स्थानीय शब्द सङ्कलन र सांस्कृतिक अभिलेखीकरणका कार्यक्रम सञ्चालन गर्ने ।>
५. समावेशी र मर्यादित देउसी–भैलो>
बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई ध्यानमा राख्ने । ध्वनि र समयको मर्यादा पालना गर्ने । सङ्कलित रकमको सार्वजनिक हिसाब राख्ने र सामुदायिक हितमा खर्च गर्ने ।>
६. सुरक्षा र जिम्मेवार व्यवहार>
आगो बाल्ने ठाउँ सुरक्षित राख्ने, बालबालिकालाई आगो तथा विस्फोटक सामग्रीबाट टाढा राख्ने, विद्युतीय तारको अवस्था जाँच्ने र धुवाँ वा आवाजबाट प्रभावित हुने व्यक्तिको ख्याल गर्ने ।>
स्थानीय सरकारले स्वच्छ तिहार अभियान सञ्चालन गर्न सक्छ । विद्यालय तथा बालक्लबले वातावरणमैत्री तिहारको सन्देश फैलाउन सक्छन् । सञ्चारमाध्यमले देखावटी उपभोगभन्दा मौलिक संस्कृति, सामाजिक सद्भाव र सुरक्षासम्बन्धी चेतना प्रवाह गर्न सक्छन् ।>
तिहारको वास्तविक सन्देश: धर्मकर्मभन्दा परको जीवनदर्शन >
तिहारका पाँच दिनलाई प्रतीकात्मक रूपमा विश्लेषण गर्दा जीवनका पाँच महत्त्वपूर्ण पाठ भेटिन्छन् ।>
– कागतिहारले सन्देश, सूचना र विवेकको महत्त्व सम्झाउँछ ।>
– कुकुरतिहारले निष्ठा, सुरक्षा र निर्बलप्रतिको करुणा सिकाउँछ ।>
– गाईतिहार तथा लक्ष्मीपूजाले पोषण, कृतज्ञता, आर्थिक अनुशासन र समृद्धिको सदुपयोग सम्झाउँछन् ।>
– गोवर्धनपूजा तथा गोरुतिहारले प्रकृति, कृषि, श्रम र सामूहिक सुरक्षाको महत्त्व बताउँछन् ।>
– भाइटीकाले पारिवारिक आत्मीयता, समानता र पारस्परिक उत्तरदायित्वलाई बलियो बनाउँछ ।>
यी प्रतीकात्मक अर्थ धार्मिक परम्पराको विकल्प होइनन्; तिनलाई जीवनसँग जोडेर बुझ्ने आधुनिक व्याख्या हुन् ।>
तिहारले धर्म र विज्ञानबीच अनावश्यक द्वन्द्व सिर्जना गर्नुपर्ने आवश्यकता देखाउँदैन । धार्मिक विश्वासले मानिसलाई सदाचार र करुणातर्फ प्रेरित गर्न सक्छ; विज्ञानले प्रकृति र समाजका प्रक्रियालाई प्रमाणका आधारमा बुझ्न सहयोग गर्छ । कागको पूजा गर्नु आस्थाको अभ्यास हुन सक्छ भने कागको पारिस्थितिक भूमिकाको अध्ययन वैज्ञानिक अभ्यास हो । दुवैले मानिसमा प्रकृतिप्रतिको जिम्मेवारी बढाउन योगदान दिन सक्छन् ।>
त्यसैगरी, लक्ष्मीपूजाले धनप्रतिको आकाङ्क्षा व्यक्त गर्छ भने आर्थिक शिक्षा र विवेकले धनको उपयोग कसरी गर्ने भन्ने सिकाउँछ । भाइटीकाले आत्मीयताको प्रतीकात्मक अभिव्यक्ति दिन्छ भने समानताको सामाजिक चेतनाले सम्बन्धलाई न्यायपूर्ण बनाउँछ ।>
राजनीतिक रूपमा पनि तिहारको प्रकाशलाई रूपकका रूपमा बुझ्न सकिन्छ । लोकतन्त्रको वास्तविक उज्यालो नागरिकको स्वतन्त्रता, न्यायपूर्ण शासन, पारदर्शिता, उत्तरदायित्व र समान अवसरमा देखिनुपर्छ । नेताले लक्ष्मीपूजा गर्नु धार्मिक स्वतन्त्रताको विषय हो; तर सार्वजनिक धनको दुरुपयोग रोक्नु, नागरिकलाई गुणस्तरीय सेवा दिनु र भ्रष्टाचार नियन्त्रण गर्नु राजनीतिक उत्तरदायित्व हो ।>
साहित्यिक दृष्टिले तिहारको सबैभन्दा शक्तिशाली प्रतीक दियो हो । एउटा दियोले अर्को दियो बाल्दा आफ्नो प्रकाश गुमाउँदैन । ज्ञान, प्रेम र सद्भाव पनि यस्तै हुन्—बाँड्दै जाँदा घट्दैनन्, बरु सामूहिक उज्यालो बढ्छ ।>
दियो घरमा मात्र होइन, चेतनामा पनि बालौँ>
तिहार नेपाली समाजको सांस्कृतिक सम्पदा, धार्मिक आस्था, कृषि इतिहास, पारिवारिक आत्मीयता, लोकसाहित्य र सामूहिक जीवनपद्धतिको सुन्दर सङ्गम हो । यसका पाँच दिनले मानिसलाई आफूभन्दा बाहिरको संसार हेर्न सिकाउँछन्—कागको अस्तित्व बुझ्न, कुकुरको निष्ठा सम्मान गर्न, गाईको योगदानप्रति कृतज्ञ हुन, गोरुको श्रम सम्झन र दाजुभाइ–दिदीबहिनीको सम्बन्धलाई आत्मीयताले सिञ्चित गर्न ।>
तर पर्वको वास्तविक सफलता घर कति उज्यालो भयो भन्ने प्रश्नमा मात्र निर्भर हुँदैन । समाजमा अन्यायको अन्धकार कति घट्यो, गरिबको चुलो कति बल्यो, पशुपक्षीले कति सुरक्षित जीवन पाए, दिदीबहिनीले कति सम्मान पाए, श्रमिकको श्रमले कति मूल्य पायो र प्रकृतिले कति संरक्षण पाई—यी प्रश्नले तिहारको गहिराइ मापन गर्छन् ।>
हामीले दियो बाल्यौँ, तर मनमा द्वेष पालिरह्यौँ भने उज्यालो अधुरो रहन्छ । लक्ष्मीपूजा ग¥यौँ, तर धनको लोभमा इमान बेच्यौँ भने समृद्धिको अर्थ हराउँछ । भाइटीका लगायौँ, तर दिदीबहिनीको अधिकार अस्वीकार ग¥यौँ भने आत्मीयता खोक्रो हुन्छ । गाई र कुकुरको पूजा ग¥यौँ, तर अन्य दिन पशुलाई दुःख दियौँ भने करुणा अपूर्ण रहन्छ । देउसी–भैलो खेल्यौँ, तर छिमेकीको शान्ति भङ्ग ग¥यौँ भने संस्कृतिको मर्म कमजोर हुन्छ ।>
तिहारको सच्चा साधना यही हो—आस्थालाई आचरणमा, संस्कारलाई सद्व्यवहारमा, प्रकाशलाई विवेकमा र उत्सवलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्नु ।>
यस तिहारमा हामी माटोको दियोसँगै मनको दियो बालौँ; घरको आँगनसँगै समाजका उपेक्षित कुनाहरू उज्यालो बनाऔँ; फूलमालासँगै सम्बन्धमा सद्भावको माला गाँसौँ; लक्ष्मीको आराधनासँगै श्रम, इमानदारी र न्यायको सम्मान गरौँ; देउसी–भैलोको गीतसँगै समानता, शिक्षा, पर्यावरण संरक्षण र मानवीय मर्यादाको आवाज बुलन्द गरौँ ।>
किनकि तिहारको सबैभन्दा ठूलो उज्यालो हजारौँ बत्तीबाट होइन, एकअर्काको जीवनमा उज्यालो थप्ने मानवीय चेतनाबाट जन्मिन्छ । दियोको ज्योति हावाले निभाउन सक्छ, तर सद्विचारको ज्योति पुस्तौँसम्म बाँच्न सक्छ । फूल ओइलाउन सक्छ, तर प्रेमको सुगन्ध स्मृतिमा रहिरहन्छ । पर्वका दिन बित्न सक्छन्, तर पर्वले सिकाएको करुणा, इमानदारी र सहअस्तित्व जीवनभर कायम रहन सक्छ । त्यसैले तिहारलाई वर्षमा पाँच दिन मनाइने उत्सवमा सीमित नराखौँ । यसलाई हरेक दिन सत्य बोल्ने, श्रमको सम्मान गर्ने, प्रकृतिको संरक्षण गर्ने, परिवारलाई माया गर्ने, कमजोरलाई साथ दिने र समाजलाई न्यायपूर्ण बनाउने जीवनपद्धति बनाऔँ ।>
आफू उज्यालो बनौँ, अरूलाई उज्यालो दिऔँ र मिलेर यस्तो समाज निर्माण गरौँ, जहाँ कसैको जीवन अन्धकारमा हराउन नपरोस् — तिहारको सार यही हो ।>
लेखक: राम ज्ञवाली>
रिब्दीकोट–४, नारायणथोक, पाल्पा।>
लेखक श्री राम मावि राम्दी,पाल्पामा अध्यापनरत हुनुहुन्छ।>
>>