पाल्पा । रिब्दीकोट गाउँपालिका–६, उज्ज्वल डाँडामा साविक वडा तथा टोलस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। वडा नं. ६ कार्यालयको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ गरी कुल १९ समूहको सहभागिता रहेको छ।>
प्रतियोगिताको उद्देश्य ग्रामीण क्षेत्रका नवयुवा खेलाडीलाई खेलप्रति प्रोत्साहित गर्नुका साथै स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको पहिचान गरी जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्नु रहेको आयोजकले जनाएको छ।>
कार्यक्रममा वडा अध्यक्ष प्रकाश रायमाझीले खेलकुदले युवाको मनोबल बढाउनुका साथै प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले युवा खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको मनोबल बढाउन राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय स्तरका कतिपय खेलाडीसमेत विदेशिनुपर्ने बाध्यता रहेको भन्दै उहाँले खेलकुद क्षेत्रको विकासका लागि सरकारले उचित नीति र लगानी गर्नुपर्नेमा जोड दिनुभयो।>
रिब्दीकोट गाउँपालिकाका खेल संयोजक तथा युवा समाजसेवी दीपक पचभैया (झपेन्द्र) ले गाउँपालिकाले हरेक वर्ष खेलकुदमा लगानी गर्दै आए पनि अपेक्षाअनुसार खेलाडी उत्पादन हुन नसकेको बताउनुभयो। उहाँले खेलाडी तथा युवाहरूमा खेलप्रतिको निरन्तर रुचि र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता अवधिमा मात्र नभई नियमित रूपमा खेलकुदमा सक्रिय हुन युवाहरूलाई आग्रह गर्नुभयो।>
वडा सदस्य भरतबहादुर जिसीले घुम्ती कार्यक्रमअन्तर्गत सञ्चालन भएको प्रतियोगिता स्थानीय जनप्रतिनिधिको अन्तिम कार्यकालसमेत भएकाले खेल अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।>
वडा सचिव विष्णु थापाले युवाहरूको माग र चाहनाअनुसार वडा कार्यालयले निरन्तर खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले लुकेका प्रतिभाको पहिचान गरी भलिबल खेलको विकास गर्ने उद्देश्यले अभिभावकीय भूमिकामा रहेर प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नुभयो। खेलाडी उत्पादन भए पनि अवसर र रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यता रहेकाले भविष्यमा खेल क्षेत्रमा युवाको सहभागिता घट्ने हो कि भन्ने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो।>
प्रतियोगिताका खेल संयोजक दिलीप पाणेले नयाँ पुस्तालाई भलिबल खेलप्रति आकर्षित गर्दै यसको विकास र निरन्तरताका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। स्थानीयवासी तथा युवाहरूको व्यवस्थापन र सक्रियतामा खेल सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।>
त्यसैगरी, भलिबल खेलाडी मोहित उचैले वडा कार्यालयले खेलाडीको हौसला बढाउन प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै खेललाई निरन्तरता दिन र युवाहरू स्वयं खेलप्रति थप सक्रिय हुनुपर्ने बताउनुभयो।>
प्रतियोगिताको पहिलो चरणका खेलमा उज्ज्वल डाँडा युवा समूह र सनराइज युवा क्लब देउरालीले जित हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्।>
स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।>
राष्ट्रिय न्युज | पाल्पा >>