दाङ, कात्तिक ३० गते । जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख रुपैयाँभन्दा बढी नगद र ताससहित दाङको तुलसीपुरबाट १५ जनालाई पक्राउ गरेको छ।>
तुलसीपुर उपमहानगरपालिका–५ स्थित मासु मार्केटमा तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।>
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार प्रहरीले घटनास्थलबाट पाँच लाख ३० हजार २३५ रुपैयाँ नगद र तास बरामद गरेको छ।>
उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५, बसपार्क निवासी ५५ वर्षीय मोहमद अनिस कुरेसी, वडा नं. ७, नयाँबस्ती निवासी ५२ वर्षीय भीमसेन विक, वडा नं. ८, दुधेना निवासी ३२ वर्षीय सिमोन सुनार र वडा नं. ९, बेलुवा निवासी ४५ वर्षीय मानबहादुर विक रहेका छन्।>
त्यसैगरी, तुलसीपुर–५, मासु मार्केट निवासी ५० वर्षीय रहिस कुरेसी, वडा नं. ९, बेलुवा निवासी ४० वर्षीय कमल विक र ४९ वर्षीय केशव विक, वडा नं. १५, हरिपौरा निवासी २६ वर्षीय विशाल केसी, वडा नं. १२, जसपुर निवासी ३१ वर्षीय किशोर विक तथा वडा नं. ७, हात्तीखौवा निवासी ४५ वर्षीय धनेश्वर विक पक्राउ परेका छन्।>
यसैगरी, तुलसीपुर–९, बेलुवा निवासी ६३ वर्षीय कुलबहादुर डाँगी र ३३ वर्षीय साहिद राईनी, घोराही उपमहानगरपालिका–८, ढिकपुर निवासी ४५ वर्षीय कान्तप्रसाद गिरी तथा सल्यानको शारदा नगरपालिका–८, रानीकोट निवासी ३१ वर्षीय सुमन बुढाथोकी र कुपिण्डे नगरपालिका–९, जहितेपानी निवासी ४२ वर्षीय वीरबहादुर विष्ट पनि पक्राउ परेका छन्।>
पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यसअघि पनि प्रहरीले घोराहीका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको थियो।>>