मुख्य समाचार
११ वर्षको सेवापछि मोहन रानालाई बहादुरपुर वडा कार्यालयबाट भावुक बिदाइ, स्थानीयवासीले गरे योगदानको स्मरण | तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, पाँच लाख ३० हजारभन्दा बढी नगद बरामद | गायत्रीमन्त्रको अर्थ र अधिकार | नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते | सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घट्यो | लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | तिहारयता सुनचाँदी दुवैको भाउ ओरालो | आगो लगाएर गम्भीर घाइते बनाइएका चौधरीले ज्यान गुमाए | दाङमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ, पाँच लाखभन्दा बढी नगद बरामद | एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते, तीन हजारभन्दा बढी सहभागी हुने |
मुख्य समाचार
११ वर्षको सेवापछि मोहन रानालाई बहादुरपुर वडा कार्यालयबाट भावुक बिदाइ, स्थानीयवासीले गरे योगदानको स्मरण | तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, पाँच लाख ३० हजारभन्दा बढी नगद बरामद | गायत्रीमन्त्रको अर्थ र अधिकार | नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते | सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घट्यो | लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | तिहारयता सुनचाँदी दुवैको भाउ ओरालो | आगो लगाएर गम्भीर घाइते बनाइएका चौधरीले ज्यान गुमाए | दाङमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ, पाँच लाखभन्दा बढी नगद बरामद | एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते, तीन हजारभन्दा बढी सहभागी हुने |

अन्य लेख ३० कार्तिक २०८३, सोमबार

गायत्रीमन्त्रको अर्थ र अधिकार

Rastriyanews

(मननीय कुरा – वैदिक धर्मशास्त्रले उपनयनकर्म गरी द्विज नबनेसम्म वेदाध्ययन गर्ने र गायत्री मन्त्र जप्ने अधिकार कुनै पनि वर्ण वा लिड्डको व्यक्तिलाई दिएको छैन)

सर्वप्रथम गायत्री मन्त्र र यसको अर्थ –

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं, भर्गोदेवस्य धीमहि, धियो यो नः प्रचोदयात् ।

ॐ (परमात्मा), भूः (प्राणस्वरूप, भुवः (दुःखनाशक), स्वः (सुखस्वरूप), तत् (त्यस), सवितुः (तेजस्वी), वरेण्यं (श्रेष्ठ), भर्गः (पापनाशक), देवस्य (दिव्यदेवको), धीमहि (धारण गर्छौँ), धियः (बुद्धि), यः (जुन्), नः (हाम्रो), प्रचोदयात् (प्रेरित गरून्) । अर्थात् त्यस सर्वव्यापी, प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक देवस्वरूपका परमात्मालाई हामीहरूले अंतरात्मामा धारण गरौँ, जसले गर्दा उनले हाम्रो बुद्धिलाई सन्मार्गमा प्रेरित गरिरहून् । 

 (भूः, भुवः र स्वः को अर्थ स्वर्गलोक, पृथ्वीलोक र पाताललोक आदि अर्थ पनि हुन्छ )


गायत्री मन्त्रको उक्त अर्थमा तीनप्रकारका यी तथ्यहरू प्रकट हुन्छन् –

१) ईश्वरीय सर्वव्यापीसत्ताको बोध हुनुको साथै उनका दिव्यगुणहरूको चिन्तनमा वृद्धि हुनु ।

२) ईश्वरलाईआफ्नो अन्तरात्मामा धारण गर्नु ।

३) सद्बुद्धि जागरित गर्नको लागि प्रार्थना गर्नु । 

उक्त तीनै कुराहरू असाधारण महाबली हुन् । 

अर्थात् यस मन्त्रको प्रथम भागमा साधकको मनमा ईश्वरीय दिव्यगुण प्राप्त गर्ने अभिलासा प्रकट भएको छ भने दोस्रो भगमा आफ्नो अन्तरात्मामा परब्रह्मलाई स्थापित गर्ने र तेस्रो भागमा आफ्नो बुद्धिलाई सन्मार्गका लगाउने प्रेरणा जागरित होस् भन्ने कामना राखी प्रर्थना गरिएको छ । गायत्री साधना गर्दा ज्ञान भक्ति र कर्म तीनै योगको उपासना भएको मानिन्छ – जस्तै सद्गुणहरूको चिन्तन ज्ञानयोग हो भने अन्तरात्मामा ब्रह्मलाई धारण गर्नु भक्तियोग हो । तथा बुद्धिलाई सात्विक र अनासक्त गराउनु कर्मयोग हो । यसरी गायत्रीको साँचो मनले उपासना गर्ने हो भने गायत्री मन्त्रबाट सर्वार्थ सिद्धि प्राप्त भइरहेको अनुभूति हुनुको साथै दिन प्रतिदिन आत्मामा आध्यात्मिक दर्शन विकसित हुँदैजान्छ ।  


यस लोकका सम्पूर्ण मन्त्रहरूमा श्रेष्ठ मन्त्र गायत्री मन्त्र हो । यसको साधना गर्ने कर्मलाई निर्विवाद रूपमा परम कल्याणकारी एवं सर्वश्रेष्ठ मानिन्छ । यस्तो महान् मन्त्र साधना गर्ने काममा पनि दुर्भाग्य नै भन्नुपर्छ गायत्रीको जप र गुणगान गर्ने बारेमा समाजमा अनेक भ्रान्तिहरू प्रचलित छन् । कोही मानिस त गायत्री जपको अधिकार केवल ब्राह्मणलाई मात्र छ भन्ने गर्छन् । कोही मानिसले ब्राह्मण क्षेत्री र वैश्यहरू पनि गायत्री जपका अधिकारी हुन् भनेका छन् । वास्तवमा ब्राह्मण, क्षत्री र वैश्यहरूलाई समान अधिकार छ । यसमा तर्क गनुृपर्ने कुनै कुरा छैन किन भने महाभारतमा स्पष्ट उल्लेख भएको छ –

ब्राह्मण: क्षत्रियाः वैश्यास्त्रयोवर्णा द्विजातयः ।

अत्र तेषामधीकारो धर्मेषु द्विपदां वर ।। (म.शा.प.अ.२९६÷२५)

अर्थात् ब्राह्मण, क्षत्री र वैश्य यी तीन वर्णलाई द्विजाति (द्विज) द्विपदीमा श्रेष्ठ भनिन्छ । यिनीहरू द्विजाति भएपनि यी सबैको अधिकार र कर्तव्य भने तोकिए अनुसार पालन गर्नुपर्ने बताएको पनि छ । महाभारतकै कथनअनुसार ब्राह्मणको लागि षट्कर्म बताएको छ – ती हुन् पढ्नु र पढाउनु, यज्ञ गर्नु र गराउनु, दान दिनु र लिनु । क्षत्रीयको लागि पढ्नु र वैवाहिक कर्मपछि राज्यसत्ता सम्हाली देशमा सुशासन कायम गर्नु, सीमा सुरक्षा गर्नु, देश र जनताको सुख र सुरक्षाका लागि आइलागेमा शत्रुहरूसँग युद्ध गरी विजय प्राप्त गर्नको लागि सधैँ तयारी अवस्थामा रहनु । वैश्यका लागि पढ्नु, कृषि उपज र व्यापारमा सक्षम भई सफल र धनी बन्नु जुन धनले राज्यलाई आवश्यक भए राज्यसत्ता जोगाउनको लागि राज्यले प्रयोग गर्न सकोस् । शूद्रहरूका लागि सामान्य पठन पाठनसँगै विभिन्न प्रकारका सीपहरू सिकेर विश्वकर्माद्वारा उत्पादन गरिएका सबै औजारहरू पुनर्निर्माण गरी उचित मूल्य लिएर सबैको काममा सहयोग पुर्‍याउनु । यसप्रकारको जातीय व्यवस्था सत्य, त्रेता र द्वापर युगसम्म राम्रोसँग पालन गरिन्थ्यो र सामाजिक उन्नति पनि राम्रो भएको थियो । 

भगवान् श्रीकृष्णले गीतामा गायत्री र वेदविद्या बारे भन्नुभएको छ  –

सर्वस्यचाहं हृदि सन्निविष्टो मत्तः स्मृतिज्र्ञानमपोहनञ्च । 

वेदैश्च सर्वैरहमेव वेद्यो वेदान्तकृद्वेदविदेहचाहम् ।। (गीता १५÷१५) 

अर्थात् भगवान् कृष्णले भन्नुभएको छ –म सबै प्राणीहरूको हृदयमा निवास गर्दछु । मबाट नै सबैलाई ज्ञान, स्मरण शक्ति र विर्सने कुरा पनि प्राप्त हुन्छ । गायत्रीमन्त्रसहित सम्पूर्ण ज्ञानरूपी वेदपनि म नै हूँ र वेदान्त निर्माण पनि मैले नै गरेको हूँ र ती वेदहरू जान्ने पनि म नै हूँ ।


यसैगरी भगवान्ले श्रीम∫गवद् गीतामा आफ्नो विषयमा भन्नुभएको छ –

मृत्युः सर्वहरश्चाहमु∫वश्च भविष्यताम् ।

कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ।। (गतिा १०÷३४)

अर्थात् श्रीकृष्ण भन्नुहुन्छ – म नै सर्वभक्षी मृत्यु (काल)हूँ र पुनः उत्पन्न गर्ने सृष्टिकर्ता पनि म नै हूँ । नारीहरूमा विद्यमान् असल गुणहरू यश, ऐश्वर्य, लक्ष्मी, वाणी, स्मरणशक्ति, बुद्धि, धैर्य र सहनशीलता पनि म नै हूँ । 

यसरी भगवान्ले घुमाई फिराई स्त्रीजातिको आत्मामा मात्र नभई शरीरमा भएका सबै गुणहरूमा म नै निवास गर्छु  भन्नुभएकोले नारीहरूको सम्मान र पूजा गर्दा श्रीकृष्णकै पूजा र सम्मान हुने कुरा स्पष्ट भएको छ । यसपछि वेदव्यासले नवदूर्गा भगवतीको नाममा देवीभागवत्पुराण उल्लेख गर्नुभयो भने मार्कण्डेय महर्षिले मार्कण्डेय पुराणमा दुर्गाकवच (चण्डी) लेखी नारीको सम्मान गर्नुभएको छ । यस्तै देवीका नामका स्तोत्र र प्रार्थना लेखिएका धेरै पुस्तिकाहरू उपलब्ध छन् । त्यस्तै नाम कीर्तनमा पनि पहिले देवीकै नाम लिएर देवताका नाम लिने चलन चल्यो । जस्तै सीताराम, राधेश्याम, उमामहेश्वर आदि यसैगरी विशेष चाडपर्वहरूमा कन्या पूजासँगै राम्रा कामको साइत गर्दा पनि कन्यालाई टीका लगाइदिने प्रचलन आएको हो र त्यो आज पनि यथावत् नै छ । यसरी हेर्दा नारी जातिलाई वेद पढ्ने र गायत्री जप्ने अधिकार श्रीकृष्णले पहिले नै दिनुभएको थियो । भगवान्को यस विधिलाई तोड्न खोज्नु महामूर्खहरूको सोच मात्र हो ।  


प्राचीन समयमा जन्मेपछि जातकर्मादि र व्रतबन्ध गरिसकेपछि २५ वर्ष उमेर नहुँदासम्म गुरुकुलमा बसी शिक्षा ग्रहण गरी दीक्षित बन्नको लागि ब्राह्मण, क्षत्री र वैश्य तथा तिनीहरूका स्त्री जातिका लागि पनि समान अधिकार थियो भन्ने कुरा यहाँ छोटो रूपमा प्रस्तुत गरिएको छ –

पूरा कल्पे तु नारीणां मौञ्जिबन्धनमीष्यते ।

अध्ययनं च वेदानां सावित्री वचनं तथा ।। (वैदिक उक्ति)

अर्थात् प्राचीन समयमा महिलाहरूलाई पनि व्रतबन्ध गरी गुरुकुलमा राखी २५ वर्ष नहुँदासम्म पढाउने व्यवस्था थियो । दीक्षित भएपछि मात्र गृहस्थाश्रममा प्रवेश गर्नेहुँदा त्यस अवस्थाको सामाजिक व्यवस्था अत्यन्त राम्रो थियो । त्यसैले मानवजीवन पनि सुखमय थियो । त्यस समयमा जस्ले कामगर्छ त्यस्को पूजा गरिने हुँनाले स्त्रीहरूसँगै वेदमा कुम्भकार, लौहकार, ताम्रकार स्वर्णकार आदिलाई पहिले नमस्कार गरी सम्मान गर्ने चलन थियो भन्दै यजुर्वेद अध्याय १६ कण्डिका २७ मा लेखिएको छ  – नमस्तक्षभ्यो रथकारेभ्यश्चवो नमोनमः, कुलालेभ्यः कर्मकारेभ्यश्चवो नमः । जुनसुकै सभास्थलमा जाँदा पनि पहिले मञ्चभन्दा तलबस्ने सबै श्रोतागणलाई नमस्कार गरेर पछिमात्र सभापतिलाई नमस्कार गर्नुपर्छ भन्दै ऐ. ऐ. कण्डिका २४ ले लेखेको छ – नमः सभाभ्यः सभापतिभ्यश्चवो नमः । सम्मान र नमस्कार मात्र होइन विद्वान्हरूले अदुष्ट कर्माणां शूद्राणामपि व्रतबन्धः भन्दै राम्रो कर्म गर्ने शूद्रहरूलाई पनि व्रतबन्ध गराई गुरुकुलीय शिक्षा दिने गर्दथे भनिएको छ । वैदिक नियम अनुसार विधिवत् उपनयन कर्म गरेपछि मानिसलाई द्विज भन्न सकिन्छ । यस कुराले– जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते । भन्ने यस शाश्वत उक्तिलाई स्पष्ट पारेको छ ।  

यस्का धेरै प्रमाणहरू शास्त्रहरूमा पढ्न सकिन्छ । सत्यकाम जाबाललाई कर्मबाटै अज्ञात कुलका भएपनि ब्रह्मविद्याको अधिकारी मानिएको छ । इतरा (चर्मकत्री)का छोरा ऐतरेय, ऐतरेय उपनिषदका स्रष्टा भए । धीवर कन्याका पुत्र महर्षि वेदव्यासले ऋषि परंपरामा शीर्षस्थ स्थान प्राप्त गरे । क्षत्री राजाले गायत्री साधना बाटै ब्रह्मर्षि पद प्राप्त गर्न सफल भए का थिए । अतः भ्रान्त मान्यताहरूलाई छोडेर माता गायत्रीको पयपानको लाभ सबैले लिनुपर्छ र लिने व्यवस्था पनि मिलाउनुपर्छ, भनिएको छ । 

महिलाहरूको अधिकारका सम्बन्धमा पनि यस्तै मान्यता रहेको छ । उनीहरूलाई वेद पढ्ने अधिकार छैन भन्ने गरेकोले गायत्री पढ्न र जप गर्न पनि अथिकार छैन भन्ने गर्छन् । यो पनि अत्यन्त भ्रान्त मान्यता हो । वेद मन्त्रहरूको अवतरण जसबाट भएको छ, त्यसमा ऋषिहरू मात्र नभएर अनेक ऋषिकाहरूको नाम पनि उल्लेख भएको छ । यस कुराका प्रमाणहरू ऋग्वेदका ऋषिकाहरूको सूची वृहद्देवता ग्रन्थको दोस्रो अध्यायमा यसरी लेखिएको छ –

घोषा, गोधा, विश्वधारा, अपालोपनिषन्निषत् ।

ब्रह्मजाया जुहुर्नाम, अगस्त्यस्य स्वसादितिः ।।८४।।

इन्द्राणी चेन्द्रमाता च सरमा, रोमशोर्वशी । 

लोपामुद्राश्च नद्यश्च यमी, नारी च शाश्वती ।।८५।।

श्रीर्लाक्षा, सार्पराज्ञा, वाक्, श्रद्धा, मेधा च दक्षिणा ।

रात्री, सूर्या च सावित्री, ब्रह्मवादिनी ईरतिः ।।८६।।

अर्थात्  घोषा, गोधा, विश्वधारा, अपाला, उपनिषद, निषद्, ब्रह्मजाया (जुहु), अगस्त्यकी बहिनी अदिति, इन्द्रकीआमा इन्द्राणी, सरमा, रोमशा, उर्वशी, लोपामुद्रा र नदी, यमी, शाश्वती, श्रीः, लाक्षा, सर्पराज्ञी, वाक्, श्रद्धा, मेधा, दक्षिणा, रात्री, सूर्या, सावित्री, ईरति आदि सबै ब्रह्मवादिनी हुन् । 

ऋग्वेदका १०–१३४, १०–३९, १०–४०, ८–९१, १०–९५, १०–१०७, १०–१०९, १०–१५४, १०–१५९, १०–१८९, ५–२८ र ८–९ आदि सूक्तहरूका द्रष्टा हुनाले यिनीहरूलाई आदर्श ऋषिकाहरू हुन् भनिएको छ । 


यस्ता अनेक प्रमाणहरू मिल्छन् । जसबाट स्पष्ट हुन्छ कि स्त्रीहरू पनि पुरुष सरह यज्ञ गराउने र गर्ने गर्थे । उनीहरू यज्ञविद्या र ब्रह्मविद्यामा पारंगत थिए । केही नारीहरू त आफ्नो पिता र पतिलाई पनि मार्गदर्शन गर्ने गर्थे । मनुकी छोरी इडाको वर्णन गर्दै तैत्तिरीय उपनिषद् २–१–४ मा उनलाई यज्ञानूकाशिनी भनिएको छ । यज्ञानूकाशिनीको अर्थ सायणाचार्यले यज्ञ तत्त्व प्रकाशन समर्था भनेका छन् । इडाले आफ्ना पितालाई यज्ञ सम्बन्धी सल्लाह दिँदै भनेकी छन् – साद्रब्रवीदिडा मनुम् । तथा वाद्रहं तवाग्निमाधास्यामि । यथा प्रप्रथा पशुभिर्मिथुनैर्जनिष्यये । प्रस्यस्मिलोकेसे स्थास्यसि । अभि सुवर्गलोकं जेष्यसीति । (तैत्तिरीय उ. १÷४÷१÷६)

अर्थात् इडाले मनुलाई भनिन् –तपाईंले जगाएका अग्निको यस्तो आधान गर्नेछु जसबाट तपाईँलाई पशु, भोग, प्रतिष्ठा र स्वर्ग प्राप्त गर्न सजिलो हुनेछ । 


प्राचीन समयमा स्त्रीहरू गृहस्थाश्रम चलाउनेहरू र ब्रह्मपरायणपनि थिए । यी दुवै थरी आआफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक काम गर्नेगर्थे । जस्ले गृहस्थाश्रम सञ्चालन गर्थे उनहिरूलाई सद्योवधू भनिन्थ्यो । जो वेदाध्ययनपछि ब्रह्मोपासनाआदि पारमार्थिक कार्यहरूमा प्रवृत्त हुन्थे तिनीहरूलाई ब्रह्मवादिनी भनिन्थ्यो । ब्रह्मवादिनी र सद्योवधूहरूका कार्यक्रम त अलग अलग थिए तापनि उनीहरूको मौलिक धर्माधिकारमा कुनै अन्तर थिएन हेरौँ –

द्विविधाः स्त्रियःब्रह्मवादिन्यः सद्योवध्वश्च । तत्र  ब्रह्मवादिनीनाम् । अनिन्धनं पनयनं वेदाध्ययनं स्वगृहे भिक्षाचर्येति । सद्योवधूनां तूपस्थिते विवाहे कथञ्चिद्दुपनयनं कृत्वा विवाह कार्यः । (हारित धर्मसूत्र २१÷२०÷२४) 

अर्थात् ब्रह्मवादिनी र सद्योवधू दुवै प्रकारका स्त्रीहरू हुन्छन् । यिनीहरूमा ब्रह्मवादिनीहरू यज्ञोपवीत धारण गर्नु, अग्निहोत्र हवनादि यज्ञकर्म गर्नु, वेदाध्ययन गर्नु र गराउनु तथा स्वगृहमा (अर्थात् आफ्नै कुलवंश घरमा) भिक्षाटन गर्नु आदि । सद्योवधूहरूले पनि यज्ञोपवीत अवश्य धारण गर्नुपर्छ । स्त्रीहरूको यो उपनयनकर्म विवाह कालमै गर्ने पनि गरिन्थ्यो । पाण्डवपत्नी द्रौपदीको विद्वत्ताको वर्णन गर्दै श्रीआचार्य आनन्दतीर्थ (माधवाचार्य) ले भहाभारत निर्णयमा लेखेका छन् – वेदाश्चोयुत्तम स्त्रीभिः कृष्णाद्याभिरिहाखिलः अर्थात् उत्तमस्त्रीहरूले कृष्णा  (द्रौपदी)ले जस्तै वेद पढ्नुपर्छ  ।


ऋग्वेद १÷१÷५ को भाष्य गर्दै महर्षि दयानन्दले लेखेका छन् –याः कन्या यावत् पञ्चविंशति वर्षमायुस्तावद् ब्रह्मचर्येण जितेन्द्रियाः तथा सांगोपांग वेदविद्या अधीयते ताः मनुष्यजाति भूषिका भवन्ति । अर्थात् जो कन्या २५वर्षसम्म ब्रह्मचर्यमा रहेर सांगोपांग वेद विद्या आदि अध्ययन गर्दछन् । तिनीहरूले मनुष्य जाति र समाजलाई सुशोभित गराउँछन् । स्त्रीहरू यज्ञमा ब्रह्मा (वाचिका)बनेका र उपाध्याय एवं आचार्य बनेका प्रमाणहरू प्रसस्त छन् । ऋग्वेदमा नारीहरूलाई सम्बोधन गर्दै भनिएको छ कि तिमीहरूले उत्तम आचरण गरेर ब्रह्मपद प्राप्त गर – 

अधः पश्यस्व मोपरि सन्तरां पादकौ हर ।

मा ते कश प्लकौदृशन् स्त्री हि ब्रह्मा विभूविथ ।। (ऋग्वेद ८÷३३÷१९)

अर्थात् हे नारि ¤ तिमी जमिनतर्फ हेरेर हिँड । व्यर्थै यता उताका वस्तु र व्यक्तिहरूलाई हेर्दै नहेरेर हिँड । आफ्ना पाइलाहरू सावधानी तथा सभ्यतापूर्वक चाल्ने गर । बस्त्रहरू सधैँ लज्जास्पद अंगहरू ढाक्ने गरी लगाऊ । यसप्रकार राम्रो आचरण गर्दै गएमा तिमीहरूले निश्चय नै ब्रह्मपद प्रात गर्न गक्नेछौ ।  


अव यहाँ विचार गरौँ कि ब्रह्मपद कति उच्च छ र कुन प्रकारका मानिसले त्यो पद प्राप्त गर्न सक्छन् –

ब्रह्मा वा ऋत्विजाम्भिषक्तमः । (शतपथ ब्राह्मण १÷७४÷१९)

अर्थात् ब्रह्मले नै सबै ऋत्विजहरूको त्रुटिहरू हटाउन सक्ने हुनाले ती पुरोहितहरू भन्दा ब्रह्म उत्तम मानिन्छन् । 

तस्माद्यो ब्रह्मिष्ठः तस्यात् तं ब्रह्माणं च कुर्वित । (गोपथ ब्रा.उत्तराद्र्ध १÷३)

अर्थात् जुन मानिस सबैभन्दा अधिक ब्रह्मनिष्ठ (परमेश्वर तथा वेदको ज्ञाता) छ उसलाई ब्रह्मा (आचार्य) बनाउनुपर्छ । यसरी स्पष्ट हुन्छ कि महिलाहरूलाई पनि पुरुषहरू समान वेद, यज्ञ र गायत्रीको अधिकार थियो र छ भनिएको छ । 


यहाँ एउटा प्रसंग उल्लेख गरिन्छ – 

वाराणसेय हिन्दू विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको स्त्रीजातिप्रतिको सम्मानजनक निर्णय पढ्ने लायक भएको हुनाले यहाँ त्यो प्रसंग उल्लेख गरिएको छ – यस कलियुगमा काशीनिवासी नेपाली र हिन्दुस्थानी विद्वान्हरू भेला भएर काशीमै जुन् समयमा स्त्रीशिक्षा बारेमा वाद विवाद गरिरहेका थिए । त्यसै समयमा त्यस विश्वविद्यालयमा काशीकी एकजना कुमारी कल्याणी नामक छात्रा वैदिक कक्षामा प्रवेश गर्न चाहन्थिन् । परन्तु यस युगको प्रचलित मानन्यताका आधारमा उनलाई त्यस कक्षामा भरणा लिन मानिएन । शिक्षाधिकारीहरूले महिलालाई वेद पढ्ने अधिकार दिइएको छैन भने ।


यस बारेमा अनेकप्रकारका  पत्र पत्रिकाले पनि अधिकार र अनधिकारका बारेमा धेरै कुरा लेखे । थुप्रै विद्वान्हरूले विश्व विद्यालयमा आएर छलफल पनि गरे । भारतवर्षभर नै यस कुराले चर्चा पायो । अन्तमा विश्व विद्यालयका संस्थापक महामना मदनमोहन मालवीयको अध्यक्षतामा यस विषयमा अन्तिम निर्णको लागि एक कमिटी गठन गरियो, जुन कमिटिमा थुपै विद्वान्हरूलाई नियुक्त गरिएको थियो । यस समितिले वेदादि अनेक ग्रन्थहरू अध्ययन गरेर स्त्रीहरूलाई पनि पुरुष समान वेदाध्ययन गर्न पाउने अधिकार भएको निष्कर्ष निकालेको थियो । यो निर्णयको घोषणा २२ अगस्त १९४६मा सनातन धर्मका प्राण मानिने महामना मालवीयले नै गरेका थिए । तदनुसार कुमारी कल्याणी देवीलाई वैदिक कक्षामा भरणा गरीयो । यसरी महिला र पुरुष दुवैलाई वेद पढ्ने र यज्ञ गर्ने गराउनेमा समान अधिकार भएको पुनः घोषणा गरियो । मालवीय समेतका विद्वान्हरूलाई कसैले सनातन धर्म विरोधी भनेर शंका गर्न पनि सक्दैनन् । यसपछि पनि गायत्रीमा स्त्रीहरूको अधिकार छैन भनेर कसैले विवाद गर्दछ भने त्यसको लागि त कुनै औषधि बनेको छैन । 


जहाँतक महिलाहरू रजोवती भएको अवस्थामा ब्रह्मसूत्रलाई कसरी पवित्र राख्न सकिन्छ भन्ने सवाल उठ्नु स्वाभाविक कुरा हो । शास्त्र के भन्छ भने – रजोवती हुनु भन्दा पहिले नै ब्रह्मसूत्र राख्न निर्धारण गरिएको पवित्र स्थान (वट्टा)मा राखी चार रात्री वितेपछि जौतिलानी छर्की १० पटकसम्म गायत्री मन्त्र जपी ब्रह्मसूत्र पूजेर लगाउने गर्नुपर्छ । सकेसम्म त नयाँ ब्रह्मसूत्र लगउँदा नै उत्तम हुन्छ । अघि पुरुषले पनि तीन सरा ब्रह्मसूत्र लगाउने गर्थे, विवाह गरेपछि स्त्री (श्रीमति) पुरुषको अर्धाङ्गिनी हुने प्रमाण भएकोले श्रीमतिलाई रजोवती हुँदा ब्रह्मसूत्र भुलवश पनि स्पर्श गरेको दोष नलागोस भनेर श्रीमतिको अर्धा∙ मानिने श्रीमान्ले नै उनको तीनसरा पनि थपेर ६सरा ब्रह्मसूत्र धारण गर्न थालेको हो भन्ने कुरा छ । असल श्रीमान्ले श्रीमतिको लागि गरिएको यो कुरा व्यवहारिक मानिन्छ तापनि वृद्धावस्था भएर रजोवती हुने क्रम बन्द भएपछि पुनः ब्रह्मसूत्र धारण गरेर शालग्राम पूजा समेत गर्न हुन्छ । अर्थात् द्विज बनेका पुरुष वा स्त्री सबैलाई भगवान्को पूजा गर्ने अधिकार हुन्छ ।   


मानिसले अन्तरात्माद्वारा नै गायत्री साधना तथा ईश्वर पूजा गर्ने हो । अन्तरात्मा विशुद्ध ब्रह्मज्योति हो । त्यो न पुरुष हो न स्त्री हो । यस कुरालाई राम्रोसँग मनन गरेर स्त्री पुरुष दुवैलाई गायत्री साधनामा समान अधिकार भएको सम्झनुपर्छ । अन्तरात्मालाई विकशित हुन पथप्रदर्शकको आवश्यकता हुन्छ । त्यस्को व्यवस्था गर्न पनि पछि पर्नुहुँदैन । आत्मा नै साधक भएकोले आत्मालाई स्त्री वा पुरुष सम्झेर व्यवहार गर्नु वा भेद गर्नु लज्जास्पद कुरामात्र हो । दुष्टमतिको पराकाष्टा हो । अतः वेदाध्ययन र गायत्री साधनामा स्त्री र पुरुषसहित सम्पूर्ण द्विजातिहरूको समान अधिकार भएकोले कसैले कसैलाई बञ्चित गर्ने कुरा गर्नु सामाजिक अपराध नै हुनजान्छ, अस्तु । 

लेखक

पं. वेदप्रसाद पन्थ

संस्थापक अध्यक्ष 

विश्व विराट ज्ञान आश्रम

नयाँवानेश्वर काठमाण्डौ 



प्रतिक्रिया

सम्बन्धित समाचार