बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।>
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो। किशोरी बेपत्ता भएपछि अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा शव फेला पारेका थिए।>
चितुवाको आक्रमणबाट किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ।>
राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट मानवीय क्षति भएको यो दोस्रो घटना हो। यसअघि गत असोज २२ गते चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो।>
उक्त चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर (केज) राखेर एक सातापछि नियन्त्रणमा लिएको थियो।>>