पाल्पा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पाल्पा प्रतिनिधि सभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र (क) र (ख) को संयुक्त क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहले पार्टी भनेको केवल संगठन मात्र नभई मनहरूको मिलन भएको बताउनुभयो। नेता सिंहले भन्नुभयो, "पार्टीभित्र सबैका मनहरू जोडिनुपर्छ। अहिलेसम्म अवसर नपाएका साथीहरूले अब अवसर पाउनुपर्छ र सबैको भावनालाई समेटेर पार्टी अगाडि बढ्नुपर्छ।">
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसले इतिहासदेखि नै विभिन्न विपद् र संकटहरूको बहादुरीपूर्वक सामना गर्दै आएको स्मरण गराउनुभयो। उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम गर्न र देशलाई सही दिशा दिन अहिले पनि कांग्रेसकै अपरिहार्य आवश्यकता रहेको औंल्याउनुभयो।>
त्यसैगरी, लुम्बिनी प्रदेश सभा सदस्य एवं पाल्पाका पूर्व जिल्ला सभापति वीर बहादुर रानाले अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै अधिवेशनलाई पद प्राप्तिको माध्यम मात्र बनाउन नहुनेमा जोड दिनुभयो। "अधिवेशन केवल एउटा नेता र नेतृत्व चुन्नका लागि मात्र होइन," सांसद रानाले भन्नुभयो, "यसलाई हामीले संकल्प गर्ने दिन र पार्टी एकताको बलियो उत्सवका रूपमा लिनुपर्छ।">
अधिवेशनमा पाल्पा क्षेत्र नं. २ का क्षेत्रीय सभापति मुक्तिराम जिसीले क्षेत्रको सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो। कार्यक्रम पाल्पा क्षेत्र नं. २ का उपसभापति लक्ष्मी अधिकारीले स्वागत मन्तव्यसहित उपस्थित सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण आलेले गर्नुभएको थियो।>
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र नं. १ र २ को आयोजनामा सम्पन्न उक्त अधिवेशनले कांग्रेसभित्र नयाँ ऊर्जा र एकताको सन्देश प्रवाह गरेको नेताहरूले दाबी गरेका छन्।>>