पाल्पा । राजनीतिमा आन्दोलनको रापतापबाट उदाएका अनुहारहरू अक्सर सिधै माथिल्लो ओहोदा र पदको आकाङ्क्षा राख्छन्। तर, पाल्पामा जेनजी आन्दोलनको नेतृत्व सम्हालेर चर्चामा आएका युवा उमेश भण्डारीले भने एउटा भिन्न र परिपक्व बाटो रोज्नुभएको छ। आन्दोलनका क्रममा युवाहरूलाई अग्रपंक्तिमा रहेर कमाण्ड गरेका भण्डारीले पार्टीको सबैभन्दा तल्लो र जग मानिने वडा तहको नेतृत्व रोज्दै भुइँतह बाट आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक राजनीतिक यात्राको सुरुवात गर्नुभएको हो।>
शनिबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनबाट भण्डारी तानसेन नगरपालिका वडा नं. ६ को वडा सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। आन्दोलनको मैदानमा सशक्त भूमिका निर्वाह गरेका भण्डारी वडा तहको राजनीतिमा केन्द्रित हुनुलाई धेरैले चासो र रोचकताका साथ हेरेका छन्।>
जेनजी आन्दोलनपछि रास्वपा देशकै एउटा ठूलो शक्तिका रूपमा उदाए पनि पार्टीभित्र एउटा फरक दृश्य देखिन थालेको छ। अन्य दलमा विभिन्न लाभका पद भोगिसकेका नवप्रवेशीहरू रास्वपा प्रवेशलगत्तै जिल्ला, प्रदेश, केन्द्र र पालिकाको माथिल्लो नेतृत्वमा हावी हुन थालेका छन्। यसले गर्दा आन्दोलनको जग बसाल्ने र भुइँतहमा योगदान दिने इमानदार कार्यकर्ताहरू पछि परेको भन्दै तीव्र गुनासो बढिरहेका बेला, उमेशले भने पदको लोभभन्दा जनताको सुख(दुःखमा जोडिन वडा तहकै राजनीति रोज्नुभएको हो। आन्दोलनको मैदानबाट खारिएर भुइँतहबाटै राजनीतिको जग बसाल्न सुरु गरेका भण्डारीको यो यात्राले तानसेनमा पार्टीलाई कसरी अगाडि बढाउँछ र उनको भोलिको राजनीतिक उचाइ कसरी तय गर्छ, त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ।>>