मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी

Rastriyanews

बाँके। मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा पसेका नेपालगञ्जका दुई युवा नदीमा बगेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन्। घुम्नका लागि सुर्खेत पुगेका उनीहरू भेरी नदीको पुलनजिक मोबाइलबाट भिडियो बनाउने क्रममा नदीमा पसेपछि बगेको आफन्तले बताएका छन्।

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगञ्ज फर्किने क्रममा मङ्गलबार बिहान उनीहरू भेरी नदीको पुलनजिक पुगेका थिए। मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र तीव्र बहावले बगाएको उहाँले बताउनुभयो।

मोबाइल स्ट्यान्डमा रहेको भिडियोमा दुवै जना नदीमा बगेको दृश्य देखिएको तथा उनीहरूले प्रयोग गरेको मोटरसाइकल र लुगा नदी किनारमा भेटिएको जयसवालले जानकारी दिनुभयो।

बेपत्ता युवाका आफन्तले खोजी कार्य प्रभावकारी नभएको गुनासो गर्दै तत्काल गोताखोर टोली परिचालन गर्न माग गरेका छन्। जयसवालले स्थानीय प्रहरी र प्रशासनसँग खोजीका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो।

त्यस्तै, आमिरका आफन्त सराफत शाहले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारे पनि त्यसपछि प्रभावकारी खोजी कार्य नभएको बताउँदै तत्काल खोजी गर्न आग्रह गर्नुभएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले गोताखोर परिचालनका लागि निर्णय हुनुपर्ने र निर्णयपछि मात्रै टोली परिचालन गर्न सकिने जवाफ दिएको बेपत्ता युवाका आफन्तको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले घटना भएको पुष्टि गर्दै खोजीका लागि पीडित परिवारबाट निवेदन प्राप्त भएको बताउनुभयो। गोताखोर टोली परिचालन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार