भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या गरी उनले कानमा लगाएको सुन लुटपाट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।>
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धानखेतमा ४९ वर्षीया जुबैदा खातुन धोबिनीको हत्या भएको थियो। उनी कोटहीमाई गाउँपालिका–७, छोटी मझगावाँ निवासी हुन्।>
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको हत्या गर्नुका साथै कानमा लगाएको सुनको गहना लुटेर फरार भएका थिए।>
घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले शंकास्पद चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६, खजनी चोक निवासी ४० वर्षीय बैजनाथ यादव, सोही वडाको बोगडी निवासी २६ वर्षीय मन्जे हरिजन, खजनी चोक निवासी ३० वर्षीय प्रमोदकुमार कुर्मी र मर्चवारी निवासी ३५ वर्षीय धर्मराज यादव रहेका छन्।>
प्रहरीले पक्राउ परेका चारै जनालाई रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीलाई म्याद थप गरी अनुमति दिएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो।>
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।>>