पाल्पा। रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा सञ्चालित १५ दिने नौमती बाजा बजाउने तालिम सम्पन्न भएको छ।>
प्रस्तावित सत्यवती सामुदायिक होमस्टेको प्रवर्द्धन तथा विकास, स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थानीय रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत असोज १ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन गरिएको हो।>
तालिमले स्थानीय युवायुवती तथा समुदायका सदस्यको सीप र क्षमता अभिवृद्धि गर्नुका साथै परम्परागत नौमती बाजाको संरक्षण, पुस्तान्तरण र व्यावसायिक उपयोगमा योगदान पुग्ने अपेक्षा गरिएको छ।>
नौमती बाजालाई सामुदायिक होमस्टेको सांस्कृतिक पहिचानका रूपमा विकास गरी पर्यटकलाई स्थानीय मौलिक कला, संस्कृति र परम्परासँग परिचित गराउने लक्ष्य राखिएको छ।>
कार्यक्रमबाट सामुदायिक होमस्टेको आकर्षण र पहिचान बढ्नुका साथै स्थानीय पर्यटन विकास, रोजगारी सिर्जना, आयआर्जनका अवसर विस्तार तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।>
दीर्घकालीन रूपमा यस पहलले सत्यवती क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावनाको ढोका खोल्दै स्थानीय पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।>>