अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ।>
जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले विकासका कामको मूल्याङ्कन परिणामका आधारमा गर्नुपर्ने बताउनुभयो। जनताले विकास योजनाको प्रतिफल खोज्न थालेकाले सरकारका कामको प्रभाव देखिनुपर्ने उहाँको भनाइ थियो।>
उहाँले विकासका काममा जनताले परिणाम खोजेको उल्लेख गर्दै कुराले मात्र विकास नहुने भएकाले त्यसका लागि काम गर्नुपर्ने बताउनुभयो।>
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। सङ्घीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभावलगायत कारणले अलपत्र अवस्थामा रहेकाले तिनलाई अघि बढाउन सङ्घीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको उहाँले जानकारी दिनुभयो।>
सङ्घीय सरकारका ससर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका विभिन्न जिल्लामा विकास निर्माण प्रभावित भएको उहाँको भनाइ थियो। अर्घाखाँचीमा मात्रै सङ्घीय सरकारका २७ वटा ससर्त आयोजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विनियोजित बजेट र आयोजनाको कार्यान्वयन अवस्थाको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो।>
उहाँले विकास आयोजनाको मूल्याङ्कन राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा नभई आवश्यकता र प्राप्त परिणामका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो। राम्रो काम गर्ने कार्यालय र कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले विकास निर्माणका विषयमा हुने गलत प्रचार अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो।>
मुख्यमन्त्री आचार्यले वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश तथा स्थानीय तहको विकास र राजस्व सङ्कलनमा समेत असर परेको बताउनुभयो। वन तथा नदीजन्य पदार्थबाट अपेक्षाअनुसार राजस्व सङ्कलन हुन नसकेको उल्लेख गर्दै उहाँले कानुनी तथा नीतिगत सुधारका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिनुभयो।>
उहाँले लुम्बिनी प्रदेशमा पछिल्लो समय पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ र सडकका क्षेत्रमा उल्लेख्य काम भएको दाबी गर्नुभयो। अर्घाखाँचीमा पक्की तथा झोलुङ्गे पुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयका भौतिक संरचनामा सुधार तथा आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको उहाँले बताउनुभयो।>
विकासको वर्तमान अवस्था मूल्याङ्कन गर्दा विगतको अवस्थासँग तुलना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले २०७४ सालअघिको अवस्था र त्यसयता भएका विकासलाई हेर्नुपर्ने उल्लेख गर्नुभयो। अर्घाखाँचीमा पूर्वाधार तथा सेवा विस्तारमा परिवर्तन आएको उहाँको भनाइ थियो।>
>
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो।>>