पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ स्थित वडा कार्यालयको आयोजनामा सञ्चालित साविक वडा तथा टोलस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कात्तिक १९ गतेदेखि सुरु भएको प्रतियोगिता २१ गते सम्पन्न भएको हो। वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता प्रकाश रायमाझीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो।>
समापन कार्यक्रममा प्रमुख अतिथि कार्कीले विजेता खेलाडी तथा समूहलाई बधाई दिँदै भलिबल खेललाई निरन्तरता दिन युवाहरूलाई आग्रह गर्नुभयो। सामाजिक व्यक्तित्व विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले राष्ट्रियस्तरमै भलिबल खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।>
त्यस्तै, वडा अध्यक्ष रायमाझीले खेलमा हारजित स्वाभाविक प्रक्रिया भएको बताउँदै आगामी दिनमा अनुशासित र मर्यादित खेलाडीको परिचय दिन युवाहरूलाई आग्रह गर्नुभयो। वडा सदस्य भरतबहादुर जिसीले गाउँपालिका तथा जिल्लास्तरका प्रतियोगितामा समेत रिब्दिकोटका युवाहरूको सहभागिता बढाउन खेललाई निरन्तरता दिनुपर्ने बताउनुभयो।>
कार्यक्रममा विगत २०५३ सालदेखि भलिबल खेलमा सक्रिय रहँदै २०५६ सालमा क्षेत्रीय विजेता तथा २०६४ सालमा जिल्लास्तरीय खेलाडी बन्नुभएका बुद्धवल खाम्चाले विगतको तुलनामा खेलकुद क्षेत्रमा उल्लेख्य विकास भएको बताउनुभयो। खेलाडीलाई प्रोत्साहन गर्दै स्वास्थ्य र खेलकुदको विकासका लागि आफू निरन्तर सक्रिय रहेको उहाँको भनाइ थियो।>
महिला खेलाडी सुस्मा खाम्चाले प्रतियोगिताले खेलाडीमा उत्साह थपेको बताउँदै आगामी दिनमा पुरस्कारको राशि परिमार्जन गर्न आयोजकलाई सुझाव दिनुभयो। बहर्गा युथ क्लबका भलिबल प्रशिक्षक विक्रम पचभैयाले १५ वर्षपछि वडा कप प्रतियोगितामा आफ्नो क्लबले ऐतिहासिक जित हासिल गर्दा खुसी लागेको बताउनुभयो। उहाँले प्रतिभावान् खेलाडी वैदेशिक रोजगारीमा पलायन हुनुपर्ने बाध्यताप्रति राज्यको ध्यानाकर्षणसमेत गराउनुभयो।>
पुरुषतर्फ बहर्गा युथ क्लबलाई उपाधि
प्रतियोगितामा १९ समूहको सहभागिता रहेको थियो। पुरुषतर्फ चण्डेश्वरी युथ क्लबलाई पराजित गर्दै बहर्गा युथ क्लबले प्रथम स्थान हासिल गरेको छ। यससँगै विगत १५ वर्षदेखि निरन्तर आफ्नो वर्चस्व कायम गर्दै आएको चण्डेश्वरी युथ क्लब यसपटक दोस्रो स्थानमा सीमित भएको छ।>
त्यस्तै, वाङसुरुङ युथ क्लबलाई पराजित गर्दै सनराइज युवा क्लब, देउरालीले तेस्रो स्थान हासिल गरेको छ। व्यक्तिगत विधातर्फ उत्कृष्ट डिफेन्डर अजय ठडराई, उत्कृष्ट स्पाइकर कृष्ण विक र उत्कृष्ट उदयमान खेलाडी धन राना घोषित हुनुभएको छ। तीनै जना सनराइज युवा क्लबका खेलाडी हुनुहुन्छ।>
त्यसैगरी, उत्कृष्ट सर्भरको पुरस्कार चण्डेश्वरी युथ क्लबका सुमन खाम्चा र उत्कृष्ट ब्लकरको पुरस्कार विक्रम गाहाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट खेलाडीको पुरस्कार जनक राना र उत्कृष्ट सेटरको पुरस्कार अनिल ठडराईले प्राप्त गर्नुभएको छ। दुवै जना बहर्गा युथ क्लबका खेलाडी हुनुहुन्छ।>
महिलातर्फ चण्डेश्वरी महिला समूह बेसराभन्ज्याङ प्रथम
महिलातर्फ चण्डेश्वरी महिला समूह, बेसराभन्ज्याङले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै, वाङसुरुङ महिला समूह दोस्रो र उज्ज्वल डाँडा महिला समूह तेस्रो भएका छन्।>
पुरस्कार राशि
पुरुषतर्फ प्रथम हुने बहर्गा युथ क्लबले नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो हुने चण्डेश्वरी युथ क्लबले १५ हजार रुपैयाँ तथा तेस्रो हुने सनराइज युवा क्लब, देउरालीले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।>
त्यसैगरी, महिलातर्फ प्रथम हुने चण्डेश्वरी महिला समूह, बेसराभन्ज्याङले १० हजार रुपैयाँ, दोस्रो हुने वाङसुरुङ महिला समूहले ७ हजार रुपैयाँ र तेस्रो हुने उज्ज्वल डाँडा महिला समूहले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।>
प्रतियोगिताको समापन कार्यक्रममा वडा सदस्य भरतबहादुर जिसी, लेखा शाखा प्रमुख सूर्य थापा, गाउँपालिका युवा तथा खेलकुद संयोजक दीपक थापा (झपेन्द्र), शिक्षक ढालबहादुर उचै, खेल व्यवस्थापन संयोजक दीपक पाण्डेलगायतको उपस्थिति रहेको थियो।>
प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद प्रतिभाको पहिचान, खेलाडीबीच आपसी सद्भाव र भलिबल खेलप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।>>