पाल्पा, मङ्सिर ४ गते । आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । यस एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ ।>
आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा–आराधना गर्छन् । हरिबोधिनी एकादशीका दिन तुलसीको भगवान् विष्णुसँग विवाह गराई विशेष रूपमा मनाउने परम्परा छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् ।>
हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोप्ने गरिन्छ । त्यही तुलसी रोपिएको मठलाई गाईको गोबर र रातो माटोले पोतेर सिँगार्ने तथा फूलमालाले सजाएर हरिबोधिनी एकादशीका दिन विवाह महोत्सव गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवीदेवता तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।>
आदिकालदेखि पूजाको परम्परा रहँदै आएको तुलसीको महिमा वैज्ञानिक दृष्टिले पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ भएको घरलाई तीर्थसमान मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।>
यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँको शेषनारायण र इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरे पाप पखालिई पुण्य प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।>
>
यसै अवसरमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानीलकण्ठ नारायणको दर्शन गर्न पनि भक्तजनको घुइँचो लाग्ने गर्छ । त्यहाँ दर्शन गरे चार नारायणकै दर्शन गरेको फल प्राप्त हुने धार्मिक विश्वास छ ।>>