बासुदेव ढकाल
(रामपुर पाल्पा–असार ३)। रामपुर नगरपालिका वडा नं.६ का अगुवा कृषकहरुलाई कृषि सामाग्री ठेला गाडा वितरण भएको छ । रामपुर नगरपालिकाबाट वडा नं.६ मा स्विकृत कृषि प्रबर्धन तथा कृषक सम्मान कार्यक्रम अन्तर्गत कृषकलाई दैनिक उपयोगी सामाग्रीको रुपमा ठेला गाडा वितरण गरेको हो ।
कृषकलाई ठेलागाडा वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सानातिना अनुदानका कार्यक्रम भन्दा अव विउ विजन उत्पादन र स्वरोजगार सिर्जना गर्ने खालका कार्यकमलाई अगाडी वढाउन नगर पालिकाको सोच रहेको बताउदै एक वडा एक उत्पादनमा नगरपालिकाले दिने व्याज अनुदान कार्यक्रमा सहभागी हुन कृषकलाई आग्रह गर्नु भएको छ ।
विजयपुर कृषि सहकारी संस्था लि रामपुरको समन्वयमा सस्थाको कार्यालय विजयपुरमा भएको कार्यक्रममा वडाका ७० जना अगुवा कृषकहरुलाई कृषि उद्पादन मल, विउ, दान, घास, पराल ओसार पसार गर्न सजिलो हुने कृषि औजारको रुपमा ठेलागाडा वितरण भएको हो । कार्यक्रममा विजयपुर कृषि सहकारी सस्थाका अध्यक्ष सूर्य प्रसाद रेग्मीले वडा कार्यालयले सहकारी संग समन्वय गरेर कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै विउ आलु पकेट क्षेत्रका रुपमा काम गर्न सहकारी नगरपालिकासंग सहकार्य गर्न तयार छ भन्नु भयो ।
रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम स्वागत वडा सदस्य शारदा आचार्य र संचालन वडा सचिव महेश प्रसाद भट्टराईले गर्नु भएको थियो ।













