पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ जेष्ठ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरेका छन । अहिलेसम्म धन्नै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले दिएको जानकारी अनुशार अहिले सम्म सबै तिरको रकम ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ ।
महाराजका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ ।
कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए । उनले कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने जानकारी गराएका छन । उनले कोटिहोममा जग्गा दान गर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए । भोली नै स्याङ्जाबाट करिब ३ रोपनी जग्गा दान गर्ने जानकारी प्राप्त भएको उनले जानकारी दिए । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए । यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भईसकेको छ ।
पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।
पोखरा पछि कहाँ कहाँ हुदैछ कोटिहोम
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन् । काठमाण्डौ पछि पोखरामा भएको कोटिहोम देशभरका सातै प्रदेशमा गरिने उनले जानकारी दिए । उनका अनुसार २०८२ मङ्सिरमा कोसी प्रदेशमा ऐतिहासिक श्री कोसी कोटिहोम विराट ज्ञान महायज्ञमा, २०८२ फागुनमा २ नं प्रदेशमा श्री मिथिला कोटिहोम विराट ज्ञान महायज्ञ हुदैछ ।
त्यसै गरी २०८३ को वैशाखमा लुम्बिनी प्रदेशमा ऐतिहासिक श्री लुम्बिनी कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ मङ्सिरमा सुदूर पश्चिममा प्रदेशमा ऐतिहासिक श्री गोदावरी वैद्यनाथ कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ फागुनमा कर्णाली प्रदेशमा श्री कर्णाली कोटिहोम विराट ज्ञान महायज्ञ, २०८४ को वैशाखमा पोखरामा अति रुद्र विश्व कल्याण विराट ज्ञान महायज्ञ हुने भएको छ ।
यी सबै महायज्ञ पश्चात् २०८४ साउन र भदौमा काठमाण्डौमा विशाल १ हजार ८ कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको उनले जानकारी दिए । त्यस्तै २०८४ को माघ महिना चितवनमा कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको छ । त्यसै गरी ७७ जिल्लाका पवित्र तीर्थ स्थल, मन्दिर परिसर, आध्यात्मिक ऊर्जा सम्पन्न स्थलहरूमा १ सय ८ भागवत महापुराणको सङ्कल्प अनुरूप केही समय भित्र भागवत सप्ताह हवन रुद्राभिषेक यज्ञ शाल निर्माण र महायज्ञलगायतका कार्यक्रमहरू क्रमशः सञ्चालन गरिने भएको छ ।
कोटिहोमाको उत्तरार्ध तर्फ आउँदै गर्दा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्ने भक्तजनको सङ्ख्या बढ्दै गएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
मानव सेवा फाउन्डेसनको आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभाव बन्न १ लाख, शिलालेखमा नाम लेखाउनका लागि ५० हजार र आजीवन सदस्य बन्नका लागि २५ हजार सहयोग गर्ने व्यवस्था रहेको छ ।आज चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहेको थियो । विश्व वातवरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम पनि सञ्चालन भएको छ । भोलि नै काठमाण्डौबाट ३० जना कवि आउने छन् भने चित्रकारहरू पनि सहभागी भएर विभिन्न खालका चित्र कोर्ने आयोजकले जनाएको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।












