राष्ट्रिय न्युज । गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ बिदाई गरिएको छ ।
कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले मायाको चिनोसहित बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए ।
उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए ।
सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भएको बताए ।
‘देवी प्रतिभाले भारतमा कैयौँ कार्यक्रम छाडेर, ४५ घण्टा भन्दा लामो यात्रा गरेर पोखरा आउनु भयो, यो जत्तिको महत्वपूर्ण अन्य केही हुन सक्दैन’, महाराजले भने, ‘देवी प्रतिभा र राधिका दासी मेरा दुई नयन हुनुहुन्छ ।’
उनले भावकु हुँदै थपे, ‘बिदाई शब्द सुन्नै चाहन्न तर बाध्यताले नै बिदाईका लागि म मञ्चमा उभिइरहेको छु, मेरा गोडा लगलग कापिरहेका छन् ।’ महाराजजीले यसो भनिरहँदा देवी प्रतिभाका आँखाबाट बर्बर्ती आँसु खसिरहेका थिए ।












