राष्ट्रिय न्युज -पाल्पा आख्यानकार पुष्कर अथक रेग्मीद्वारा लिखित तथा समाजसेवी गोपाल पौडेलद्वारा प्रकाशित ऐतिहासिक उपन्यास ‘अमरामृत’ को पाल्पाको तानसेनमा लोकार्पण गरिएको छ।
पाल्पा साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रम समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा खड्गशम्सेरका पनाती तथा खड्गशम्सेर फाउन्डेसन, काठमाडौंका अध्यक्ष डा. अजयशम्सेर जबरा सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा खड्गशम्सेरका पनातीहरू मधुकरशम्सेर जबरा, जर्नेल जसवन्तशम्सेर जबरा तथा पनातीनी बुहारी सुधाकुमारी राणाको उपस्थिति रहेको थियो।
नेपालको इतिहासका प्रभावशाली पात्र तथा रानीमहलका निर्माता खड्गशम्सेर जबराको जीवनवृत्तमा आधारित यस उपन्यासको लोकार्पण गर्दै प्रमुख अतिथि डा. अजयशम्सेर जबराले उपन्यासले आफूहरूलाई पाल्पासँग अझ नजिकबाट जोडेको बताउनुभयो। उहाँले भन्नुभयो,
“यो उपन्यासले रानीमहल र पाल्पाको ऐतिहासिक महत्वलाई उजागर गरेको छ। रानीमहलमा पर्यटन प्रवर्द्धनका लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यसहित हामी यहाँ आएका हौँ। यस्तो ऐतिहासिक अवसर जुराइदिनु हुने लेखक तथा आयोजक संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै रानीमहल र उपन्यासको प्रचार–प्रसारमा पनि हामीले पहल गर्नेछौं।”
कृतिमाथि त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाकी उप–प्राध्यापक अर्चना शाक्य र सिद्धहस्त लेखक भागवत खनालले गहन समीक्षा प्रस्तुत गर्नुभएको थियो। उपन्यासमा छब्बीस परिच्छेदमार्फत तात्कालीन इतिहास र खड्गशम्सेरको जीवनयात्रालाई उपन्यासात्मक शैलीमा प्रस्तुत गरिएको समीक्षकहरूको भनाइ थियो।
कार्यक्रममा सीताराम घिमिरे, रामजी ढुङ्गाना, मुक्ति न्यौपाने, पदम न्यौपाने र मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य सल्लाहकार चित्रवलीराम सुवालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कृतिकार पुष्कर अथक रेग्मीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पाल्पा साहित्य समाजकी सचिव सबिता भट्टराईले गर्नुभएको थियो।













