मुख्य समाचार
दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | बडादशैँ र यसको महत्त्व | पाल्पाका सम्पदा | महाअष्टमीमा माता महागौरीको पूजाआराधना गरिँदै | बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल |
मुख्य समाचार
दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | बडादशैँ र यसको महत्त्व | पाल्पाका सम्पदा | महाअष्टमीमा माता महागौरीको पूजाआराधना गरिँदै | बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल |

अन्य लेख ३ कार्तिक २०८३, सोमबार

बडादशैँ र यसको महत्त्व

Rastriyanews

ठुला साना सबैलाई दशैँ अत्यन्त राम्रो छ ।

चलेका चाडमा ज्यादा यही उत्कृष्ट हाम्रो छ ।।

....................................................

जता जाऊँ उतै भन्छन् दशैँ आयो दशैँ आयो ।

यही आनन्द चर्चाले सबै सङ्कट बिर्सायो ।।

– कवि शिरोमणि लेखनाथ पौड्याल

बडादशैँलाई विजयादशमी, दशैँ वा टीका भन्ने शब्दबाट पनि चिन्ने गरिन्छ । दशैँ संस्कृत भाषाको ‘दशमी’बाट अप्रभ्रंशित शब्द हो । यो तिथिमा आधारित राष्ट्रिय पर्व हो । १५ दिनसम्म मनाइने दशैँ आश्विन शुक्ल प्रतिपदाको दिन विधिपूर्वक घटस्थापना गरी जमरा राखेर शुरुवात गरिन्छ भने फूलपाती (सप्तमी), अष्टमी, नवमी र दशमी जस्ता महत्त्वपूर्ण तिथि तथा दिनमा विधिवत पूजा, पाठसहित पूर्णिमासम्म यो पर्व हर्षोल्लासका साथ मनाईन्छ । परम्परागत चलनमा ब्राह्मण, क्षेत्री लगायतका केही जातिहरूले दशैँको दिनमा मात्रै टीका लगाइन्थ्यो भने अन्य कैयौ जातिहरूले पूर्णिमाका दिन सम्म दशैँकै स्वरुप मानेर टीका लगाउने चलन थियो ।तर आजभोलि टाढाटाढा हुनेहरू र दशैँको दिन जुट्न नसक्नेहरू जोसुकैले पनि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरेको पाइन्छ । हरेक समाजमा आफ्नो सामाजिक पहिचानस्वरूप स्थापित धर्म, संस्कृति, परम्परा र रीतिरिवाजका आधारमा विभिन्न चाडपर्वहरूलाई महत्त्वका साथ मनाइन्छ । त्यस्ता चाडपर्वहरू सामाजिक, धार्मिक, आर्थिक आदि महत्त्वका हुन्छन् । त्यस्तै महत्त्वपूर्ण राष्ट्रिय पर्वको रूपमा दशैँ नेपाली समाजमा प्राचीनकालदेखि नै प्रचलनमा रहेको पाइन्छ । मानव सभ्यताको इतिहासमा पर्वहरू केवल धार्मिक अनुष्ठान वा मनोरञ्जनका अवसर मात्र होइनन् ; ती मानव चेतना, सामाजिक संरचना, दार्शनिक चिन्तन र जीवनदृष्टिको गहिरो अभिव्यक्ति हुन् । नेपाली समाजमा विजयादशमी अर्थात् दशैँ यस्तै बहुआयामिक पर्व हो जसले धार्मिक, सांस्कृतिक, सामाजिक, दार्शनिक र जीवन–दार्शनिक पक्षहरूलाई एकै सूत्रमा बाँधेर राखेको छ ।ईस्लामको इद–उल–फित्र, इसाई क्रिसमस, बौद्धहरूको बुद्ध जयन्ती जस्तै हिन्दूहरूको महत्त्वपूर्ण पर्वको रूपमा दशैँ रहेको छ । धर्म निरपेक्षता घोषणा हुनुपूर्व विश्वको एकमात्र हिन्दू अधिराज्यको रूपमा रहेको नेपालमा ८०% जति हिन्दूधर्मावलम्बीहरू रहेका छन् ।

दशैँ पर्वको प्रचलन नेपाली समाजमा लिच्छवीकालदेखि नै शुरु भएको हो लिच्छविकालमा दशैँ पर्व विधिविधानसहित सम्पन्न गर्नका लागि ‘नारायण देवकुल दशमी गोष्ठी’ को व्यवस्था गरिएको थियो भन्ने तथ्य लिच्छविकालीन अभिलेखहरूमा उल्लेख्य रहेको चर्चा पाइन्छ । त्यसैगरी मध्यकालमा यो पर्वलाई ‘शास्त्राभ्यास’ अर्थात् खड्गसिद्धि (हतियार अभ्यास) का रूपमा लिने र खडगसिद्धिको लागि देवीको आराधना हुने गरेको प्रसङ्ग गोपालराज वंशावलीमा पाइन्छ । जेहोस्, प्राचीन मध्यकाल हुँदै आधुनिक कालसम्म आइपुग्दा दशैँ नेपाली समाजको महत्त्वपूर्ण सामाजिक पहिचान र विशेषता नै बन्न पुगेको छ । दशैँलाई राष्ट्रिय पर्वको रूपमा मनाउन ७ देखि १५ दिन लामो राष्ट्रिय विदा पनि दिइन्छ ।

दशैँ पर्वको शुरुवातका सम्बन्धमा विभिन्न किंवदन्तीहरू पाइन्छन् ।दशैँको मूल कथा देवी दुर्गाको महिषासुरमाथि विजयसँग जोडिएको छ । पौराणिक कथाअनुसार महिषासुरले देवताहरूलाई पराजित गरी त्रिलोकमा अत्याचार फैलाएको थियो । देवी दुर्गाको दश दिनको कठोर साधना र युद्धपछि दशौँ दिनमा महिषासुरको वध भयो । यस विजयलाई विजयादशमी भनियो ।दशैँको प्रचलन समाजमा देखिएका अनिष्ट वा त्यस्तै राक्षसी कुकर्म माथिको विजयोत्सवको रूपमा प्रचलित रहेको अर्को प्रसंग पाइन्छ । राक्षसी राजा रावणले हरण गरिएकी सीतालाई फिर्ता ल्याउने प्रयासस्वरूप भगवान रामले भगवतीकै आराधनाबाट रावणमाथि विजय प्राप्त गरेको दिनको सम्भनास्वरूप ‘असत्यमाथि सत्यको विजय’ को रूपमा विजयादशमी मनाउने गरिन्छ । दशैँमा दुर्गाभवानी (काली) तथा सामूहिक रूपमा पूजाकार्य गर्ने क्रममा सामाजिक सौहार्दताको विकास हुने र स्थापित हुने कारणले पनि हिन्दू धर्मावलम्बी बीचमा दशैँले महत्त्वपूर्ण स्थान र मान्यता पाएको छ । हिन्दूबीच मात्र नभई नेपाली समाजमा अन्य धर्मावलम्बीहरूले पनि उत्तिकै हर्षोल्लासका साथ यो पर्व मनाउने गरेबाट सामाजिक सद्भाव र सौहाद्र्धता विकास गर्नमा दशैँ पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो कथा पौराणिक आख्यान मात्र नभई यो मानव मनभित्र निरन्तर चलिरहने धर्म र अधर्म, ज्ञान र अज्ञान, प्रकाश र अन्धकारबीचको संघर्षको प्रतीक पनि हो भन्न सकिन्छ । तार्किक दृष्टिबाट हेर्ने हो भने मानवमा महिषासुरले प्रतिनिधित्व गर्ने शक्तिहरू – अहंकार, लोभ, क्रोध, अज्ञान – मानव जीवनमा सधैँ सक्रिय रहन्छन् । दुर्गाको विजयले यी शक्तिहरूमाथि विजय सम्भव छ भन्ने देखाउँछ। यस अर्थ दशैँले मानिसलाई बाह्य शत्रुसँग मात्र होइन, आफ्नै अन्तरमनका नकारात्मक प्रवृत्तिसँग लड्न प्रेरित पनि गर्दछ ।

दशैँ घटस्थापनाबाट सुरुभई नवमीको दिनसम्म देवस्थल तथा शक्तिपीठहरूमा नवदुर्गा भवानीको पूजा उपासना गर्दै देवालय, शक्तिपीठ तथा घरघरमा समेत चण्डी पाठ आदि गर्दै भव्यताका साथ मनाइन्छ । सप्तमीका दिन काठमाडौ हनुमान ढोकास्थित दशैँघरमा फूलपाती महोत्सव राष्ट्रिय महत्त्वका साथ सम्पन्न गरिन्छ । नुवाकोटबाट बेलपत्र र गोर्खाबाट फूलपाती ल्याई उच्चपदस्थ सरकारी निकायका प्रमुखहरूको उपस्थितिमा पञ्चेबाजासहित धुमधामले फूलपाती भित्राइन्छ भने सो अवसरमा परम्परागत रूपमा राष्ट्रपतिको समुपस्थित हुने चलन छ । अष्टमीको दिन देवीको पूजा गरी खड्ग स्थापना गर्ने र देवालयहरू तथा शक्तिपीठहरूमा बलि दिने तथा राति ‘कालरात्रि’ पूजा गर्ने गरिन्छ । त्यसैगरी नवमीको दिन देवालय तथा शक्तिपीठमा पशुपंक्षी आदिको बलि दिने र भगवतीको पूजन कार्य गर्ने गरिन्छ । त्यसको भोलिपल्ट विजयादशमीको दिन नवमीको दिनको प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका थाप्ने, आशीर्वाद लिने र विभिन्न परिकारयुक्त भोजन गरी पारिवारिक, सामुदायिक तथा सामाजिक सद्भावलाई निरन्तरता दिने गरिन्छ । ‘विजय’ स्वरूपको टीकाप्रसाद ग्रहण गर्ने र आशीर्वचन लिने क्रम नेवार, ठकुरी लगायतका केही जाति विशेषमा पूर्णिमासम्म चलिरहन्छ भने हालमा त्यस्तो प्रचलन केही गैर नेवारहरूमा पनि तराई तथा शहरी क्षेत्रमा बढ्दै गएको पाइन्छ किनकि आधुनिक नाता प्रणालीको सव्जाल बढी विस्तृत र फराकिलो बन्दै गएको र दशमीको दिन एक दिनमै सबै मान्यजनकोमा भेट गर्न र आशीर्वाद लिन नसकिने अवस्था एकातिर छ भने अर्कोतिर लामो विदामा आफन्तबीच मिलनको रूपमा पनि र छरछिमेकबीच यस्तो मान्यता खासमा आधुनिक विचार र स्रोतसाधनको अभाव नहुनेबीच देखिन थालेको छ ।

दशैँमा पुरुषले टीका लगाउँदा भन्ने संस्कृत श्लोक निम्नानुसार प्रयोग गरिन्छ :

आयुद्र्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

(द्रोणाचार्यका पुत्र अश्वत्थामामा जस्तो दीर्घायु, राजा दशरथमा जस्तो श्रीसम्पत्ति, भगवान् श्रीराममा जस्तो शत्रु नाश गर्ने सामथ्र्य, राजा नहुषमा जस्तो ऐश्वर्य, वायुदेवमा जस्तो गति, दुर्योधनमा जस्तो मान–सम्मान, शान्तनुका पुत्र भीष्ममा जस्तो शौर्य, हलधारी बलराममा जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरमा जस्तो सत्यनिष्ठा, विदुरमा जस्तो ज्ञान र भगवान् नारायणमा जस्तो कीर्ति तपाईँहरूमा प्राप्त होस् ।)यस श्लोकलेपुरुषको जीवन दीर्घायु, धनसम्पत्ति, शक्ति, साहस, सत्य, ज्ञान, मानसम्मान र कीर्तिले भरिपूर्ण होस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

महिलाले टीका लगाउँदा भन्ने संस्कृत श्लोक निम्नानुसार छ :

भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसीदतु ।

रक्षन्तु त्वां सदा देवा आशीषः सन्तु सर्वदा ।।

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

(तपाईँको जीवनमा सधैँ कल्याण होस्, मङ्गल होस् र महालक्ष्मीको कृपा प्राप्त भइरहोस्। देवताहरूले तपाईँको सधैँ रक्षा गरून् र तपाईँले निरन्तर शुभाशीर्वाद प्राप्त गरिरहनुहोस् । हे जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नामले पुकारिने देवी ! तपाईँलाई बारम्बार नमस्कार छ। तपाईँको कृपा र शक्तिले सबैको रक्षा होस्, जीवनमा सुख, शान्ति, समृद्धि र मङ्गल छाओस् ।)यस श्लोकले महिलाको जीवनमा देवीको कृपा, सुरक्षा, सौभाग्य, सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्ने मङ्गलमय कामना गरेको छ ।

यस प्रकारको दशैँको महत्त्वलाई कायम गर्दै वा बाहिर परदेश वा स्वदेशमै रोजगारी पेशा, व्यवसाय, अध्ययन आदिको लागि बसेका परिवारका सदस्य तथा आफन्तहरू दशैँ मनाउने उद्देश्य तथा लक्ष्यसहित परिवारजन र आफन्तसँगको भेटघाट, भलाकुसारीबाहेक स्थानीय देवालय वा शक्तिपीठको दर्शन आदिको लागि घर फर्कनु अनिवार्य प्रायः ठानिने हाम्रो समाजमा दशैँको सर्वाधिक महत्त्व रहेको हुन्छ भने मौसमी अनुकूलता पनि त्यतिकै उपयुक्त हुनु यस पर्वको महत्त्वको लागि थप आकर्षण मान्न सकिन्छ । 

राम्रो लगाउने, मीठो खाने, भेटघाट, भलाकुसारी एवं विभिन्न मनोरञ्जनात्मक कार्यहरूमा सरीक भई हर्षोल्लासका साथ दशैँ मनाइन्छ । टीका एवं आशीर्वाद थाप्ने; भेटघाट आदिबाट आफन्तबीच सम्बन्ध गाढा बनाउनेबाहेक दशैँ मनाउने उद्देश्यबाट घरआँगन सफा गर्ने; रंगरोगन गर्ने, बाटो घाटो, गल्ली तथा चोकको सरसफाइ गर्ने र मठ मन्दिर तथा शक्तिपीठ आदिको मर्मत सम्भार, सरसफाई आदि जस्ता सामाजिक कार्यमा सबैको सक्रिय र अनिवार्य सहभागितासमेत रहनुले दशैँको वातावरणीय महत्त्व पनि रहेको पाइन्छ ।

दशैँको महत्त्व

धार्मिक पक्षबाट दशैँ शक्ति उपासनाको पर्व हो । नवरात्रिको अवधिमा देवीका नौ रूपहरूको पूजा गरिन्छ । यसले शक्तिको विविध अभिव्यक्ति – कालीको उग्रता, लक्ष्मीको समृद्धि, सरस्वतीको ज्ञान – लाई स्वीकार गर्छ । दार्शनिक रूपमा यो अद्वैत चिन्तनसँग पनि जोडिन्छ । देवीलाई पराशक्ति मान्ने परम्पराले सृष्टि, स्थिति र संहारलाई एकै शक्तिबाट उत्पन्न भएको ठान्छ । यसले द्वैतवादी सोचभन्दा माथि उठेर एकत्वको दर्शन प्रस्तुत गर्छ । जीवनमा शक्तिलाई नकार्नु वा दमन गर्नु होइन, त्यसलाई शुद्ध र सकारात्मक दिशामा प्रयोग गर्नुपर्छ भन्ने सन्देश दशैँले दिन्छ । वैचारिक दृष्टिबाट हेर्दा, यो पर्वले स्त्री शक्तिको महत्त्वलाई स्थापित गरेको छ । पितृसत्तात्मक समाजमा पनि देवीलाई सर्वोच्च स्थान दिएर नारीत्वको गहिरो सम्मान गरिएको छ, जुन आधुनिक लैङ्गिक समानताको बहससँग पनि मेल खान्छ ।

सामाजिक पक्षमा दशैँको महत्त्व अत्यन्त गहन छ । नेपाली समाजमा परिवारको एकता र पुस्तान्तरण सम्बन्धको सबलता दशैँले सुनिश्चित गर्छ । टीका ग्रहण गर्दा जेठोबाट कान्छोसम्मको क्रममा आशीर्वाद लिने परम्पराले सामाजिक पदानुक्रमलाई मात्र होइन, आपसी सम्मान र उत्तरदायित्वलाई पनि जोड दिन्छ । जमरा, टीका र आशिषले रक्तसम्बन्धभन्दा माथि उठेर साझा सांस्कृतिक पहिचान निर्माण गर्छ । आधुनिक युगमा बसाइँसराइ, वैदेशिक रोजगारी र व्यक्तिगत स्वतन्त्रताको लहरले परिवार टुक्रिने खतरा बढेको छ । दशैँले यस्ता विखण्डनका विरुद्ध सामाजिक एकताको बलियो बाँधको काम गर्छ । यसले मानिसलाई  व्यक्तिगत सफलता मात्र पर्याप्त होइन; सामूहिक कल्याण र सम्बन्धको पोषण पनि जीवनको अभिन्न अंग हो भन्ने ज्ञान दिन्छ ।

सांस्कृतिक दृष्टिबाट हेर्दा दशैँ नेपाली पहिचानको जीवन्त अभिव्यक्ति हो । पिङ खेल्ने, चङ्गा उडाउने, बाजागाजा, विशेष भोजन र नयाँ पोशाक लगाउने परम्पराले रचनात्मकता, आनन्द र सामुदायिक सहभागितालाई प्रोत्साहन दिन्छ । दार्शनिक रूपमा हेर्दा, पर्वहरूले समयको चक्रीय प्रकृतिलाई स्वीकार गर्छन् । दशैँले वर्षको एक विशेष समयमा जीवनको नवीकरणलाई मनाउँछ । यसले मानिसलाई जीवन स्थिर होइन, निरन्तर परिवर्तनशील छ र हरेक वर्ष नयाँ सुरुवातको अवसर छ भन्ने दर्शाउँछ ।दशैँले मनोरञ्जन, खानपान आदिको मानसिक उर्जा दिन्छ, व्यक्ति वा समूहलाई उत्साहित बनाउँछ र सोही अनुरूपको नयाँ र चुस्त सामाजिक सम्बन्धको लागि व्यक्ति वा समूहलाई तत्पर गराउँछ । राम्रो लाउने, मिठो खाने, नाचगान गर्ने आदि सबै मनोरञ्जनका विविध पक्ष हुन् । मनोरञ्जनले सर्वथा उत्साह जगाउँछ, दुःख भुलाउँछ, केही हदसम्म नयाँ जीवनशैलीको अनुभूत गराउँछ । व्यक्ति वा समूहका यिनै अनुभूतिजन्य सम्बन्धका पक्षहरू समाजशास्त्रीय अध्ययनका पक्ष हुन् त्यसैले नवीन र भिन्न सोच र व्यवहारको कारण हुने रूपान्तरण समाजशास्त्रीय महत्त्वका मानिन्छन् ।

दशैँको आफ्नै धार्मिक सांस्कृतिक पृष्ठभूमि छ । त्यही धार्मिक पृष्ठभूमिको आधारमा स्थानीय स्तरमा विभिन्न मठ मन्दिर, शक्तिपीठ आदिको स्थापना गरिएको हुन्छ र स्थानीय स्तरमा ती पीठहरूको विशिष्ट महिमा हुन्छ । भाकल, पूजापाठ, आदिको आधारमा व्यक्ति वा समूहले मानसिक शान्ति र धार्मिक अभिष्ट पूरा गर्दछन् । यस मानसिक शान्तिले मानवीय व्यवहारलाई निर्देशित र नियन्त्रित गर्दछ त्यसैले दशैँको समाजशास्त्रीय महत्त्व छ ।

जीवन–दार्शनिक पक्षबाट विश्लेषण गर्दा दशैँको महत्त्व अझ गहिरो छ । यस पर्वले जीवनको तीन महत्त्वपूर्ण सत्यलाई उजागर गर्छ । पहिलो, विजय सम्भव छ तर त्यसका लागि साधना, धैर्य र त्याग आवश्यक पर्छ । दुर्गाको दश दिनको संघर्षले तत्कालिक सफलता होइन, दीर्घकालीन प्रयासको महत्त्व देखाउँछ । दोस्रो, शक्तिलाई नैतिक दिशानिर्देश चाहिन्छ । असीमित शक्ति बिना नैतिकताले विनाश ल्याउँछ भन्ने चेतावनी महिषासुरको प्रसङ्गले दिन्छ । तेस्रो, जीवनमा अन्धकारपछि प्रकाश आउँछ । विजयादशमीले यदि सही मार्ग अपनाइयो भने कठिन समयपछि विजय अवश्यम्भावी छ भन्ने आशावादको दर्शन प्रस्तुत गर्छ।

दशैँले मानिसलाई अहम्भन्दा माथि उठ्न सिकाउँछ । टीका ग्रहण गर्दा ज्येष्ठको आशीर्वाद लिने क्रममा अहंकारको त्याग हुन्छ । देवीको शरणमा जानु भनेको व्यक्तिगत शक्तिलाई महाशक्तिमा समर्पित गर्नु हो । यसले अहं–केन्द्रित जीवनशैलीबाट समर्पण र सेवाको जीवनतर्फ लैजान्छ । साथै, दशैँले आनन्द र अनुशासनको सन्तुलन सिकाउँछ । उत्सव मनाउँदा पनि नियम, परम्परा र मर्यादाको पालना गर्नुपर्छ भन्ने सन्देश स्पष्ट छ । सामाजिक सद्भाव र सौहार्दताको सुरुवात परिवार, छरछिमेक, समुदाय र अन्ततः सामाजिक स्तरमा क्रमैसँग हुने गर्दछ । ती हरेक स्तरमा हुने मानवीय सम्बन्धको अध्ययन समाजशास्त्रीय हिसाबले महत्त्वको मानिन्छ । प्रतिस्पर्धा, द्वन्द्व, तनाब आदि केही मानवीय सम्बन्धकै पक्षहरू हुन् । परिवार छरछिमेक वा समुदाव स्तरमा, व्यक्ति वा समूहको स्रोतसाधन माथिको पहुँचमा हुने असमान वित्तरणको कारण कलह, तनाव, प्रतिस्पर्धा वा द्रन्द्व हुन्छ । तर दशैँमा ती सबै मनमुटावलाई भुलेर मानिसहरू एकअर्काको सामीप्यमा पुग्छन्, र मनमुटाब सफा गर्दछन् । घरायसी मतमतान्तर होस् वा सामुदायिक, व्यक्तिहरू मित्रताको हात बढाउने र मिल्ने वातावरणको सिर्जना गर्न गराउनमा दशैँले महत्त्व राख्छ । जेजसो भए पनि अग्रज आफन्तहरूको हातबाट आशीर्वाद लिनुपर्छ र दिनुपर्छ भन्ने मान्यताले आपसी सम्बन्धमा वर्षैदेखि वा केही समय पहिलेको तिक्तता मेटाउने काम दशैँले गर्दछ । सद्भाव र सौहार्दता बनाई राख्नमा यसको निकै महत्त्व रहेको छ ।

वैचारिक दृष्टिबाट हे¥यौँ भने दशैँले धर्म र अधर्मको अवधारणामाथि पुनर्विचार गर्न बाध्य पार्छ । परम्परागत रूपमा धर्मलाई धार्मिक कर्मकाण्डसँग जोडिन्छ, तर दशैँको गहिरो अर्थमा धर्म भनेको सन्तुलन, न्याय र कल्याणकारी शक्ति हो । अधर्म भनेको असंतुलन, शोषण र अहंकार हो । आधुनिक सन्दर्भमा हेर्दा, भ्रष्टाचार, हिंसा, पर्यावरण विनाश, असमानता आदि अधर्मका नयाँ रूप हुन् । दशैँले यी नयाँ महिषासुरहरूसँग लड्न व्यक्तिगत र सामूहिक जिम्मेवारीको बोध गराउँछ । यसले राजनीतिक र सामाजिक परिवर्तनको पनि दर्शन दिन्छ – न्यायको पक्षमा खडा हुनु नै वास्तविक विजय हो ।

दशैँको अर्को महत्त्वपूर्ण पक्ष भनेको समय र मृत्युबोधसँग जोडिएको छ । नवरात्रिको अवधिमा देवीको पूजा गर्दा जीवनको अस्थिरता र शक्तिसँगको सम्बन्धलाई स्मरण गरिन्छ । जीवन छोटो छ, शक्ति क्षणिक छ, तर सही प्रयोगले अमरत्वको अनुभव गराउन सकिन्छ भन्ने विचार यसमा निहित छ । यसले भौतिकवादी युगमा मानिसलाई आत्मिक गहिराइ खोज्न प्रेरित गर्छ । आधुनिक जीवनमा जहाँ सफलतालाई केवल भौतिक उपलब्धिबाट मापन गरिन्छ तर दशैँले भित्री शान्ति, सम्बन्धको गुणस्तर र नैतिक सन्तुष्टिलाई पनि सफलताको मापदण्ड बनाउँछ ।

दशैँको अर्को समाजशास्त्रीय महत्त्व के रहेको छ भने आआफना क्षेत्रमा बाटो घाटो, पुलपुलेसा, चोक, मठमन्दिर, शक्तिपीठ आदिको मर्मत संभार आदिको कार्यमा आवश्यक जनसहभागितामा तत्परता र वृद्धि हुन जान्छ । अन्य समयमा फुर्सद नहुने र यसवेला सोको लागि सामाजिक दायित्व नै ठान्ने क्रियाशिल पक्षलाई बढी महत्त्वपूर्ण मानिन्छ ।

दशैँको निरन्तरताले नेपाली समाजको सांस्कृतिक लचिलोपनलाई देखाउँछ । शताब्दीयौँदेखि चल्दै आएको यो पर्वले विभिन्न राजनीतिक व्यवस्था, आर्थिक परिवर्तन र सामाजिक रूपान्तरणलाई पार गर्दै आफ्नो सान्दर्भिकता कायम राखेको छ । यसको कारण यसमा निहित सार्वभौमिक मूल्यहरू हुन् – विजयको आशा, परिवारको महत्त्व, शक्तिको नैतिक प्रयोग र नवीकरणको आवश्यकता । यी मूल्यहरू समयसँगै अनुकूलन हुन सक्छन् तर मेटिँदैनन् ।

जातिय तथा वर्गीय विभेद हाम्रो समाजको विशिष्ट विशेषता हो । सामन्ती एवं अर्धसामन्ती सोच, व्यवहार प्रचलित रहे पनि दशैँको विशिष्ट समयमा हुनेहरूले नहुनेहरूप्रति गर्ने व्यवहार जस्तो कि दशैँ मनाउन जहुनेलाई पनि आर्थिक, भौतिक, नैतिक सहयोग गर्नु पर्छ र सबैले दशैँ रास्रोसँंग मनाउनुपर्छ भन्ने मान्यताको आधारमा व्यक्ति वा समूहका व्यवहारमा आउने परिवर्तन आफैँमा सामाजिक सद्भावको खास आधार हुन आाउँछ । अन्तरजातीय र अन्तर्वगीय सम्बन्धले पाउने नयाँपन पनि समाजशास्त्रीय दृष्टिकोणले महत्त्वको मानिन्छ । सह–अस्तित्वको नयाँ आयाम सामाजिक सम्बन्धको लागि बढी महत्त्वको हुन्छ ।

दशैँमा निश्चित समुदाय, परिवार, बाहिर रहेका एवं सामाजिक, आर्थिक, प्राविधिक हिसाबले क्रियाशील व्यक्ति विशेषको जमघट हुन्छ । त्यसैले दशैँ त्यस्तो अवसर पनि हो जहाँ पारिवारिक सम्बन्ध तथा सामुदायिक स्तरमा त्यस्ता व्यक्तिहरूको सिप, ज्ञान, सहयोग र निर्देशनको अभावमा सम्पन्न हुन नसकेका योजना तथा कार्यकमहरू सामूहिक निर्णय र सोको सहमतिको आधारमा सम्पन्न हुने गर्दछन् । परिवारमा कसैलाई कहाँ र कसरी पढाउने, विहे गरिदिने, छुट्टी भिन्न गराउने, घर सम्पत्ति बढाउने वा वस्ता अन्य र समुदाय स्तरमा चाँहि माटोघाटो, पुलपुलेसा, विद्यालय, विद्युत, संचार, खानेपानी, स्वास्थ्य आदि जस्तो क्षेत्रको लागि हरेकले आआफ्नो क्षेत्रबाट गर्न सक्ने कार्यको लागि सामुदायिक कार्ययोजनाअनुरूप कामको बाँडफाँड र जिम्मेवारी लिने र पूरा गर्ने जस्ता पक्ष पनि समाजशास्त्रीय दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । दशैँले तिनीहरूको संयोजन गर्नेगराउने हुँदा यो बढी महत्त्वपूर्ण मानिन्छ । 

चाडपर्वहरू हरेक समाजका विशिष्ट महत्त्व र विशेषताले युक्त हुन्छन् । त्यसैले हरेक चाडपर्वको आफ्नैप्रचलन र प्रक्रियासितको मानवीय सामाजिक सम्बन्धको पक्ष आफैँमामहत्त्वपूर्ण रहेको पाइन्छ । दशैँको समाजशास्त्रीय महत्त्वलाईबुँदागत रूपमा यसरी हेर्न सकिन्छ ः

दशैँले सामाजिक सद्भाव र सौहाद्र्धतालाई निरन्तरता दिने र विकास गर्ने गर्दछ ।

आपसी भेदभावपूर्ण व्यवहार हटाई सामाजिक सद्भावको विजारोपण र विकास गर्दछ ।

व्यक्तिगत, सामूहिक र सांस्कृतिक अनुशासनलाई कायम राख्न मदत गर्दछ ।

सामाजिक कार्यमा सहभागितामा हुने वृद्धि र तत्परता ल्याउँछ ।

खानपान, मनोरञ्जन र सामाजिक उत्साहमा वृद्धि हुन्छ ।

सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा सहयोगी बन्छ ।

धार्मिक अनिष्ट पूरा भई मानसिक शान्ति प्राप्त हुन्छ आदि ।


अन्तमा, विजयादशमी केवल एक धार्मिक पर्व मात्र नभई मानव अस्तित्वको गहिरो सम्बन्ध राख्ने पर्व हो । यसले हामीलाई जीवन निरन्तर संघर्ष हो, तर त्यस संघर्षमा धर्मको पक्ष लिएर लड्दा विजय सम्भव छ भन्ने चेतना दिन्छ । यसले परिवार, समाज, संस्कृति र व्यक्तिगत चेतनालाई एकै धागोमा बाँधेर राख्छ । आधुनिक चुनौतीहरू – वैश्वीकरण, व्यक्तिगत स्वार्थ, सामाजिक विखण्डनका बीचमा दशैँको विविध पक्षीय महत्त्व अझ प्रासंगिक बनेको छ ।

दशैँको वास्तविक महत्त्व तब पूरा हुन्छ जब यसको बाह्य उत्सवभन्दा गहिरो सन्देशलाई जीवनमा उतार्न सकिन्छ । देवी दुर्गाको विजयलाई आफ्नै जीवनमा दोहोर्याउनु – अहंकार, लोभ, अज्ञानमाथि विजय हासिल गर्नु नै यस पर्वको सर्वोच्च साधना हो । यसरी दशैँ केवल वर्षको दस दिनको उत्सव मात्र होइन; यो जीवनभरको दर्शन हो, जसले हामीलाई जीवनको अन्धकारसँग लड्दै प्रकाश ल्याउनमा मदत गर्दछ ।

सन्दर्भसूची

न्यौपाने, अर्जुन (२०७५, ते. सं.), पण्डित नभएमा, काठमाडौँ ः शिवानी प्रेस कन्सर्न प्रा. लि. ।

पौड्याल, रामप्रसाद र अन्य (२०६५), नेपाली संस्कृति र समाज, काठमाडौँ: ग्लोबल एजुकेशन प्रा. लि. ।

शम्र्मा, वसन्तकुमार (२०६४), नेपाली शब्दसागर, काठमाडौँ: भाभा प्रकाशन ।

लेखक: राम ज्ञवाली

रिब्दीकोट–४, नारायणथोक, पाल्पा


प्रतिक्रिया