समाचार राष्ट्रिय समाचार प्रदेश २२ असोज २०८३, बिहीबार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

Rastriyanews

काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार सार्वजनिक गरिसकेको छ।

यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको हो।

निर्वाचन समितिका अनुसार प्रदेश तथा प्रतिनिधित्वका आधारमा विभिन्न मतदान केन्द्र तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् भने कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ।

त्यस्तै गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल, मधेश प्रदेशका प्रतिनिधिले तराई–मधेश हल तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।

मतदानस्थल प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्नेछ। मतदानअघि परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निषेध गरिएका सामग्री लैजान पाइने छैन।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार