लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक, संस्कृति संरक्षणमा चुनौती

Rastriyanews

बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका विभिन्न कोटघर तथा देवीका शक्तिपीठहरूमा दसैँसँगै परम्परागत सराय नाच सुरु भएको छ। खुँडा, भाला, तरबार र ढालजस्ता परम्परागत हतियार जुधाउँदै युद्धको झल्को दिने गरी नाचिने सरायले यस क्षेत्रको मौलिक संस्कृति, इतिहास र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्छ।

दसैँको टीकाको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म विशेष रूपमा नाचिने सराय कतिपय स्थानमा तिहारसम्म पनि खेल्ने परम्परा छ। ऐतिहासिक कोटघर, दुर्गा तथा कालिका मन्दिरमा सराय नाचलाई विजय, उत्सव र धार्मिक आस्थासँग जोडेर हेर्ने गरिन्छ।

संस्कृतिविद् अर्घाखाँचीका राजेन्द्रप्रसाद आचार्यका अनुसार राक्षससँगको लडाइँमा सत्यको विजय भएपछि त्यसको खुसीयालीमा शक्तिपीठ र कोटहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको किंवदन्ती छ। समयक्रमसँगै यो परम्परा यस क्षेत्रको मौलिक संस्कृति बनेको उनले बताए।

तर, पछिल्लो समय युवा पुस्तामा सराय नाचप्रतिको चासो घट्दै गएको आचार्यको भनाइ छ। संस्कृतिको ऐतिहासिक महत्त्व बुझाउँदै नयाँ पुस्तालाई यसको संरक्षणमा सहभागी गराउनु आवश्यक रहेको उनले बताए।

विभिन्न स्थानमा फरक–फरक दिन सराय

आचार्यका अनुसार अर्घाखाँचीको ढुङ्गेचौरकोटमा त्रयोदशीका दिन, उलुक छत्र र अर्घातोस कोटमा दसैँकै दिन तथा बाइगाउँ र काम्लेचौरकोटमा द्वादशीका दिन सराय नाचिन्छ। गुल्मीको उनायाचौरकोटमा चतुर्दशीका दिन र भण्डारथुम, धुर्कोट, चन्द्रकोट, इश्माकोट, मुसिकोट, अर्जै, अमरपुर, नयाँगाउँ, धागिथुम तथा जोगीथुमकोटमा कोजाग्रत पूर्णिमाका दिन सराय नाच्ने चलन छ।

प्यूठानको बिजुवारस्थित डल्लेमा तिहारपछिको पञ्चमीका दिन सराय नाचिन्छ। बिजुलीकोट, ओखरकोट र भित्रीकोटलगायतका स्थानमा पनि सराय नाच्ने परम्परा छ।

पाल्पाका मुझुङकोट, ख्याहा, गोखुङ्गा, रैनादेवी, कुसुमखोला, बल्ड्याङगढी, रम्भादेवी र माथागढीलगायतका क्षेत्रमा सराय नाचिन्छ। विगतमा बागलुङ, पर्वत र स्याङ्जामा समेत प्रचलित यो परम्परा पछिल्लो समय केही स्थानमा हराउँदै गएको संस्कृतिविद् आचार्यले बताए।

चन्द्रकोटमा ऐतिहासिक महत्त्व

गुल्मीको चन्द्रकोट मन्दिरमा बाइसे–चौबिसे राज्यकालदेखि कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैँलाई बिदाइ गर्ने परम्परा रहेको स्थानीयको भनाइ छ।

चन्द्रकोट मन्दिर व्यवस्थापन समितिका संरक्षक ८० वर्षीय यमबहादुर थापाका अनुसार विगतमा राजाहरूलाई युद्धको अभिनय देखाउने उद्देश्यले सराय नाच सुरु भएको किंवदन्ती छ। त्यसैले नाचमा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ। सराय नाच हेर्दा रमाइलो लाग्ने भए पनि हतियार जुधाएर नचाउने दृश्य रोमाञ्चक र केही डरलाग्दो हुने उनले बताए।

गुल्मीका मुसिकोट, इश्माकोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, छत्रकोट र अर्जैकोटजस्ता स्थानको ऐतिहासिक पहिचानसँग पनि सराय नाचको सम्बन्ध जोडिएको थापाको भनाइ छ।

स्थानअनुसार सराय नाच्ने शैली फरक हुन्छ। तम्घासका मठमन्दिरमा पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ भने कोटहरूमा हतियार जुधाएर नाच्ने परम्परा छ। कतिपय स्थानमा पशुबलि दिएपछि टाउको हातमा लिएर ‘वाख्यै हा’ भन्दै नाच्ने चलन पनि छ। त्यसपछि जमरा र दसैँको टीका खोला तथा पोखरीमा विसर्जन गर्ने परम्परा रहेको स्थानीय बताउँछन्।

इश्मारजस्थलका ७४ वर्षीय नुरदेव पैंयानीले नयाँ पुस्तामा सरायका भाका र शब्दको ज्ञान घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। पुरानो पुस्ताले परम्परा धान्न नसक्ने र नयाँ पुस्ताले चासो नदिने हो भने सरायको इतिहास हराउन सक्ने उनले बताए।

पहाडबाट तराईसम्म फैलिँदै सराय

गुल्मीसँगै अर्घाखाँचीका पूर्वी क्षेत्रका कोटहरू, अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रसिद्ध मानिन्छन्। कोजाग्रत पूर्णिमाका दिन अर्घा र भण्डारथुममा सराय नाच हेर्न ठूलो सङ्ख्यामा मानिस भेला हुने गर्छन्।

बसाइँसराइसँगै गुल्मी र अर्घाखाँचीबाट बुटवल झरेका समुदायले पनि दसैँको टीकालगत्तै सराय नाच्ने परम्परालाई निरन्तरता दिएका छन्। बुटवलमा क्षेत्री समाजले हरेक वर्ष सराय नाच आयोजना गर्दै आएको छ। त्यस्तै, यसको ऐतिहासिकता र सांस्कृतिक महत्त्व उजागर गर्न पौवा होटलले पनि सराय नाच प्रस्तुत गर्दै आएको छ।

संस्कृति संरक्षण अभियन्ता विष्णुप्रसाद भण्डारीका अनुसार पहाडी जिल्लाको इतिहास बोकेको सराय नाच अहिले बसाइँसराइसँगै तराईमा पनि विस्तार हुँदै गएको छ। पहाडमा प्रचलित विधि र शैलीलाई पछ्याउँदै तराईमा पनि सराय नाच्ने अभ्यास सुरु भएको उनले बताए।

धार्मिक आस्था र विजयको प्रतीक

पृथ्वीनारायण शाहको समयतिर पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठानमा विभिन्न भुरेटाकुरे राज्य रहेको ऐतिहासिक सन्दर्भसँग पनि सराय नाच जोडिएको छ। विजयादशमीका अवसरमा शक्तिपीठ, कोटघर र मन्दिरमा राजाहरूलाई सराय नाच देखाउने परम्परा रहेको संस्कृतिका जानकारहरू बताउँछन्।

दैत्य र दानवमाथि देवीदेवताले विजय प्राप्त गरेपछि त्यसको खुसीयालीमा युद्धमा प्रयोग हुने हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ।

दसैँको सप्तमीका दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम अर्थात् भगवान्को प्रतिमा निकाल्ने गरिन्छ। विभिन्न रङ्गीचङ्गी ध्वजापताकाले सिंगारिएको आलमलाई भगवान्को प्रतीकका रूपमा मन्दिरबाहिर सजाएर राखिन्छ र त्यसपछि दैनिक पूजापाठ गरिन्छ।

धार्मिक आस्था, ऐतिहासिक विरासत र सामूहिक उत्सवको प्रतीकका रूपमा रहेको सराय नाचको संरक्षणका लागि स्थानीय समुदाय, सांस्कृतिक संस्था र युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक देखिएको छ। पुस्तान्तरणसँगै हराउँदै जान सक्ने यस मौलिक परम्परालाई अभिलेखीकरण, प्रचारप्रसार र नियमित सांस्कृतिक कार्यक्रममार्फत जीवन्त राख्नुपर्ने सरोकारवालाहरूको जोड छ।

प्रतिक्रिया