कात्तिक,८ काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा कारोबारयोग्य सेयरको मूल्य उतारचढावलाई यथार्थपरक रूपमा प्रतिबिम्बित गर्ने नयाँ बेन्चमार्क सूचकांक विकास गर्न कार्यपत्र प्रस्तुत गरेको छ। प्रस्तावित नयाँ सूचकांकको नाम ‘नेप्से बेन्चमार्क इन्डेक्स’ (एनबीआई) राख्न सकिने बोर्डले जनाएको छ।बोर्डका अनुसार हाल कायम नेप्से परिसूचकलाई ‘नेप्से अल इक्विटी इन्डेक्स’ का रूपमा निरन्तरता दिँदै नयाँ सूचकांक विकास गर्ने तयारी गरिएको हो। नयाँ सूचकांकमा सर्वसाधारणले खरिदबिक्री गर्न पाउने सेयरको मूल्यलाई मुख्य आधार बनाइने प्रस्ताव गरिएको छ।
हाल नेप्से परिसूचक सूचीकृत कम्पनीका सबै सेयरको बजार पुँजीकरणका आधारमा गणना हुँदै आएको छ। यसमा संस्थापक सेयर, सरकारी स्वामित्वका रणनीतिक सेयर तथा लकइन अवधिमा रहेका सेयरसमेत समेटिने भएकाले वास्तविक कारोबारयोग्य सेयरको मूल्य उतारचढाव पूर्ण रूपमा प्रतिबिम्बित हुन नसक्ने बोर्डको भनाइ छ।>
बोर्डले प्रस्तुत गरेको कार्यपत्रमा संस्थापक, सरकारी तथा लकइनमा रहेका सेयरले बजार पुँजीकरण बढाए पनि ती सेयर दैनिक कारोबारका लागि उपलब्ध नहुन सक्ने उल्लेख छ। त्यसैले नयाँ सूचकांकमा स्वतन्त्र रूपमा कारोबार गर्न नमिल्ने तथा बजारमा उपलब्ध नभएका सेयरलाई गणनाबाट हटाउने प्रस्ताव गरिएको छ।>
हाल नेप्सेले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरलाई पनि साधारण सेयरकै मूल्यका आधारमा गणना गर्दै आएको छ। उदाहरणका लागि, कुनै बैंकको साधारण सेयर प्रतिकित्ता ३०० रुपैयाँ र संस्थापक सेयर प्रतिकित्ता १०० रुपैयाँमा कारोबार भइरहेको भए पनि हालको गणना विधिमा संस्थापक सेयरलाई समेत ३०० रुपैयाँकै मूल्यमा गणना गरिने अवस्था रहेको बोर्डले औँल्याएको छ। प्रस्तावित नयाँ सूचकांकमा भने कारोबारयोग्य साधारण सेयरको मूल्यलाई मात्रै आधार बनाइनेछ।>
यसको उदाहरण नेपाल टेलिकमलाई लिन सकिन्छ। कम्पनीको कुल बजार पुँजीकरण करिब एक खर्ब ६५ अर्ब रुपैयाँ रहेको र ९१.५३ प्रतिशत सेयर सरकारी स्वामित्वमा रहेको उल्लेख गरिएको छ। सरकारी स्वामित्वको उक्त सेयर नियमित कारोबारमा नआए पनि हालको नेप्से परिसूचक गणनामा समेटिने गरेको छ। नयाँ बेन्चमार्क सूचकांकमा भने सर्वसाधारणको स्वामित्वमा रहेको ८.४७ प्रतिशत सेयरलाई मात्रै आधार बनाइने प्रस्ताव छ। यसले कारोबारयोग्य सेयरको वास्तविक प्रभावलाई बढी महत्त्व दिने अपेक्षा गरिएको छ।>
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को गणना २०५० माघ ३० गते प्रारम्भिक विन्दु १०० कायम गरी सुरु गरिएको थियो। हाल नेप्सेले मुख्य परिसूचकसँगै सेन्सिटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र विभिन्न क्षेत्रगत सूचकांकसमेत गणना गर्दै आएको छ।>
सेन्सिटिभ इन्डेक्स २०६३ पुस १७ देखि गणना हुँदै आएको हो। यसमा ‘क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेयर मूल्यका आधारमा सूचकांक गणना गरिन्छ। त्यस्तै, कारोबारयोग्य सेयरलाई आधार मानेर गणना गरिने फ्लोट इन्डेक्स २०६५ भदौ ३० देखि सञ्चालनमा आएको हो।>
हाल नेप्सेमा वाणिज्य बैंक, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लगानी, व्यापार, जलविद्युत् र अन्य गरी १२ वटा क्षेत्रगत सूचकांकसमेत गणना हुँदै आएका छन्।>
नयाँ बेन्चमार्क सूचकांक कार्यान्वयनमा आएमा कारोबारयोग्य सेयरको मूल्यमा हुने उतारचढावलाई अझ स्पष्ट रूपमा मापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।>>