जीवन के हो भनेर बुझ्न र परिभाषा गर्न गाह्रो छ तापनि यो कर्मगतिको निरन्तरता हो भने मृत्यु गति शुन्यता हो । शारीरिक रूपले जिउँदो रहनु (सास रहेको अवस्था) ले मात्र केही हुन्न । जीवनमा कर्मको स्थान उच्च छ । जीवन जसको उद्देश्य लक्ष्य पनि सँगै हुनुपर्छ । जीवन चिन्नेको पो जीवन ! अर्थ खोज्नेको पो हुन्छ जीवन ! आँशु चुहाएर बिलौना गरेर बिताएको त्यस्तो के जीवन ? खानु, पिउनु, मोजमस्ति, घुमफिर मात्र गरेर जीवन बिताउनेहरूको के जीवन ? जीवन त सेवामा, त्याग, समर्पण, उपलब्धि र उन्नतिप्रगतिमा भेटिनुपर्दछ ।>
कर्मको निरन्तरता र जीवन्तता नै जीवन हो । केही गरेको प्रमाणका आधारमा जीवनमूल्य दर्शिन्छ । सङघर्षदेखि भाग्ने, अर्काको आशमा बाँच्ने, भाग्य भरोशामा रहेर के जीवन बाँच्न सकिन्छ र ? जीवनको अर्थ जिउँदो वा जीवन्त बन्नुमा छ । जसको जीवन अस्तित्वमा छ त्यहाँ पूज्य, श्रद्धेय र अनुकरणीय व्यवहार हुन्छ । जीवन हुनेको आदर्श पक्ष भेटिनु पर्दछ । इतिहासमा अमर भएका व्यक्तित्वलाई हेरौं त ! तिनका जीवनगाथा कस्ता छन् ? एउटाको जीवनले अर्काको जीवनको अन्धकारमा प्रकाश छर्न सक्नुपर्छ । नमूना र उदाहरणीय बन्न सक्नुपर्छ । यस धर्तीमा आउनेजाने क्रम चलिरहन्छ प्राणीको । कोही आएर बाँचेर जान्छन्, कोही अलप भएर । अलप हुनेको नामनिशाना केही रहन्न । आयो गयो, ठीकै भयो भनी कसैको जिन्दगीको टिप्पणी गरियो भने त्यसको के अर्थ रहयो त ? जीवनचक्रमा प्रकृतिका ऋतुहरू फेरिएझैँ सुखदुःख र सङ्घर्षका बादल मडारिइरहन्छन् । त्यसैले भनिएको छ, “जीवन केवल बसन्त होइन, तुषारे शिशिर पनि हो, फूलको कालीन मात्र होइन तर संङ्घर्ष पनि हो ।” जीवन यस्तो होस् जसलाई मणितुल्य मूल्याङ्कन गर्ने अवस्था रहोस् । रछ्यानमा फालिने चीजजस्तो सस्तो र फोहोर नहोस् । कैयौं वीर पुरुषहरू त जीवनपछिको मृत्युपछि पो जीवन्त बन्छन् । कर्मको मूल्याङ्कन मृत्युपछि झनै बढी हुन्छ । सम्झना झन्झन् गरिन्छ । तीमाथि अपार श्रद्धा टक्राइन्छ । जिउँदै मरेको सरह पनि के रहनु र ? एकचोटीको जुनी अर्थपूर्ण नै बनाउन उचित हुने, यो हो कुरा सबैले बुझ्नु पर्ने । जीवन कल्याण, सेवा, आदर्शताकै लागि हुनुपर्दछ । मान्छेलाई बाँच्दैमा सुख त छैन नै तापनि हरेस खाएर पनि नहुने रहेछ ।>
मृत्यु अकाट्य छ, शास्वत छ । सुखले मात्र बाँच्न पाउने भए त मान्छेले दायित्व, कर्तव्य भन्झन् बिर्सन्थ्यो होला । हरेक दिनजसो कर्म नगरी जीवन नचल्ने हुँदा प्राणरहुञ्जेल हात बाँध्न नसकेको हो । सास छउञ्जेलसम्म आश भइरहन्छ । जीवन शुरु हुने अड्कल मान्छेले गर्न सक्छ तर मृत्यु कहिले आउँछ कसैको अड्कलमा छैन यो । तर मृत्यु निम्त्याउने तŒवहरू रोग, भोक, शोक, बम, गोला, बारुद, बाढी, पहिरो, खुकुरी, भाला, छुरा, भुकम्प, महामारी, आँधीहुरी, भवितब्य दुर्घटना जस्ताबाट जीवन च्वाट्टै समाप्त हुन बेर छैन । दैलामा ठेस लागेर पनि मर्न सक्छ मान्छे । ढुङ्गाले किचिएर मर्नसक्छ मान्छे । उग्र रिस र प्रेसर (उच्च रक्तचाप) का कारण पनि सिद्धिन सक्छ मान्छे । बाघ, भालु, सर्पलगायत हिंस्रक जनावरको शिकार बन्न सक्छ मान्छे । मर्नुपर्छ भनेर मान्छेले कर्तव्य र दायित्वबाट उम्किन मिल्दैन । जालझेल, कुटनीति, फुटनीति, राजनीति आदि जति जाने पनि अन्ततः यो संसारबाट रित्तै नगई सुखै छैन । जति दौलत कमाए पनि टाउकोमा बाधेर तीलजति पनि लानु छैन । बाचुञ्जेल भने ईष्यालु, झगडालु, सर्वज्ञ सबै बन्न खोज्छ मान्छे । असन्तोषी भएर, लडेर मारामार गरेर, केहीले नपुगेको जस्तै गरेर बाँच्छन् कतिपय । धिक्कार छ मान्छेका अस्वस्थ क्रियाकलाप वा गतिविधिप्रति ।>
आहार, निद्रा, मैथुन भयजस्ता कुरा त पशुपंक्षीमा पनि छन् तर मान्छेमा तीभन्दा बढी चेतनास्तर छ । चेतनाभित्र विवेक, बुद्धि, संयमता, धीरता, चातुर्यता आदि जस्ता अनेकन् गुण विद्यमान हुन्छन् । यिनै कुराले पशुपंक्षी र मान्छे फरक देखिएको हो । जीवन पाएर जान्नेबुझ्ने भएदेखि मनमा उब्जेका सोचअनुसार मान्छेले जीवन चलाउँछ । कसैले अर्थ र अस्तित्व खोज्न समय खर्चिन्छन् । कसैको ‘मौका यही हो’ भनेर सबथोक बिर्सेर मस्तिमा समय घर्किन्छ । कैयौँको जीवन जान्नै बुझ्नै नपाई सकिन्छ । अजरअमर हुने काम गर्न समय भएन भनेर जीवनको विसाउनीमा दुःखेसोसमेत पोख्छन् कतिले । समय गएपछि पुर्पुरो ठोकेर नहुने रहेछ ! बाल्यकाल अञ्जानमा बित्छ । कसैका जवानी नास्तिक बनेर र मोजमस्ती वा रसरंग गरेर बित्छन् । धर्मकर्म मलतब गर्दैनन् । जवानी घर्केपछि प्रभु ! प्रभु !! भन्दै बल्ल शरणमा पर्छन् । उमेरमा मठमन्दिरमा मुत्दै हिड्नेहरू बूढ्यौलीमा आफूलाई धिक्काछन् । उमेरमा तरूनी बनेर नाठा खेलाउनेहरू पनि उमेर घर्केपछि पतिव्रता बन्छन् । संसारको रीत यस्तै छ । उमेरमा त कामवासनाको उग्रताले विवेकशून्य पारिदिन्छ । आफन्त बिसाइदिन्छ । उमेर छउञ्जेल टीका, चन्दन, पूजा, पाठका घोर विरोध गरिन्छन् । स्वार्थले बिगबिगी (अन्धो) भएको यो संसारमा जब फूल ओइलाए ओइलिएर जीवन सिद्धिन थाल्छ तब बल्ल धेरैलाई जीवनको महत्त्वबोध हुन थाल्छ । कालले त कसैलाई पनि छाड्दैन । जति राम्रो काम गरे पनि एक दुई सेकेण्ड बढ्ता देऊ न भनेर कालसँग पुकारा गरे पनि अदृश्य कालले सुन्दैन । जे गर्ने हो बेला छँदै गर्नुपर्छ । मर्ने बेलामा चुक्चुकाएर के गर्नु ? फरक यति मात्र हो– कर्मशीलहरू थोरै जीवनमा पनि ठूला पुरुषार्थ देखाउँछन् । केही उदाहरणीय कर्मको छाप छाड्छन् । कर्महाराहरू लामो समय पनि अनर्थमा बिताउँछन् । सबैको जीवन अस्थायी सम्पत्ति हो । जीवन परीक्षाकै लागि हो । कर्मको मूल्याङ्कन समाजले एकदिन गर्छ नै । खानाका लागि बाँच्ने कि बाँच्नका लागि खाने त्यो निर्णय आफैमा छ । दुनियाँमा यशस्वी, मनश्वी, तेजश्वी, शुरवीर, वीरगना सबैका जीवन ढले तर कर्म भने बाँचे, बाँचिरहेका छन् । मरेर पनि सम्झिरहने भए । तिनीहरूको जिन्दगीको बाँचेको पनि अर्थ रहेको छ । तसर्थ अर्थविनाको सबै काम व्यर्थ छ । पृथ्वी (धर्ती) मा जन्म मृत्युको प्रक्रिया निरन्तर छ । पुस्तौपुस्ताको क्रम चल्दो छ । एक मर्छ सकिन्छ । मरेपछि व्याख्या टिप्पणी बढी हुने गर्छ । संसारको रीत यस्तै छ । प्रकृति चलायमान छ । समयसँगै हावा चलिरहन्छ । सूर्य उदाउने अस्ताउने भइरहन्छ । नदी बगिरहन्छ । सृष्टिमा चक्रीय खेल छ । सुखदुःख जीवनका एक सिक्काका दुई पाटा हुन् । आँसु हाँसो, मिलन विछोड भइरहन्छ जीवनमा । जीवन अनुभवको खानी हो । अन्त्यमा मान्छे अनुभवको कुटुरो बोकेर फेदीतिर झर्छ । >
प्रकृतिमा वसन्तलगायतका ६ ऋतुहरू घुमिरहन्छन् । मानव जिन्दगी पनि ऋतुसँगै चलिरहन्छ । कहिले जिन्दगी बसन्तमय बन्ला । कहिले प्रचण्ड गर्मी, कहिले वर्षे भेल, कहिले शारदीयाम, कहिले तुषारे शिशिर काल जीवनले भोग्नु पर्ला । जे भए पनि मान्छे भएर जन्मेपछि हात पाखुरी र बुद्धिविवेक नचलाई सुखै छैन । बाँच्नै छ भने जिन्दगी मौकाको उपहार ठानी केही गरेर बाँचौँ । यसैमा बाच्नुको अर्थ औचित्य र भलाइ छ, सोचौँ ।>
लेखक: राम ज्ञवाली >
ठेगाना: रिब्दिकोट–४, नारायणथोक, पाल्पा>>