माधव पाण्डे पाल्पा। सञ्चारका आधुनिक माध्यमको विकाससँगै गाउँघरमा सूचना आदानप्रदान गर्ने शैली परिवर्तन हुँदै गए पनि पूर्वखोला गाउँपालिकाका केही क्षेत्रमा भने सूचना सुनाउने पुरानो ‘कटवाले’ परम्परा अझै जीवित रहेको छ।>
पहिले गाउँमा माइक, टेलिफोन तथा सामाजिक सञ्जालजस्ता सञ्चारका साधनको पहुँच नहुँदा गाउँका महत्वपूर्ण सूचना डाँडामा उभिएर ठूलो स्वरमा कराउँदै गाउँलेलाई सुनाउने गरिन्थ्यो। यसरी गाउँघरमा सूचना सुनाउने व्यक्तिलाई ‘कटवाले’ भन्ने गरिन्थ्यो।>
बैठक, चाडपर्व, सार्वजनिक काम तथा अन्य महत्वपूर्ण गतिविधिबारे गाउँलेलाई जानकारी गराउन कटवालेको महत्वपूर्ण भूमिका रहने गरेको स्थानीय बताउँछन्। गाउँमा सूचना पुर्याउने भरपर्दो माध्यमका रूपमा कटवालेले लामो समयसम्म काम गरेका थिए।>
पूर्वखोला गाउँपालिका–२ जल्पाको साकिने, मैदान र साठीकोल क्षेत्रमा अहिले पनि विभिन्न अवसरमा यही परम्पराअनुसार सूचना सुनाउने गरिन्छ। विशेषगरी चाडपर्व तथा स्थानीय गतिविधिका बारेमा डाँडाबाट ठूलो स्वरमा आवाज लगाएर गाउँघरमा जानकारी गराउने चलन अझै कायम छ।>
स्थानीय यामबहादुर सारुका अनुसार सञ्चार प्रविधिको विकास भए पनि गाउँमा पुरानो सूचना दिने परम्परा पूर्णरूपमा हराएको छैन। उहाँका अनुसार पहिले गाउँमा सूचना पुर्याउने मुख्य माध्यम नै कटवाले भएकाले डाँडामा उभिएर चिच्याउँदै गाउँभरि जानकारी गराउने गरिन्थ्यो।>
“पहिले फोन, माइक र सामाजिक सञ्जाल थिएनन्। गाउँमा कुनै सूचना दिनुपर्दा डाँडामा गएर ठूलो स्वरमा कराएर सबैलाई जानकारी गराइन्थ्यो,” सारुले भन्नुभयो।>
अहिले प्रविधिको पहुँच गाउँगाउँसम्म पुगे पनि केही स्थानमा कटवाले परम्परा निरन्तर रहनु स्थानीय संस्कार, संस्कृति र मौलिक पहिचानसँग जोडिएको उहाँको भनाइ छ।>
पुस्तौँदेखि चलिआएको यस्तो परम्परा अहिले सूचना प्रवाहको माध्यम मात्र नभई गाउँको इतिहास, संस्कृति र मौलिक जीवनशैलीको जीवन्त चिनारी समेत बनेको छ। आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै यस्ता मौलिक परम्परा संरक्षण गर्नुपर्ने स्थानीयको धारणा छ।>>