महाभारतमा शक, यवन र किरातहरुका साथै पल्लवहरूको पनि उल्लेख छ । यही पल्लव शब्दबाट 'पाल्पा' बन्न गएको हो भन्ने योगी नरहरिनाथको कथन रहेको छ । रुद्रसेनले पाल्पा राज्यको स्थापना गरेपश्चात राजा मणिमुकुन्द सेनको पाल्पामा पाल्पा ; विशाल पाल्पा राज्यको रूपमा एकीकृत भएको थियो। राजा पृथ्वीपाल सेनको अन्त्यसँगै पाल्पा नेपालमा विलय हुनपुगेपछि पाल्पा गौंडा हुँदै हालसम्मको अवस्थासम्म आइपुग्दा पाल्पापूर्वमा नवलपरासी र नवलपुर, पश्चिममा अर्घाखाँची र गुल्मी, उत्तरमा गुल्मी, स्याङ्गजा र तनहुँ तथा दक्षिणमा नवलपरासी र रूपन्देहीभित्र परिसीमित रहेको छ। समुद्र सतहबाट २१३ मिटरदेखि १९२२ मिटरसम्मको उचाइमा रही १३७३ वर्ग कि.मी. भित्र फैलिएको पाल्पा २७°४० देखि २७°५७" सम्मको अक्षांश र ८३°१४" देखि >
८४°०२" सम्मको देशान्तरमा फैलिएको छ। नेपालको ७७ जिल्लामध्ये विविध मनोरम प्राकृतिक वातावरणले भरिपूर्ण महाभारत पर्वत सृङखलामा पर्ने ऐतिहासिक प्राचीन सम्पदाको धनी, प्राकृतिक सम्पदाको वरदान प्राप्त पवित्र धार्मिक सांस्कृतिक सम्पदाहरूद्वारा रक्षित पाल्पा नेपालकै भूस्वर्ग हो। जसले हरेक पात्र, यात्री, स्रष्टा एवं द्रष्टा सबैलाई मन्त्रमुग्ध पारी पुलकित गराउँछ ।>
१. ऐतिहासिक/प्राचीन सम्पदा>
(क) दरबारहरू>
वि.सं. १९८२ मा पाल्पा गौंडाका तात्कालीन तैनाथवाला जनरल प्रताप शम्शेरले बेलायती शैलीमा सिंहदरबारको नक्कल गरी बनाएको तानसेन दरबार, राजर्षि जुद्धशम्सेरले बनाएको अर्गली दरबार, खड्गशम्शेरले रानी तेजकुमारीको स्मृतिमा बनाएको कालीगण्डकीको तटमा रहेको नेपालकै अद्वितीय रानीघाट दरबार आदि पाल्पाका ऐतिहासिक धरोहर हुन्। यसका साथै शितलपाटीको गोलघर, मूलढोका (बग्गीढोका), खड्गस्तम्भ, उजिरसिंहको तरबार आदि हाम्रा राष्ट्रिय सम्पदाहरू हुन् ।>
(ख) गढी/कोट/गुफा>
बाकुमगढी, माथागढी, नुवाकोट गढी, कालिकागढी, बल्डेङ्गगढी, भालुखानगढी, रिब्दीकोट, पूर्ण कोट, सुनगुफा, शिवगुफा, सिद्धगुफा, सिद्धपानीगुफा, हात्तिलेक गुफा, जुरेगुफा, बालसिद्धगुफा, सिद्धेश्वर गुफा लगायतका प्राचीन महत्त्व बोकेका गढी/कोट/गुफाहरू पाल्पामा रहेका छन् । यसका साथै आदि मानव रामापिथेकसको दाँत भेटिएको स्थल तिनाउँ नदीको किनार पनि हाम्रा ऐतिहासिक/पुरातात्त्विक सम्पदाहरू हुन् ।>
२. प्राकृतिक सम्पदा>
(क) नदीनाला>
पवित्र कालीगण्डकी, तिनाउँखोला, रिडीखोला, अरुणखोला, पूर्वखोला, निस्दीखोला, सर्देवाखोला, कचलखोला, दोभानखोला लगायतका नदीनालाहरू पाल्पाका प्राकृतिक सम्पदाहरू हुन् । भुक्तिक्षेत्रबाट बहुँदै आएको पवित्र कालीगण्डकी क्षेत्रभित्रै रुरु क्षेत्र (रिडी), रानीघाट र राम्दीघाट रहेका छन् । यी तीनवटा क्षेत्रलाई नेपालकै पवित्र तीन तिर्थ धाम समेत मानिएको छ।>
(ख) ताल/पोखरी/कुण्ड>
सत्यवतीताल, प्रभास ताल (कमलपोखरी), सुकेताल, सीताकुण्ड र तालपोखरा पाल्पाका सुन्दर ताल/पोखरी/कुण्डहरू हुन् । यी सबैको आ-आफ्नै महत्त्व र उत्पत्तिका कथाहरू रहेका छन् । जसमध्ये तिनाउँ गाउँपालिका स्थित कोलडाँडाको सुन्दर प्राकृतिक जंगलको बीचमा पहाडको टाकुरामा सत्यवती ताल रहेको छ। तालकी अधिष्ठात्री जलदेवी सत्यवती बहिरी भएकीले चिच्याई चिच्याई मागेको वर पूरा हुन्छ भन्ने परमपरा छ। यहाँ भारतबाट पनि तीर्थ गर्न आइ वर माग्ने चलन छ।>
>
(ग) पहाड/डाँडा/लेक>
तानसेनको शिरमा अवस्थित रमणीय श्रीनगर डाँडा, निस्दी गाउँपालिकामा रहेको उत्तरतर्फ हिमशिखर र दक्षिणतर्फ तराईका फाँटहरू देख्न सकिने काहुले डाँडा, निस्दीबाटै पोखरा र नारायणघाटको रातीको झिलिमिली बत्ती देख्न सकिने जुरेपहाड, समथर मैदानीभूभाग रहेको अर्चले पहाड, तानसेन नगरपालिकामा अवस्थित भूरे राजाहरुको पालामा पैसा काट्दा बाँकी रहेको तामाको कीटको पहाड, ताहुँमा रहेको नाचनडाँडा, कराउने पहाड, सेनवंशी शासन सुरु भएको कोट-रिब्दीकोट, हात्ती आकारको सुन्दर पहाड हात्ती लेक, भारतको नौतनवा र रातीमा रेलगाडी हिँडेको समेत देखिने लेक-कौडेलेक, सूर्योदय प्रष्टसँग देखिने लेक-रिमिघा लेक, तीनगिरे लेक आदि पाल्पाका सुन्दर मनोरम जैविक विविधतायुक्त प्राकृतिक सम्पदाहरू हुन् ।>
(घ) फाँटहरू>
पाल्पालीको मुख्य पेसा कृषि नै रहेको छ। यहाँको मुख्य बाली भनेको धान, गहुँ, कोदो, मकै र तरकारी बाली नै हो। पाल्पाको माडी फाँटलाई अन्नको भकारी भनिएको छ। यहाँ रामपुर र अर्गलीजस्ता ठुलाठुलाफाँटहरू समेत रहेका छन् । यसको अलावा अँगाहा खोला, कचल, हुँगी, सर्देवा, डम्मक, लघुवा, छेर्लुङ्ग, दैलातुङ्ग, झडेवा, पूर्वखोला लगायतका फाँटहरूमा राम्रो अन्न उतपादन हुने गर्दछ। यी सधैं हराभरा फाँटहरू पाल्पालीका प्राकृतिक सम्पदाहरू हुन् ।>
३. धार्मिक/सांस्कृतिक सम्पदा>
(क) पवित्र देवस्थलहरू>
पाल्पालीहरूको आराध्यदेव भैरवस्थानको मन्दिर जसलाई पाल्पा राज्यका सम्राट मणिमुकुन्द सेनले स्थापना गरेका थिए ।नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई हराउने कर्णेल उजिरसिंह थापाले निर्माण गरेका >
महिषासुरमर्दिनी रणउजिरेश्वरी देवीभगवतीको मन्दिर, भगवती मन्दिर परिसरभित्र रहेका गणेश र सरस्वती मन्दिर श्रीनगर गणेश र टक्सार गणेश नेवारहरूको इष्टदेवताका रहेको शीतलपाटी भीमसेन र भीमसेन टोकमा अवस्थित भीमसेन मन्दिर माण्डव्य तपोभूमि मदनपोखरा, दर्लमडाँडाको दर्लमकाली मन्दिर, ताईंको रम्भादेवी रणनी काठको स्वप्निल रचनामा रति संयोगले भरिपूर्ण कलात्मक चित्र र आकर्षणले अमर नारायण मन्दिर, वंशगोपाल मन्दिर, सिद्धबाबा मन्दिर भुवनीपोखरीको रैनादेवीमांस तानसेनको लक्ष्मीनारायण, राममन्दिर र बदरेश्वर शिवालय धाम, सत्यवती बज्यैको मन्ना लिपिन्देवी मन्दिर, खानीगाउँ स्थित अन्नपूर्णेश्वर मन्दिर, खस्यौली जंगलको विचमा रहेका सतीदेवीको अङ्ग पतन भएको शिवगुफा, हेक्लाङ्गको बालसिद्ध मन्दिर, पवित्र तिर्थस्थल रूरू क्षेत्र , बाजीको महामृत्युञ्जय शिवासन नेपाल, प्रसिद्धबौद्ध विहारहरू मस्जिदहरू र चर्चहरू लगायतका पवित्र देवस्थलहरू पाल्पामा रहेका छन् । यी हाम्रा धार्मिक/ सांस्कृतिक सम्पदाहरू हुर। >
(ख) प्रमुख जात्रातथा मेलाहरू>
विशेष गरी पाल्पाको तानसेनमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद सम नवमीको दिनसम्म जात्रामनाउने परम्पर छ । गाईजात्रा, बाघजात्रा, रोपाईजात्रा, श्रीन्ना गणेश जात्रा, टकसार गणेश जात्रा, भीमसेन जात्रा, कृष्णजात्रा, भगवतीजात्रा र नारायण जात्रा मनाउने प्रथा चलिआएको छ । आजभन्दा दुई सय वर्ष अगाडि उजिरसिंह बापले तत्कालीन पाल्पाको जीतगढी (हाल बुटवल) माअंग्रेजहरुलाई दुई-दुई पटकसम्म बुद्धमा पराजित गरिसकेपछि सदरमुकाम तानसेनमा काठमाडौंको इन्द्रजात्रा सरहकै तामझाममा जात्रा निकाल्ने चलेको चलन अद्यापि रहेको छ। यसका साथै पाल्पामा तिथिमितिअनुसार भैरवजात्रा, बटुक भैरवजात्रा, लक्ष्मी नाराद्यावधी जात्रा निकाल्ने चलन छ । विभिन धर्मावलम्बीहरूले पनि समय सापेक्ष जात्रा, याली निकालेको पाइन्छ । वैशाख पूर्णिमाको दिन यहाँ धुमधामले बुद्धजात्रा निकालिन्छ।विशेषगरी माघे संक्रान्ति, साउने संक्रान्ति र हरिवोधनी एकादशीमा रिडी र राम्दीमा विशेष मेला लाग्दछ भने शिवरात्रीको दिनशिवको पीठहरूमा दिउसो मेला लाग्दछ र रात्रिमा आगो बालेर धुनी जगाइन्छ । कार्तिक पूर्णिमामा सत्यवती मेला र कोजाग्रत पूर्णिमाको दिर लिपिन्देहीमा मेला लाग्दछ । पाल्पामा लाग्ने मेलाहरूले राष्ट्रिय महत्त्व बोकेको पाइन्छ।>
(ग) नाचगानहरू>
विशाल पाल्पा राज्यमा मगरहरूको बाहुल्यता भएसँगै चल्दै आएको मगरहरूको घाँटो नाच अद्यावधि देख्न पाइन्छ । यसका साथै कौडानाच सोरठीनाच मारुनीनाच झयाउरे नाच बाडपर्वहरूमा गाइने भजन र नाचिने नृत्यहरू ब्राह्मण क्षेत्री समुदायले मनाउने तीजपर्व र ठूलो नाच, ख्याली, बालन, ज्यूहैमायहाका प्रचलित नाचगानहरू हुन । विभिन्न तीजका गीत तथा नृत्यहरू नेवार समुदायले गाउदै आएका नेवाःभजनहरू र बजाउँदै आएका धिमे बाजाहरू यहाँका पञ्चे बाजाहरू र झामे नत्यहरूसमेत हामी पाल्पालीका धार्मिक सांस्कृतिक समपदाहरू हुन् ।>
पाल्पा आफैमा विशिष्ट पहिचान बोकेको जिल्ला हो । इतिहास, सम्यता, संस्कृति र रहनसहनको आधारमा पाल्पालाई नेपालको भाइ र तानसेनलाई काठमाडौंको भाइसमेत भनिएको छ । ऐतिहासिक/प्राचीन सम्पदा, प्राकृतिक सम्पदा, धार्मिक/सांस्कृतिक सम्पदाको खानी पाल्पा आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने सम्पदाले भरिपूर्ण क्रीडास्थल, आध्यात्मिक एवं धार्मिक ज्ञानको खोजीका लागि सूत्र स्थल, बौद्धिक अध्येताहरूका लागि अद्भुत पाठशाला र स्रष्टाहरूका लागि सिर्जनात्मक शोधखोज, सोच अठोटले भरिपूर्ण सृष्टिकै सुन्दर ठाउँ हो। पाल्पा मनुष्य जीवनमा एकपटक पुग्नै पर्ने भूस्वर्ग हो।>
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष हुन् )>
सन्दर्भ सामग्री>
घिमिरे, विष्णुप्रसाद (२०४५) पाल्पा राज्यको इतिहास, भाग-१,चितवनः पदमा घिमिरे ।>
पाल्पाली समाज नेपाल (२०६५) हाम्रो पाल्पा, रुपन्देही: पाल्पाली समाज नेपाल>
पाल्पाली संगम (२०३९) पाल्पा दर्पण, काठमाडौं: पाल्पाली संगम>
शिक्षा विकास तथा समन्वय इकाइ (२०७५)पाल्पाको शैक्षिक दर्पण, पाल्पाःजिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ।>
साभार :पाल्पा कुञ्ज वर्ष : १, अङ्क :१ ,२०८२>>