समाचार राष्ट्रिय समाचार व्यापार २० असोज २०८३, मङ्गलबार

४० लाख लगानी, च्याउ खेतीमा निरन्तर नोक्सानी

Rastriyanews

पाल्पा । तानसेन नगरपालिका–८ निवासी ५८ वर्षीय कृषक तथा कन्ये च्याउ व्यवसायी उमानाथ घिमिरेले विगत सात वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनुभएको छ। कृषि कर्ममार्फत युवालाई रोजगारीसँग जोड्ने उद्देश्यसहित व्यवसायमा लाग्नुभएका घिमिरेले हाल करिब ४० लाख रुपैयाँ लगानी गरेर रिब्दीकोट गाउँपालिका र बासटारी क्षेत्रमा १०० वटा टनेलमा च्याउ खेती सञ्चालन गर्दै आउनुभएको छ।

घिमिरेको व्यवसायमा हाल १५ जना युवाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। पाल्पाका च्याउ खेतीका अनुभवी कृषक केसव कार्कीको प्राविधिक ज्ञान, प्रेरणा र अनुभवबाट आफूले च्याउ खेती सुरु गरेको घिमिरे बताउनुहुन्छ। च्याउ खेतीबाट राम्रो आम्दानी गरी सफल व्यवसायी बनेका कृषकहरूको अनुभवबाट प्रभावित भएर आफू पनि निरन्तर यस क्षेत्रमा लागेको उहाँको भनाइ छ।

तर पछिल्ला दुई वर्षयता रिब्दीकोट क्षेत्रमा विस्तार गरिएको च्याउ खेतीबाट अपेक्षित उत्पादन हुन नसक्दा आफू निरन्तर नोक्सानीमा परेको घिमिरेको गुनासो छ।

“आफ्नै अनुभवका भरमा च्याउ खेती गर्दा अर्धज्ञानका कारण नोक्सानी बेहोर्नुपर्‍यो। प्राविधिक ज्ञान लिन कहाँ जाने भन्ने पनि थाहा छैन। व्यवसाय छोडेर पनि जान सकिँदैन। च्याउले पीडित बनायो, आफ्नो पीडा पोख्न कहाँ जाने?” घिमिरेले दुःखेसो पोख्नुभयो।

उहाँका अनुसार च्याउ उत्पादनमा समस्या आउनुको प्रमुख कारण पहिचान गर्न नसक्दा किसान थप समस्यामा परेका छन्। च्याउमा लाग्ने रोग, तापक्रम, वातावरण तथा उत्पादन व्यवस्थापनसम्बन्धी प्राविधिक समस्या समाधानका लागि आवश्यक सहयोग नपाएको उहाँको गुनासो छ।

नेपाल सरकार तथा स्थानीय तहबाट च्याउ खेतीसम्बन्धी तालिम, अनुदान, बिमा तथा प्राविधिक सहयोगजस्ता कार्यक्रम प्रभावकारी रूपमा किसानसम्म पुग्न नसकेको घिमिरे बताउनुहुन्छ। कृषि क्षेत्रका लागि बजेट विनियोजन भए पनि वास्तविक रूपमा कृषि कर्म गरिरहेका किसानले त्यसको लाभ लिन नसकेको उहाँको भनाइ छ।

स्थानीय तहमा कार्यरत कृषि प्राविधिकसमक्ष च्याउ खेतीको समस्या लिएर पुग्दा समेत च्याउसम्बन्धी पर्याप्त प्राविधिक ज्ञान नभएको जवाफ पाउने गरेको उहाँले बताउनुभयो। यसले गर्दा किसानले रोगको पहिचानदेखि उत्पादन व्यवस्थापनसम्म आफ्नै अनुभवका आधारमा गर्नुपर्ने अवस्था रहेको घिमिरेको गुनासो छ।

च्याउ व्यवसायसँग सम्बन्धित संगठन तथा संस्थाहरूले समेत किसानका व्यावहारिक समस्या समाधान गर्ने, तालिम तथा प्राविधिक कार्यक्रम सञ्चालन गर्नेतर्फ पर्याप्त ध्यान नदिएको उहाँको आरोप छ। च्याउसम्बन्धी संस्थाहरू राजनीतिक गतिविधिमा बढी केन्द्रित भएको उहाँको टिप्पणी छ।

घिमिरेका अनुसार स्थानीय सरकार र सम्बन्धित निकायले च्याउ खेतीका लागि आवश्यक प्राविधिक सेवा, रोग पहिचान, तालिम, बिमा, अनुदान र बजार व्यवस्थापनमा प्रभावकारी सहयोग गर्ने हो भने च्याउ खेतीबाट किसानको आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ।

५८ वर्षको उमेरमा समेत कृषि कर्मलाई निरन्तरता दिँदै युवालाई रोजगारी र कृषि व्यवसायमा आकर्षित गरिरहेका उमानाथ घिमिरेको संघर्षले एउटा महत्वपूर्ण प्रश्न भने उठाएको छ—कृषि क्षेत्रमा राज्यले छुट्याएको बजेट वास्तविक रूपमा कर्म गर्ने किसानको हातमा कहिले पुग्छ?

च्याउ खेतीजस्तो सम्भावनायुक्त व्यवसायमा ठूलो लगानी गरेका किसानको समस्या समाधान गर्न राज्यका सम्बन्धित निकायले कहिले सुन्ने? किसानलाई अनुदानभन्दा पनि आवश्यक समयमा प्राविधिक ज्ञान, रोग पहिचान, बिमा, तालिम र बजारको सुनिश्चितता कहिले दिने?

यी प्रश्नको जवाफ खोज्न जरुरी छ।

कृषि रिपोर्ट : राष्ट्रिय न्युज, पाल्पा।

प्रतिक्रिया

सम्बन्धित समाचार