पाल्पा । सामाजिक अभियान्ता डा. राम बहादुर राउत द्वारा लिखित ‘जीवनशैली’ नामक पुस्तक एक विशेष समारोहका बीच पाल्पाको तानसेनमा औपचारिक रूपमा विमोचन गरिएको छ। प्रगतिशील लेखक सङ्घको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुस्तकको विमोचन गर्नुभएको हो। साहित्य, विचार र दर्शनका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन र रूपान्तरण सम्भव हुने भन्दै मुख्यमन्त्री आचार्यले नयाँ पुस्तक प्रकाशनप्रति खुसी व्यक्त गर्नुभयो।>
पुस्तक विमोचनकै अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले वर्तमान समाज र सामाजिक सञ्जालमा बढ्दै गएको नकारात्मक सोच तथा अराजकताप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। सामाजिक सञ्जालको नाममा फैलिएको विकृतिले समाजलाई गलत दिशामा धकेल्दै लगेको दाबी गर्दै उहाँले भन्नुभयो, “अहिले हामी सकारात्मक सोचतिर छैनौं। हरेक विषयवस्तुलाई नकारात्मक ढंगले विश्लेषण गर्ने र जसले नकारात्मक विश्लेषण गरेको छ, त्यही कुराको पछाडिपछाडि दौडिने समाज निर्माण हुँदैछ।” उहाँले मुलुक नकारात्मक दिशामा भड्किएको अवस्थालाई सकारात्मकतातिर फर्काउन अब कला, साहित्य, पत्रकारिता र समाजसेवीहरूले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।>
विमोचित पुस्तक ‘जीवनशैली’ मा मानव जीवनको अर्थ, अस्तित्व, सङ्घर्ष, सोच, व्यवहार र दृष्टिकोणलाई समेटिएको छ। सकारात्मक सोचको विकास गर्दै व्यक्तिको जीवनशैलीमा सुधार ल्याउन तथा समाजमा सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्न यो पुस्तक उपयोगी हुने लेखक डा. राउतले बताउनुभयो।>
‘सकारात्मक सोचले जीवनलाई उज्यालो बनाउँछ, सन्तुष्ट मनले समाधान पाउँछ र सकारात्मक जीवनशैलीले समाजलाई समृद्ध बनाउँछ’ भन्ने मूल सन्देश बोकेको यस पुस्तकले पाठकलाई आफ्नो दृष्टिकोणबारे पुनःचिन्तन गर्न र असल जीवनशैलीको अभ्यास गर्न मार्गनिर्देशन गर्ने विश्वास लिइएको छ।>>