रुपन्देही, १९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी अस्पताल नाफामा जाने तर सरकारी अस्पताल घाटामा रहने अवस्था अन्त्य गर्न चुहावट नियन्त्रणका लागि विशेष योजना बनाउन निर्देशन दिनुभएको छ।>
आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका अस्पताललाई क्रमशः आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो।>
उहाँले सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदानको बजेट खर्च हुन नसकी फिर्ता जाने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।>
प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उल्लेख गर्दै उहाँले बजेटको अभाव नभए पनि ससर्त बजेट कार्यान्वयनमा कमजोरी हुँदा रकम फिर्ता जाने अवस्था आउन नहुने बताउनुभयो। समीक्षाबाट कमजोरी पहिचान गरी समाधानको कार्ययोजना बनाउनुपर्ने उहाँको भनाइ थियो।>
मुख्यमन्त्री आचार्यले तराईका दक्षिणी क्षेत्रमा देखिएको कुपोषण न्यूनीकरणका लागि स्थानीय तहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा विद्यालय तहदेखि नै स्वस्थ जीवनशैली प्रवर्धन गर्न आग्रह गर्नुभयो। समग्र स्वास्थ्य सूचकमा सुधार आए पनि खोपको सूचकमा थप सुधार आवश्यक रहेको उहाँले बताउनुभयो।>
कार्यक्रममा स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा संवेदनशीलतासाथ गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो।>
स्वास्थ्य सचिव विकास देवकोटाले रुपन्देहीमा ठूलो अस्पताल निर्माण भइरहेको र प्रदेशको समग्र स्वास्थ्य सेवामा क्रमिक सुधार हुँदै गएको जानकारी दिनुभयो।>
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालका अनुसार रुपन्देही, नवलपरासी र पाल्पामा घरमै सुत्केरी हुने दर शून्यमा झरेको छ। कपिलवस्तुमा भने अझै घरमै सुत्केरी हुने अवस्था रहेको छ।>
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक औसत एक हजार १५१ जना र भालुबाङ अस्पतालमा ४९ जनाले सेवा लिने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो। अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा सञ्चालन गर्ने अभ्यास सुरु गरिएको जानकारी पनि दिइयो।>
प्रमुख सचिव विनोदबहादुर कुँवरले स्वास्थ्य जनशक्तिको अभिलेख प्रणाली चुस्त बनाउन तथा असुलउपर गर्नुपर्ने बेरुजु शून्यमा झार्न निर्देशन दिनुभयो।>>