लेख प्रदेश अन्य १८ असोज २०८३, आइतबार

रूपान्तरित विकृतिको समस्या र समाधानका उपाय

Rastriyanews

भावनात्मक समस्या वा तनावलाई उचित रूपमा अभिव्यक्त गर्न नसक्दा त्यसका विभिन्न शारीरिक तथा व्यवहारजन्य लक्षणहरू देखा पर्न सक्ने अवस्थालाई रूपान्तरित विकृति भनिन्छ। अर्थात् व्यक्तिको मनमा रहेका आन्तरिक पीडा, तनाव वा मनोसामाजिक समस्या विभिन्न शारीरिक लक्षणका रूपमा बाहिर प्रकट हुने प्रक्रियालाई रूपान्तरित विकृति भनिन्छ। अंग्रेजीमा यसलाई Conversion Disorder भनिन्छ।

हरेक व्यक्तिको जीवनमा विभिन्न खालका तनाव र मानसिक दबाब आउनु स्वाभाविक प्रक्रिया हो। तनाव उत्पन्न हुँदा व्यक्तिको मन र शरीरले त्यसलाई व्यवस्थापन गर्न विभिन्न प्रतिक्रिया जनाउँछन्। तर कहिलेकाहीँ तनाव अत्यधिक हुँदा व्यक्तिको शरीरमा विभिन्न प्रकारका लक्षणहरू देखिन सक्छन्, जुन प्रायः व्यक्तिको सचेत नियन्त्रणबाहिर हुन्छन्।

कतिपय व्यक्तिहरूले आफ्नो मनमा रहेका समस्या, पीडा वा तनाव साथीभाइ, अभिभावक, शिक्षक तथा नजिकका व्यक्तिसँग उचित वातावरणको अभावका कारण व्यक्त गर्न सकिरहेका हुँदैनन्। आफ्नो समस्या अरूलाई बताउँदा अप्ठ्यारो पर्ने, अरूले हाँसोमा उडाउने, गलत अर्थ लगाउने वा आफूलाई कमजोर ठान्ने डरका कारण पनि उनीहरूले आफ्ना भावना मनभित्रै दबाएर राख्न सक्छन्। यसरी लामो समयसम्म तनाव र भावनात्मक दबाब कायम रहँदा केही व्यक्तिमा शारीरिक वा व्यवहारजन्य लक्षणहरू देखिन सक्छन्।

यस्ता लक्षणमा रुने, कराउने, ढल्ने, काम्ने, असामान्य रूपमा चल्ने, एकोहोरो हुने, शरीरका कुनै अङ्गमा कमजोरी महसुस हुनेलगायतका अवस्था देखिन सक्छन्। यसरी व्यक्त गर्न नसकिएका तनाव, भावना वा मनोसामाजिक समस्याहरू शारीरिक लक्षणका रूपमा प्रकट हुने अवस्थालाई रूपान्तरित विकृतिका रूपमा बुझ्न सकिन्छ। यसलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अवस्थाका रूपमा बुझ्नुपर्छ।

ऐतिहासिक दृष्टिकोण

उन्नाइसौँ शताब्दीतिर रूपान्तरित विकृतिलाई महिलामा मात्र देखिने र महिलाको प्रजनन अङ्ग, विशेषगरी पाठेघरसँग सम्बन्धित समस्या हो भन्ने गलत धारणा रहेको पाइन्छ। त्यस समयमा यसलाई महिलाको यौन व्यवहार वा यौनेच्छासँग जोडेर विभिन्न कथा, टिप्पणी तथा व्याख्या गर्ने र कहिलेकाहीँ हाँसो–मजाकको विषय बनाउने गरिएको पाइन्थ्यो। यस्ता पुराना धारणाको प्रभाव कतिपय समाजमा आज पनि देखिन सक्छ।

बीसौँ शताब्दीमा आएपछि भने यो अवस्था महिलामा मात्र नभई पुरुषमा पनि देखिन सक्ने तथ्य स्पष्ट हुँदै गयो। यो समस्या लिङ्गका आधारमा मात्र सम्बन्धित नभई तनाव, भावनात्मक दबाब तथा विभिन्न मनोसामाजिक कारकसँग सम्बन्धित हुन सक्ने कुरा अध्ययनहरूले देखाएका छन्। यद्यपि केही अध्ययनअनुसार पुरुषको तुलनामा महिला तथा किशोरीहरूमा यसको प्रचलन बढी देखिन सक्छ।

व्यक्तिहरूले तनाव र समस्यालाई फरक–फरक तरिकाले सामना गर्छन्। कतिपयले आफ्नो समस्या बाहिर व्यक्त गर्ने वा व्यवहारमा देखाउने गर्छन् भने कतिपयले समस्या तथा भावनालाई भित्रै दबाएर राख्ने गर्छन्। लामो समयसम्म भावनात्मक दबाब कायम रहँदा केही व्यक्तिमा त्यस्ता दबिएका भावना शारीरिक वा व्यवहारजन्य लक्षणका रूपमा प्रकट हुन सक्छन्।

सामूहिक रूपान्तरित विकृति

रूपान्तरित विकृति कहिलेकाहीँ एक व्यक्तिमा मात्र नभई समूहमा पनि देखिन सक्छ। समूहमा एकै प्रकारका वा मिल्दोजुल्दो लक्षणहरू एकपछि अर्को व्यक्तिमा देखिने अवस्थालाई सामूहिक रूपान्तरित विकृति (Mass Conversion Disorder) भनिन्छ।

यस्तो अवस्थामा सुरुमा एक व्यक्तिमा तनावसँग सम्बन्धित लक्षण देखिन सक्छ र त्यसपछि उसको नजिक वा प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरूमा पनि मिल्दोजुल्दो लक्षण देखिन सक्छ। समूहका सबै व्यक्तिमा यस्तो समस्या देखिन्छ भन्ने हुँदैन। विशेषगरी पहिले नै तनाव वा चिन्तामा रहेका, तनाव सहन सक्ने क्षमता कमजोर भएका वा आफूलाई पनि त्यस्तै समस्या हुन सक्छ भन्ने डरमा रहेका व्यक्तिहरू प्रभावित हुन सक्छन्।

विद्यालय, प्रार्थनाको समय, एउटै कक्षा, छात्रावास, पिकनिक, पार्टी तथा अन्य सामूहिक गतिविधिका क्रममा यस्तो अवस्था देखिन सक्छ। यसलाई सरुवा रोगका रूपमा बुझ्नु हुँदैन। उदाहरणका रूपमा, कहिलेकाहीँ यात्राका क्रममा एक व्यक्तिलाई वाकवाकी लागेर बान्ता भएपछि अरू व्यक्तिलाई पनि वाकवाकी लागेजस्तो हुनु वा बान्ता हुनुजस्तै सामाजिक तथा मनोवैज्ञानिक प्रभावको रूपमा यसलाई बुझ्न सकिन्छ।

सम्भावित कारणहरू

रूपान्तरित विकृतिका कारणबारे पूर्ण र एउटै कारणमा आधारित निष्कर्ष निकाल्न सकिँदैन। विभिन्न व्यक्तिमा विभिन्न मनोसामाजिक तथा भावनात्मक कारकको भूमिका हुन सक्छ। तनाव यसको महत्वपूर्ण कारकका रूपमा देखिन्छ।

रूपान्तरित विकृतिसँग सम्बन्धित हुन सक्ने केही सम्भावित कारणहरू यसप्रकार छन्स्

अन्तर्निहित भावना तथा समस्या अरूसामु व्यक्त गर्न नसक्ने स्वभाव हुनु।

हरेक कार्यमा असफल हुने अत्यधिक डर, त्रास वा चिन्ता हुनु।

तनावपूर्ण पारिवारिक वातावरण वा पारिवारिक बेमेल हुनु।

घरपरिवार, साथीभाइ वा शिक्षक–शिक्षिकासँग सम्बन्धित समस्या हुनु।

आघातजन्य घटना वा अवस्थाबाट गुज्रिएको हुनु।

बाल्यकाल वा वयस्क अवस्थामा शारीरिक वा मानसिक दुर्व्यवहार भोगेको हुनु।

किशोरावस्थामा हुने साथीसङ्गी वा दौंतरीको दबाब।

पहिलेदेखि नै तनाव र चिन्तामा रहेका व्यक्तिले अरूमा देखिएको लक्षण सुनेर वा देखेर आफूलाई पनि त्यस्तै हुने डर अनुभव गर्नु।

असर तथा लक्षणहरू

रूपान्तरित विकृतिका असर तथा लक्षण व्यक्ति, परिस्थिति, सामाजिक वातावरण तथा सांस्कृतिक सन्दर्भअनुसार फरक–फरक हुन सक्छन्। समग्रमा निम्न प्रकारका शारीरिक तथा व्यवहारजन्य लक्षणहरू देखिन सक्छन्।

शरीरमा देखिन सक्ने असर तथा लक्षणहरू

श्वास फेर्न गाह्रो भएजस्तो वा दम बढेजस्तो महसुस हुनु।

स्मरणशक्तिमा समस्या देखिनु।

सुनाइमा समस्या भएको महसुस हुनु।

घाँटीमा डल्लो अड्किएजस्तो महसुस हुनु।

आँखा तिर्मिराउनु वा वस्तु दुईवटा देखिएजस्तो हुनु।

दृष्टिमा समस्या देखिनु।

दाँत टम्म कसिनु।

वाकवाकी लाग्नु, बान्ता हुनु वा पेट दुख्नु।

पक्षाघातजस्तो लक्षण देखिनु।

पीडा वा स्पर्शको अनुभूति कम हुनु वा नहुनु।

हिँडडुल गर्न समस्या हुनु।

चेतनाको अवस्थामा परिवर्तन देखिनु।

हातखुट्टा झमझमाउनु वा लाटो भएको महसुस हुनु।

शारीरिक सन्तुलनमा समस्या हुनु।

व्यवहारमा देखिन सक्ने असर तथा लक्षणहरू

अदृश्य शक्तिले छोपेको जस्तो अनुभव हुनु, काम्नु वा बेहोस हुनु।

जता मन लाग्यो त्यतै हिँड्ने वा दौडने।

कपडा च्यात्ने वा कुटपिट गर्ने जस्ता आक्रामक व्यवहार देखाउनु।

देवी–देवता चढेजस्तो व्यवहार देखिनु।

बर्बराउनु, रुनु, कराउनु, चिच्याउनु वा घस्रिनु।

अत्यधिक ध्यान वा भीडभाडको अवस्थामा लक्षण लामो समयसम्म रहनु।

वरपर मानिसहरू भएको अवस्थामा मात्र ढल्नु वा विस्तारै ढल्नु।

हातखुट्टा कमजोर वा लुलो भएको महसुस हुनु।

आक्रामक व्यवहार देखाउनु।

असामान्य वा असम्बन्धित कुरा गर्नु तथा प्रश्नको उचित उत्तर दिन कठिनाइ हुनु।

नोटस् माथि उल्लेखित कुनै पनि लक्षण देखिँदैमा त्यसलाई तुरुन्तै रूपान्तरित विकृति भनेर निष्कर्ष निकाल्नु हुँदैन। यस्ता लक्षण अन्य शारीरिक वा मानसिक स्वास्थ्य समस्याका कारण पनि देखिन सक्छन्। त्यसैले पहिलोपटक वा गम्भीर लक्षण देखिएमा स्वास्थ्यकर्मीबाट उचित परीक्षण तथा मूल्याङ्कन गराउनु आवश्यक हुन्छ।

समाधानका उपायहरू

रूपान्तरित विकृतिको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। लक्षण देखिएको व्यक्तिलाई अत्यधिक ध्यान दिने, डराउने वा वरपर भीड जम्मा गर्ने गर्दा तनाव झनै बढ्न सक्छ। त्यसैले व्यक्तिलाई शान्त, सुरक्षित र सहयोगी वातावरण प्रदान गर्दै उसको ध्यानलाई सहज रूपमा अन्य सकारात्मक गतिविधितर्फ मोड्नुपर्छ।

मनका कुरा खुला रूपमा व्यक्त गर्न प्रोत्साहित गर्ने, तनावका कारण पहिचान गर्ने तथा त्यसको व्यवस्थापन गर्न सहयोग गर्ने कार्य महत्वपूर्ण हुन्छ। व्यक्ति, परिवार तथा विद्यालयले निम्न भूमिका निर्वाह गर्न सक्छन्।

व्यक्तिको भूमिका

आफ्नो मनका कुरा विश्वास लाग्ने व्यक्तिसँग खुलस्त रूपमा साझा गर्ने।

आफ्नोसमस्या घरपरिवार, साथीभाइ तथा नजिकका व्यक्तिलाई जानकारी गराई समाधान खोज्ने प्रयास गर्ने।

मनका कुरा दैनिक लेखेर व्यक्त गर्ने बानी बसाल्ने।

आफूलाई रमाइलो लाग्ने वा मन पर्ने काममा ध्यान केन्द्रित गर्ने।

मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधिमा संलग्न हुने।

नियमित शारीरिक व्यायाम तथा पर्याप्त आराम गर्ने।

अत्यधिक तनाव महसुस भएमा आवश्यकताअनुसार मनोविमर्शकर्ता, मनोवैज्ञानिक वा स्वास्थ्यकर्मीको सहयोग लिने।

परिवारको भूमिका

पहिलोपटक यस्तो समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा लैजाने र शारीरिक रोग वा अन्य स्वास्थ्य समस्या भए–नभएको जाँच गराउने।

लक्षण देखिएको व्यक्तिलाई शान्त, सुरक्षित तथा सहज वातावरणमा राख्ने र परिवारका सदस्यहरू नआत्तिने।

व्यक्ति होसमा आएपछि उसका कुरा ध्यानपूर्वक सुन्ने र बुझ्ने प्रयास गर्ने।

उसको समस्याबारे बुझी गोपनीयता कायम गर्ने र आवश्यक भावनात्मक सहयोग प्रदान गर्ने।ड्ड सकारात्मक व्यवहार र प्रयासलाई प्रोत्साहन गर्ने।

समस्या समाधानका लागि सहज वातावरण तयार गरी उसको सहमतिमा समाधानका उपाय खोज्ने।

घरपरिवारमा नियमित रूपमा कुराकानी गर्ने, एक–अर्काको विचार सुन्ने र मिलेर समस्याको समाधान खोज्ने वातावरण निर्माण गर्ने।

परिवारका सबै सदस्यप्रति सम्मानजनक तथा सकारात्मक व्यवहार गर्ने।

आवश्यक परेमा मनोविमर्शकर्ता, मनोवैज्ञानिक वा मनोचिकित्सकको सहयोग लिने।

शिक्षक तथा विद्यालयको भूमिका

विद्यालय बालबालिकाको सामाजिक तथा भावनात्मक विकासको महत्वपूर्ण स्थान हो। त्यसैले विद्यार्थीमा यस्तो समस्या देखिँदा शिक्षक तथा विद्यालयले संवेदनशील र व्यवस्थित भूमिका निर्वाह गर्नुपर्छ।

कक्षाकोठामा विद्यार्थीलाई गाह्रो वा असहज महसुस भएमा हात उठाएर शिक्षकलाई जानकारी गराउन प्रोत्साहित गर्ने।

शिक्षकको अनुपस्थितिमा समस्या देखिएमा सम्बन्धित शिक्षक वा विद्यालय प्रशासनसम्म जानकारी पुर्‍याउने व्यवस्था गर्ने।

विद्यालयमा यस्तो अवस्था देखिएमा नआत्तिने, भीडभाड हटाउने र सबैलाई शान्त रहन अनुरोध गर्ने।

लक्षण देखिएको विद्यार्थीलाई सुरक्षित तथा शान्त स्थानमा राख्ने व्यवस्था मिलाउने।

विद्यार्थीमाथि अत्यधिक ध्यान केन्द्रित नगरी आवश्यक निगरानी राख्ने।

विद्यार्थीका अभिभावकलाई समयमै जानकारी गराउने।

अभिभावकसँग समस्या र विद्यार्थीको अवस्थाबारे संवेदनशील रूपमा जानकारी आदान–प्रदान गर्ने।

अन्य विद्यार्थीलाई पनि अनावश्यक डर नहुने गरी अवस्था सामान्य रहेको र आवश्यक सहयोग भइरहेको जानकारी दिने।

अवस्था सामान्य भएपछि विद्यार्थीलाई सिर्जनात्मक तथा सकारात्मक गतिविधिमा सहभागी गराउने।

कक्षाको सुरुवातमा हल्का शारीरिक व्यायाम तथा वार्म–अप गतिविधि समावेश गर्ने।

समस्या देखिएको विद्यार्थीलाई डर नदेखाई शान्त रहन, आराम गर्न र आफू सुरक्षित रहेको अनुभूति गराउने।

विद्यार्थी निको भएपछि हातमुख धुन तथा आवश्यक आराम गर्न दिने।

अनावश्यक भीडभाड, होहल्ला तथा डर फैलाउने गतिविधि नियन्त्रण गर्ने।

विद्यालयमा सबै विद्यार्थीप्रति सदैव सकारात्मक तथा सम्मानजनक व्यवहार गर्ने।

सकारात्मक व्यवहार र प्रयासलाई प्रोत्साहन गर्ने।

पठनपाठनमा रमाइला तथा सिर्जनात्मक गतिविधि समावेश गरी विद्यार्थीलाई सहज र खुसी वातावरणमा सिक्ने अवसर प्रदान गर्ने।

पढाइ, परीक्षा तथा अन्य विषयसँग सम्बन्धित अनावश्यक डर, दबाब र असुरक्षाको भावना कम गर्ने वातावरण तयार गर्ने।

विद्यार्थीहरूसँग तनावका कारण र त्यसलाई व्यवस्थापन गर्ने उपायबारे नियमित रूपमा कुराकानी गर्ने।

तनाव व्यवस्थापन, भावनात्मक अभिव्यक्ति तथा जीवनोपयोगी सीपसम्बन्धी गतिविधि सञ्चालन गर्ने।

समय–समयमा मनोसामाजिक समस्याका विषयमा मनोविमर्शकर्ता, मनोवैज्ञानिक वा मनोसामाजिक कार्यकर्ताको सहयोगमा अभिमखीकरण कार्यक्रम सञ्चालन गर्ने।

निष्कर्ष

रूपान्तरित विकृतिलाई केवल नाटक, बहाना वा अन्धविश्वासका रूपमा बुझ्नु उचित हुँदैन। व्यक्तिले अनुभव गरिरहेको लक्षण वास्तविक हुन सक्छन्, यद्यपि तिनको कारण मनोसामाजिक वा भावनात्मक पक्षसँग सम्बन्धित हुन सक्छ। त्यसैले यस्तो अवस्थामा व्यक्तिलाई दोष लगाउने, हाँसोमा उडाउने, डर देखाउने वा अपमान गर्नेभन्दा पनि उसको समस्या बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्नु आवश्यक हुन्छ।

विशेषगरी विद्यालय तथा घरपरिवारमा बालबालिका र किशोरकिशोरीले आफ्ना भावना तथा समस्या सहज रूपमा व्यक्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने, सकारात्मक व्यवहार गर्ने, तनाव व्यवस्थापनका उपाय सिकाउने तथा आवश्यकताअनुसार विशेषज्ञको सहयोग लिने हो भने यस्ता समस्याको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ।

पहिलोपटक वा गम्भीर शारीरिक लक्षण देखिएमा त्यसलाई रूपान्तरित विकृति भनेर आफैँ निष्कर्ष निकाल्नु हुँदैन। आवश्यक स्वास्थ्य परीक्षण गरी अन्य सम्भावित शारीरिक कारणहरूलाई मूल्याङ्कन गर्नुपर्छ। आवश्यकताअनुसार चिकित्सक, मनोवैज्ञानिक, मनोविमर्शकर्ता वा मनोचिकित्सकबाट सहयोग लिनुपर्छ।

अन्ततः समस्या लुकाउने होइन, व्यक्त गर्नेस दोष दिने होइन, बुझ्नेस डराउने होइन, सहयोग गर्ने संस्कारको विकास गर्न सकेमा व्यक्ति, परिवार, विद्यालय र समाज सबैको मानसिक स्वास्थ्यलाई सकारात्मक दिशातर्फ अघि बढाउन सकिन्छ।

सन्दर्भ सामग्री

रिजाल, खिमा। अन्तर्मनका रङ्गहरू। अक्षर क्रियसन्स नेपाल, काठमाडौँ।

खतिवडा, नारायणप्रसाद। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा। आशिष पुस्तक भण्डार, बागबजार, काठमाडौँ।

विभिन्न शैक्षिक तथा मनोसामाजिक विषयसम्बन्धी अनलाइन स्रोतसामग्री।


लेखक: गोविन्द पाण्डे (शिक्षक)

बुटवल उपमहानगरपालिका–१५, रुपन्देही


प्रतिक्रिया

सम्बन्धित समाचार