काठमाडौं । देशका विभिन्न क्षेत्रमा बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना देखिएकाले किसान, यात्रु तथा उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
भारत मौसम विज्ञान विभागको विश्लेषणअनुसार लुम्बिनीदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। बङ्गालको खाडीमा विकसित हुँदै गरेको मौसमी प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।>
उक्त प्रणालीको प्रभावले पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुन सक्ने तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ।>
सम्भावित वर्षाका कारण धान काट्ने तयारीमा रहेका किसानको कृषि कार्य प्रभावित हुन सक्ने देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा मौसमविद् डा. धर्मराज उप्रेतीले बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएका किसानलाई मौसमको अवस्था हेरेर काम गर्न सुझाव दिएका छन्।>
त्यस्तै, दसैँपछि आफ्नो कार्यस्थल फर्किने तयारीमा रहेका यात्रुलाई शुक्रबार र शनिबार यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न आग्रह गरिएको छ। वर्षा र हिमपातका कारण सडक यात्रा प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गरेर मात्र यात्रा सुरु गर्न सुझाव दिइएको छ।>
उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।>
सम्भावित मौसमी प्रणालीका कारण कृषि कार्य, सडक यातायात र हिमाली क्षेत्रको पदयात्रामा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।>>