पाल्पा । पाल्पाको रामपुरमा आजदेखि सुरु हुन लागेको चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। ज्योतिपुञ्ज युवा क्लबले आफ्नो ३०औँ वार्षिक उत्सवको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिता आगामी असोज ३१ गतेसम्म सञ्चालन हुनेछ।>
जिल्लाकै सर्वाधिक पुरस्कार राशिमध्येको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजकले प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरेको थियो। ट्रफी क्लबका अध्यक्ष सुन्दर राना, खेल संयोजक अनिल शाही, पूर्वअध्यक्ष सुदीप गौतम, ध्रुव पोखरेल, सुद्दाम्शु हमाललगायतले सार्वजनिक गर्नुभएको थियो।>
‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको ज्योतिपुञ्ज कप कालीगण्डकी बेंसी क्षेत्रकै ठूलो फुटबल प्रतियोगिताका रूपमा परिचित छ।>
क्लबका अध्यक्ष सुन्दर रानाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यस वर्ष विगतको भन्दा थप व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्ने प्रयास गरिएको बताउनुभयो। सक्षम खेलाडी उत्पादन गर्ने, खेलकुदलाई पर्यटनसँग जोड्ने, रामपुरमा स्तरीय खेलमैदान निर्माण गर्ने तथा खेलमैत्री वातावरण विकास गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो। साथै उहाँले प्रतियोगिता सफल बनाउन सबै सरोकारवालासँग सहयोगको आग्रह गर्नुभयो।>
खेल संयोजक अनिल शाहीका अनुसार प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक ज्योतिपुञ्ज युवा क्लब, रुपन्देहीको देवदह ब्वाइज क्लब र सम्पूर्ण युवा क्लब, स्याङ्जाको चापाकोट आरएफसी र होराइजन क्लब वालिङ, नवलपरासीको भैरव स्पोर्ट्स क्लब, चितवनको सूर्यपुर फुटबल क्लब र हनामी बीएफसी, नवलपरासी पूर्वको ठकुरी कल्याण समाज तथा पोखराको गन्नी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।>
प्रतियोगिताको उद्घाटन खेल शुक्रबार दिउँसो ३ बजे आयोजक ज्योतिपुञ्ज युवा क्लब र ठकुरी कल्याण समाजबीच हुनेछ।>
विजेतालाई ३ लाख ६६ हजार ६६६ रुपैयाँ>
प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख ६६ हजार ६६६ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ११ हजार १११ रुपैयाँ पाउनेछ।>
त्यस्तै, सेमिफाइनलमा पुग्ने टोलीलाई जनही ३० हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ दिइने व्यवस्था गरिएको छ।>
प्रतियोगिताको प्रायोजन वाइवाइले गरेको छ। गण्डकी बेंसी क्षेत्रका विभिन्न व्यक्ति तथा संघसंस्थाबाट समेत सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।>
खेल अवलोकनका लागि क्वार्टरफाइनलसम्म १०० रुपैयाँ तथा सेमिफाइनल र फाइनल खेलका लागि २०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।>
असोज ३० गते माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता>
क्लबको वार्षिक उत्सवकै अवसरमा असोज ३० गते माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिनेछ। प्रतियोगिताका संयोजक रमेश पोखरेलका अनुसार गण्डकी बेंसी क्षेत्रका इच्छुक विद्यालयले सहभागिता जनाउन सक्नेछन्।>
हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्वितीयले ९ हजार, तृतीयले ६ हजार र सान्त्वना स्थान हासिल गर्नेले ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।>
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले ज्योतिपुञ्ज कप रामपुर नगरपालिकाको मात्र नभई समग्र पाल्पा जिल्लाकै पहिचानका रूपमा स्थापित भएको बताउनुभयो। उहाँले प्रतियोगिताको सफलताको शुभकामना दिँदै सबै संघसंस्था र समुदायलाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो।>
प्रेस संयोजक कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष सुन्दर रानाको प्रमुख आतिथ्यता रहेको थियो। क्लबका सचिव गोपाल दमाईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन निलकण्ठ पोखरेलले गर्नुभएको थियो।>
प्रतियोगितालाई लक्षित गरी किसानबारी खेलमैदानमा घेराबार गरिएको छ भने दर्शकलाई सहज रूपमा बसेर खेल अवलोकन गर्न अस्थायी प्यारापिटसमेत निर्माण गरिएको आयोजकले जनाएको छ।>>