राष्ट्रिय न्युज - पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्गदीस्थित महामृत्युञ्जय शिवासन धाममा माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चार दिनसम्म महाशिवरात्रि विशेष भव्य धार्मिक अनुष्ठान आयोजना हुने भएको छ। आयोजकको अनुसार यस पावन अवसरमा देश–विदेशका शिवभक्तजनको सहभागितासँग कार्यक्रम सञ्चालन गरिनेछ।

यस वर्षको महाशिवरात्रि अनुष्ठानमा मन्दिरका प्रमुख संरक्षक १००८ स्वामी श्री विवेकानन्द सरस्वती महाराजको पावन उपस्थिति रहनेछ भने कल्याणी माताको आध्यात्मिक प्रवचन पनि कार्यक्रमको प्रमुख आकर्षण हुने जनाइएको छ। भक्तजनहरूले उनको प्रवचन सुन्दै भक्ति भाव जागृत गर्ने र आत्मशुद्धिको अनुभूति प्राप्त गर्ने विश्वास राख्छन्। साथै भक्ति योग फाउन्डेसन नेपालका संस्थापक आचार्य श्री नारायण प्रसाद उपाध्याय (पुज्य सञ्जेल जी महाराज)को मुखारबिन्दुबाट शिवपुराण प्रवचन गरिनेछ।
कार्यक्रममा शिवपुराण पाठ, महामृत्युञ्जय जप, नित्यकर्म, भस्म स्नान तथा महास्नान, रुद्र अभिषेक हवन, ध्यान–साधना, भव्य भजन–कीर्तन, विशेष महाआरती तथा महाप्रसादको व्यवस्था गरिएको छ। नेपालका प्रसिद्ध ताण्डव नृत्यकार सरोज ढकाल टिमको विशेष प्रस्तुति पनि समावेश गरिएको छ। आयोजकको अनुसार अघिल्लो वर्षझैँ यस वर्ष पनि शिवभक्तहरूको उल्लेखनीय सहभागितासँग कार्यक्रमलाई अझ भव्य बनाइनेछ।
महामृत्युञ्जय शिवासन धाममा बिहान ६:०० देखि ११:०० बजेसम्म पूजा–पाठ, दिउँसो १:०० देखि ४:०० बजेसम्म कथा प्रवचन तथा साँझ ६:०० देखि ९:०० बजेसम्म भजन–कीर्तन सञ्चालन हुनेछ। प्रसाद ग्रहण समय दिउँसो कथा समाप्त भएपछि ४:०० बजे र साँझ भजन–कीर्तनपछि ९:०० बजे रहनेछ।
महामृत्युञ्जय शिवासन क्षेत्र विकास समितिले पाल्पाले सम्पूर्ण शिवभक्तजनलाई उपस्थित भएर भगवान् भोलेनाथको अनुकम्पा प्राप्त गर्न आग्रह गरेका छन्। यस पावन अवसरमा सहभागी भई शिवतत्त्वको अनुभव र आत्मशुद्धि हासिल गर्ने अवसर प्राप्त हुने जनाइएको छ।








