पाल्पा। नेपालको चारधाममध्येको एक पवित्र तीर्थस्थल तथा पाल्पा गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा परम्परागत भगवान् ऋषिकेशवको भव्य रथयात्रा सम्पन्न भएको छ। झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार आयोजित रथयात्रामा स्थानीय बासिन्दाका साथै छिमेकी जिल्लाहरूबाट आएका सयौं श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।>
कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य पाल्पाका माननीय सांसद माधव बहादुर थापाले रुरु क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।>
सांसद थापाले रुरु क्षेत्र हाम्रो गौरव र पहिचान भएकोले यहाँको प्राचीन रथयात्रा र मठमन्दिरको संरक्षणसँगै यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जनप्रतिनिधि र सरकारको तर्फबाट निरन्तर पहल, साथ र सहयोग रहने बताउदै रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन र पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गराउन आफूले विशेष भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।>
सोही कार्यक्रममा उपस्थित लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री माननीय तुलसी प्रसाद चौधरीले रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक गरिमालाई उजागर गर्न रथयात्राको विशेष महत्त्व रहेको बताउदै,मन्त्री चौधरीले रुरु क्षेत्र अन्तर्गत आयोजना हुने रथ यात्रा यस क्षेत्रको एक अत्यन्तै महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक कार्यक्रम भएकाले ऐतिहासिक र पवित्र रुरु क्षेत्रको समग्र पूर्वाधार विकास, संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकार पूर्ण रूपमा कटिबद्ध भएको जिकिर गर्नुभयो।>
कार्यक्रममा ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले मन्दिरको ऐतिहासिक, पौराणिक तथा धार्मिक पृष्ठभूमिमाथि प्रकाश पार्नुभएको थियो। झण्डै पाँच शताब्दीअघि सोह्रौं शताब्दीमा पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा भगवान् ऋषिकेशवको शालिग्राम मूर्ति फेला पारेपछि मन्दिर स्थापना गरी पूजाआराधना र रथयात्राको परम्परा सुरु भएको इतिहास उहाँले सुनाउनुभयो।>
अध्यक्ष भट्टराईले पवित्र रुरु क्षेत्र र ऋषिकेशव मन्दिरको आफ्नै ऐतिहासिक तथा पौराणिक महत्त्व दर्शाउदै परापूर्वकालदेखि निरन्तर चल्दै आएको रथयात्राको मौलिकता जोगाइराख्न र भावी पुस्तालाई यसको इतिहास चिनाउन निरन्तर लागिरहेको बताउनुभयो।>
पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित ऋषिकेशव मन्दिर परिसरबाट वैदिक मन्त्रोच्चारण, पञ्चेबाजा र धार्मिक भजन–कीर्तनसहित निकालिएको रथयात्रालाई गुल्मीको रिडी बजार, रुरु क्षेत्र हुँदै पुनः अर्गली बजारसम्म परिक्रमा गराइएको थियो। कालीगण्डकी र रिडी खोलाको संगमस्थल रुरु क्षेत्रमा स्नान गरी ऋषिकेशवको दर्शन गर्नाले मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।>
>>