राष्ट्रिय न्युज -पाल्पा तानसेन नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ।
नगरसभाले नगरपालिकाको आर्थिक सुशासन, प्रशासनिक सुधार तथा संस्थागत सुदृढीकरणसँग सम्बन्धित चारवटा महत्वपूर्ण विधेयक तथा प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
नगरसभाले विनियोजन ऐनको पहिलो संशोधन विधेयक–२०८२, तानसेन नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२, तानसेन नगरपालिका क्षेत्रभित्र विज्ञापन करको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ तथा तानसेन नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठ ले पारित भएका कानुन तथा प्रतिवेदनले तानसेन नगरपालिकामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई संस्थागत रूपमा मजबुत बनाउने बताउनुभयो। विनियोजन ऐनको संशोधनपछि चालु आर्थिक वर्षका कार्यक्रम तथा योजनाहरूलाई आवश्यकता अनुसार पुनःप्राथमिकता दिई कार्यान्वयन गर्ने बाटो खुलेको नगरपालिकाले जनाएको छ।
उपप्रमुख प्रतीक्षा गाहा ले नगरसभाबाट पारित भएका विधेयकहरूले नगरपालिकाको आर्थिक अनुशासन र आन्तरिक आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।











