पाल्पा, चैत २६ — जिल्ला प्रहरी कार्यालय पाल्पाले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। पछिल्लो समय यस्ता मोटरसाइकलबाट ध्वनि प्रदूषण बढेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि प्रहरीले कडाइ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको संयुक्त टोलीले तानसेन बजार क्षेत्रमा विशेष निगरानी बढाएको छ। सो क्रममा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वातावरणमा असर पर्ने गरी ध्वनि प्रदूषण गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिनेछ। यस्ता गतिविधि रोक्न निरन्तर अनुगमन र नियन्त्रण अभियान सञ्चालन गरिने समेत जनाइएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गर्दै ध्वनि प्रदूषण नगर्ने गरी सवारी साधन प्रयोग गर्न अनुरोध गरेका छन्।











