कपिलवस्तु, कात्तिक २ गते । कपिलवस्तु प्रहरीले जिल्लाका दुई स्थानबाट एकै बिहान चार लाख ३४ हजार दुई सय रुपियाँ मूल्य बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ।>
प्रहरीले शिवराज नगरपालिकाबाट तयारी कपडा तथा यशोधरा गाउँपालिकाबाट चिनी, पटका र खेलौना बरामद गरेको हो।>
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार आइतबार बिहान करिब ५ः४५ बजे शिवराज नगरपालिका–१ शिवपुरीस्थित कोलनी चोकमा काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा तीन लाख ३१ हजार दुई सय रुपियाँ मूल्यका बिलबिजकविहीन तयारी कपडा फेला परेका थिए।>
इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक आदर्श गिरीको कमान्डमा खटिएको सात सदस्यीय प्रहरी टोलीले बस जाँच गर्दा १६८ थान रेडिमेड हुडी र ९९ थान ट्राउजर बरामद गरेको थियो। प्रहरीका अनुसार हुडीको अनुमानित मूल्य दुई लाख ५२ हजार र ट्राउजरको ७९ हजार दुई सय रुपियाँ रहेको छ।>
सोही बसमा ल्याइँदै गरेको आवश्यक कागजात नभएको लु ५४ प २५५९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।>
यसैगरी, यशोधरा गाउँपालिका–५ ननवास्थित खेतको कच्ची बाटोमा भारत हुँदै नेपालतर्फ ल्याएर लुकाइछिपाइ बेवारिसे अवस्थामा राखिएका एक लाख तीन हजार रुपियाँ मूल्यका चिनी, पटका र खेलौना बरामद गरिएको छ।>
प्रहरीचौकी म्यादपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर देउवाको कमान्डमा खटिएको गस्ती टोलीले आइतबार बिहान करिब ७ बजे उक्त सामान फेला पारेको हो। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सारमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।>
कपिलवस्तु प्रहरीले दसैँ सुरु भएयता पछिल्लो १० दिनमा ९० लाख रुपियाँभन्दा बढी मूल्यका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानबाट लत्ताकपडासहितका सामान र सवारीसाधन नियन्त्रणमा लिएका हुन्।>>