म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। बाढीपहिरोले क्षतिग्रस्त सडकलाई स्थायी रूपमा पुनर्निर्माण गर्न थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ।>
आयोजना प्रमुख शर्माले सडकमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए। प्रारम्भिक मर्मतपछि दुई सातामै यातायात सञ्चालनमा ल्याइए पनि सडकलाई पुरानै अवस्थामा फर्काउन थप तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ।>
उनका अनुसार पहिरो नियन्त्रण, नदी नियन्त्रण तथा सडकको स्थायी पुनर्निर्माणसँगै यसअघि डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ।>
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडकमा सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर क्षेत्रमा क्षति पुगेको छ। यसअघि सुरक्षित मानिएका स्थानमा समेत नयाँ पहिरो खस्ने र नदी कटान हुने समस्या देखिएको छ।>
सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले आर्थिक वर्ष २०७३/७४ मा निर्माण सुरु भएको यस सडक आयोजनामा हालसम्मकै ठूलो क्षति भएको बताए।>
बाढीपहिरोका कारण सडक यात्रा पनि निकै कष्टकर बनेको छ। यसअघि करिब एक घण्टा तीन मिनेटमा पार गर्न सकिने म्याग्दी खण्डमा अहिले तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ।>
पर्वतको फर्से, केराबारी, लामाबगर तथा म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता र सुकेबगरलगायत क्षेत्रमा बाढीपहिरोले व्यापक क्षति पुर्याएको छ।>
कालीगण्डकी नदीको बाढीले पोखरेबगरस्थित सडक पुल बगाएपछि हाल अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन गरिएको छ। पहिरो गएका केही स्थानमा एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन हुँदा सवारी फस्ने र जाम हुने समस्या बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए।>
कोरला नाकाबाट भित्रिने कन्टेनर तथा मालवाहक सवारीसाधनसँगै मुस्ताङ आवतजावत गर्ने पर्यटक र स्थानीयवासीले समेत यही सडक प्रयोग गर्ने भएकाले सडक अवरुद्ध हुँदा व्यापार, पर्यटन र आवागमन प्रभावित भएको छ।>
चीन र भारतलाई जोड्ने कोरला नाका तथा व्यापारिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको यस सडकको केही दिनअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्री पुनले सडक तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने र काम छिटो अघि बढाउन निर्देशन दिएका थिए।>>