नवराज ज्ञवाली पाल्पा, रिब्दिकोट गाउँपालिकाकाे जलेश्वरमा भएको जलेश्वरधाम शिवपुराण महायज्ञको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ।
रिब्दिकाेट गाउँपालिकाकाे प्रमुख संरक्षणमा जलेश्वर पर्यटनक्षेत्र विकास समितिकाे आयोजना र विश्व हिन्दु महासंघ पाल्पाको समन्वयमा शिवपुराण महायज्ञको गरिएको हाे।
गत माघ २२ गते देखि फागुन ३ गतेसम्म सञ्चालनमा रहेको शिव पुराण महायज्ञबाट एक करोड चालिस लाख रूपैयाँकाे आम्दानी भएको मूल आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
महायज्ञमा विभिन्न व्यक्ति तथा संघसंस्थाले श्रद्धालु भक्तजनले चढाएको भेटी दान सहयोगबाट संकलन भएको रकम रहेको आर्थिक उपसमिति संयोजक प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँले शिव पुराण महायज्ञ सञ्चालन अवधिमा ८५ लाख रूपैयाँ खर्च भएको बताउँनुभयाे । त्यस्तै उहाँले आम्दानी खर्च प्रतिवेदन सार्वजनिकमा थप खर्च तर्फ गौमुखे धारा निर्माणको कामलाई बाँकी रहेको पत्रकार सम्मेलनमा आर्थिक संयाेजक कुँवरले जानकारी गराउँनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रिव्दीकोट गाउँपालिकाअध्यक्ष एवं शिवपुराण महायज्ञका प्रमुख संरक्षक नारायणबहादुर कार्कीले गाउँपालिकाले जलेश्वर मन्दिर शिवधामलाई वैकुण्ठधाम बनाउने सपना देखेको र त्यो सपना शिव पुराण महायज्ञ सफलतापूर्वक सम्पन्न भएपछि पूरा भएपछि मन आनन्दित भएको बताउँनुभयो । उहाँले महायज्ञ आफूहरुले कल्पना गरेको भन्दा उत्कृष्ट रुपमा महायज्ञ सम्पन्न भएको बताउँनुहुँदै जलेश्वर मन्दिर जलेश्वर शिव धाममा सेनबंशीय धर्मशाला बनाउने,बाँस बस्न मिल्ने कटेज बनाउने,आयुर्वेद एवं गुरुकुल शिक्षा संचालन गर्ने,जलेश्वरधाम शिव मन्दिरमा नियमित पूजाको व्यवस्था गर्ने योजना रहेको बताउँनुभयाे । उहाँले महायज्ञमा रिव्दीकोटमा माइती भएका दिदीबहिनीहरु सहभागी हुँदा आफूलाई निकै खुसी लागेको भन्दै उहाँले रिव्दीकोट गाउँपालिकाले जलेश्वर मन्दिर शिव धामलाई गुरुयोजना अनुसार निर्माणको कामलाई आगामी दिनमा पनि निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार सम्मेलन तथा आम्दानी खर्च कार्यक्रममा रिव्दीकोट गाउँपालिका पूर्वअध्यक्ष एवं महायज्ञ मुल समिति सल्लाहकार नारायणबहादुर जिसीले जलेश्वर धामलाई पर्यटकीय क्षेत्र एवं धार्मिक स्थल बनाउन सबैको साथ सहयोग रहेको बताउँनुभयो । उहाँले विगतदेखि नै यस भेगका जनताहरूको चाहना अनुसार जलेश्वर मन्दिर जलेश्वर धाममा भाैतिक संरचना निर्माणकाे काम अगाडि बढाउन संघ, प्रदेश तथा स्थानीय सरकारकाे भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यहाँकाे पूर्वाधार बनेको कुरा उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलन कार्यक्रममा महायज्ञ मूल आयोजक समितिका पदाधिकारी सहित सहयोग गर्ने धर्म परायण व्यक्तिलाई सम्मान गरिएको छ। कार्यक्रमका अध्यक्ष एवं मुल आयोजक समितिका अध्यक्ष वेणीमाधव आचार्यले महायज्ञमा सकेको दान दिएर यस क्षेत्रको धार्मिक विकासमा सहयोग गर्ने सम्पूर्ण भक्तजन एवं सहयोग दाताहरूलाई धन्यवाद दिनुभयो। शिव पुराण महायज्ञ मूल आयोजक समिति उपाध्यक्ष सम्मर विश्वकर्माको स्वागत एवं मुल आयोजक समिति सचिव दिवाकर अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।













