राष्ट्रिय न्युज-पाल्पाको पूर्वखोला गाँउपालिका वडा नम्बर १, सिलुवामा सम्पन्न नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले जितेको छ । मण्डली स्पोर्टस् क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा भएको क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा मामा भान्जा युनाईटेड क्लब , रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै मणिमुकुन्दले उपाधि चुमेको हो ।
फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लवले पहिलो, तेस्रो र चौथो सेट २५–१९, २५–१६ र २५–२१ अंक सहितको जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दोस्रो सेट मामा भान्जा युनाईटेडले २५–१९ अंक सहित जितेको थियो । यस संगै मामाभान्जा युनाईटेडले द्वितीय स्थानमा चित्त बुझाएको छ । गत असोज २९ देखि भएको प्रतियोगितामा निस्दी खेलकुद विकास समिति तृतीय भएको छ ।
तृतीय स्थान छनौट खेलमा होराइजन स्पोर्टस् क्लव बुटवललाई ३–१ सेटले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टीमले नगद एक लाख ५१ हजार रुपियाँ, दोस्रो हुनेले एक लाख एक हजार रुपियाँ, तेस्रोले ७१ हजार रुपियाँ र सान्त्वना स्थान जित्नेले ३६ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मणिमुकुन्द भलिबल क्लवका रेशम वि.क. बनेका थिए । त्यस्तै उत्कृष्ट सर्भर मिलन चन्द, उत्कृष्ट डिफेन्डर मामा भान्जा युनाईटेडका राजन दर्लामी, उत्कृष्ट सेटर मणिमुकुन्द भलिबल क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाईकर मामाभाज्जा युनाईटेडका सञ्जु विक्रम शाह, उत्कृष्ट ब्लकर मणिमुकुन्द भलिबलका चिरन खड्का बन्न सफल भएका छन । विद्यागत तर्फ उत्कृष्ट खेलाडीले नगद पाँच हजार र अन्य विद्यामा जनही दुई/दुई हजार पुरस्कार प्राप्त गरेका छन ।
मण्डली स्पोट्र्स क्लबका अध्यक्ष अन्त प्रसाद श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग, पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे सञ्चालन क्लवका सचिव कृष्ण प्रसाद पंगेनीले गर्नु भएको थियो ।










