काठमाडौँ, कात्तिक १ । बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा आइतबार नवदुर्गा भवानीको आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।>
माता महागौरीलाई शान्त, सौम्य र अत्यन्त उज्ज्वल स्वरूपकी देवीका रूपमा पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार उहाँको वाहन वृष र सिंह हुन्। उहाँका चार हातमा त्रिशूल, डमरू तथा अभय र वरद मुद्रा रहेका छन्।>
पौराणिक कथाअनुसार भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न माता पार्वतीले हजारौँ वर्षसम्म कठोर तपस्या गर्नुभएको थियो। लामो समयसम्म घाम, पानी र प्रतिकूल मौसम सहँदै तपस्या गर्दा उहाँको शरीर कालो भएको थियो। पछि भगवान् शिवले गङ्गाजलले स्नान गराइदिएपछि उहाँको वर्ण चन्द्रमाजस्तै उज्ज्वल भएको र त्यसपछि ‘महागौरी’ नाम रहन गएको धार्मिक विश्वास छ।>
अर्को कथाअनुसार माता पार्वती तपस्यामा लीन रहँदा एउटा भोको सिंह उहाँलाई आहार बनाउने उद्देश्यले नजिकै आएर बसेको थियो। माता तपस्याबाट नउठेसम्म पर्खिएको सिंह लामो समयसम्म भोकै बसेको थियो। तपस्या पूरा भएपछि माता पार्वतीले सिंहको धैर्य देखेर प्रसन्न हुँदै उसलाई आफ्नो वाहन बनाउनुभएको जनविश्वास छ।>
महाअष्टमीका दिन देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। घरघरमा स्थापना गरिएको दसैँघरमा कलश र जमराको पूजा गर्दै माता महागौरीको आराधना गरिन्छ। यस दिनलाई शक्ति, साहस र दुष्ट प्रवृत्तिमाथि विजयको प्रतीकका रूपमा लिने गरिन्छ।>
महाअष्टमीका अवसरमा परम्पराअनुसार बोका, राँगा, कुखुरा वा हाँसको बलि दिने चलन छ। पशुबलि नदिने परिवारले कुभिन्डो, घिरौँला, मुला वा नरिवल चढाएर सात्त्विक पूजा गर्ने गर्छन्। यसै दिन सैनिकले हातहतियार तथा सर्वसाधारणले सवारीसाधन र विभिन्न औजारको पूजा गर्ने परम्परा पनि छ।>
दुईदेखि १० वर्षसम्मका बालिकालाई देवीको स्वरूप मानेर खुट्टा धोइदिने, टीका लगाउने तथा वस्त्र र दक्षिणा दिएर कन्या पूजा गर्ने चलन छ। नेवार समुदायमा ‘कुचि भ्वय्’ विशेष भोज खाने परम्परा रहेको छ भने अन्य समुदायमा पनि परिवारका सदस्य भेला भएर दसैँको विशेष परिकार ग्रहण गर्ने गरिन्छ।>
>
महाअष्टमीलाई धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक परम्परासँग जोडिएको दसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाइन्छ। यस दिन माता दुर्गाको आराधना गर्दै सुख, शान्ति, समृद्धि र दुष्ट प्रवृत्तिको अन्त्यको कामना गरिन्छ।>>