राष्ट्रिय न्युज - तात्कालीन पाल्पा गौंडाका तैनाथवाला तथा प्रेमको प्रतीक मानिने रानीमहलका निर्माता खड्गशम्सेर ज.ब.रा.को जीवनवृत्तमा आधारित ऐतिहासिक उपन्यास ‘अमरामृत’ यही पौष ५ गते शनिबार पाल्पाको तानसेनमा सार्वजनिक हुने भएको छ।
पाल्पा साहित्य समाजद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. अजय शम्सेर ज.ब.रा को उपस्थिति रहने पाल्पा साहित्य समाजका अध्यक्ष एवं कृतिका लेखक पुष्कर अथक रेग्मीले जानकारी दिए। डा. अजय रानीमहलका निर्माता खड्गशम्सेर ज.ब.रा.का पनाती हुन्।
आख्यानकार पुष्कर अथक रेग्मीले लेखेको ‘अमरामृत’ खड्गशम्सेर र रानीमहलसँग सम्बन्धित तथ्य र कथ्यलाई साहित्यिक रूपमै प्रस्तुत गरिएको कृति हो। साहित्यिक उपन्यास भए पनि यसले ऐतिहासिक दस्तावेजको रूपमा समेत स्थान पाओस् भन्ने अपेक्षा गरिएको छ। कृतिले पाल्पाको इतिहास र साहित्यिक विकासमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ।













