पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण

Rastriyanews

पाल्पा । पाल्पाबाट संकलन गरिएको राहत सामग्री नुवाकोट रेडक्रस सोसाइटी शाखा तथा विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। प्राप्त राहत सामग्री आवश्यकताअनुसार छिमेकी जिल्ला रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा पठाएर वितरण गरिने जनाइएको छ।

राहत सामग्री संकलन गरिएको एक–दुई दिनमै नुवाकोट पठाउने तयारी गरिएको भए पनि जिल्ला प्रशासन कार्यालयको अनुमति तथा सर्वदलीय बैठकपछि तत्काल राहतको आवश्यकता नरहेको जानकारी आएपछि सामग्री केही समय पाल्पामै सुरक्षित राखिएको थियो।

सडकको अवस्था सहज भएपछि जिल्ला प्रशासन कार्यालयको पत्रसहित असोज २ गते राहत सामग्री नुवाकोट पठाइएको हो। नुवाकोटमा आयोजित कार्यक्रममा राहत सामग्री रेडक्रस सोसाइटी शाखा प्रमुख समुन्द्र अधिकारी, उपसभापति निरञ्जन आचार्यलगायत रेडक्रसकर्मीलाई हस्तान्तरण गरिएको थियो।

नुवाकोट रेडक्रस सोसाइटीले प्राप्त राहत सामग्री आवश्यकताका आधारमा हेलिकप्टरमार्फत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गर्ने जनाएको छ।

राहत हस्तान्तरणपछि पाल्पाबाट गएको टोलीले नुवाकोटका बाढीपहिरो प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो। टोलीले डुङ्गे बजार, बान्द्रे हुँदै सिम्टार टुइन आसपासका क्षेत्रको अवस्थाबारे जानकारी लिएको हो।

राहत सामग्री लिएर नुवाकोट पुगेका लियो क्लब अफ पाल्पाका अध्यक्ष तथा सामाजिक अभियन्ता लियो पवन बस्याल र चालक विजय बम्डेल राहत हस्तान्तरण तथा स्थलगत अवलोकनपछि पाल्पा फर्किएका छन्।

यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी व्यक्ति, संस्था तथा शुभेच्छुकप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार