नवराज ज्ञवाली >
विषय परिचय >
प्राचीन सभ्यताको जननी रही हजारौं वर्ष पहिलेदेखि सयौं ऋषिमुनिको साधना स्थल तपोभूमि–ज्ञानभूमि महत्व रहेको रिब्दिकोट जलेश्वर क्षेत्र पौराणिक कालदेखि तपःस्थलका रुपमा रहदै आएको छ । हिमवत् खण्डको चुरे महाभारत पर्वत श्रृङ्खलाको विभिन्न ऐतिहासिक, साँस्कृतिक र धार्मिक सम्पदाले सुशोभित भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र मिथिलाधीस जनक, मिथिला राज्यको जनक पुत्री सीताको जन्मभूमि स्थल जनकपुर क्षेत्र र देवादिदेव महादेव शिवको निवासस्थान पशुपति क्षेत्र जस्ता पौराणिक एवं प्राचीन धार्मिक क्षेत्र र साँस्कृतिक ऐतिहासिक स्थलको महिमा एवं विशेषतायुक्त देवभूमि जलेश्वर देवतीर्थ स्थल भगवान् महादेव शिवको निवासस्थलका रुपमा परापूर्वकालदेखि नै विभिन्न गण समाज, जातजाति र जनजाति समुदायहरुको मन्त्र, ऋचाका द्रव्टा स्रष्टाहरु, दार्शनिक चिन्तकहरु, बज्रयोगीनी, शैलपुत्री र आदिमाताको तपोभूमि र कर्मभूमि स्थल रहदै धार्मिक पर्यटन र तीर्थाटनको दिब्य अनुभूत हुने देवभूमि तपःस्थल योगी साधकहरुको विशेष तपोभूमि स्थलका रुपमा वैदिक सनातन धर्म संस्कृति र अनुयायीहरुका लागि दर्शनीय स्थलका रुपमा रहदै आएको छ । >
तपोभूमि, ज्ञानभूमि र भगवान् शिवको निवासका रुपमा रहदै आएको पावन पुण्यभूमि रिब्दिकोट जलेश्वर महादेवको विषयमा गरिएका वर्णन र धार्मिक ग्रन्थहरु, शिव महापुराण, स्कन्द पुराण, भविष्य पुराण, पदम पुराण, भागवत् महापुराण, देवी पुराण, र रुद्रायतन्त्र ग्रन्थ लगायतमा गरिएको वर्णन र जनश्रुति भनाई, किंवदन्ती पौराणिक धारणालाई आधार बनाएर रिब्दिकोट जलेश्वरको महिमा, महत्व र विविध कथनहरुलाई औंल्याउदै यसको व्याख्या विवेचना गर्दै पौराणिक एवं प्राचीन देवभूमि स्थल जलेश्वर र ऋषि बालपुरीको योगदानको चर्चा गर्न खोजिएको हो । जलेश्वर महादेवको विविध विषयहरुलाई विषशतः जनश्रुति, लोक भनाइ, किवंदन्ती कथन र पौराणिक विषयसँग आधारित रहेर व्याख्या प्रसङ्ग जोड्दै यहाँको भौगोलिक सौन्दर्य, ऐतिहासिकता पृष्ठभूमि र जीवन जगत्को यथार्थ स्वरुपलाई विचारात्मक लेख मार्फत समट्ने प्रयत्न गरिएको छ । जलेश्वर महादेव मन्दिरको पौराणिक, भौगोलिक विषय प्रसङ्गसँग जोडिएका मानवीय सदाचारका विषयगत सन्दर्भ, धर्म—संस्कृति, परम्पराका विषय हुन् या यी सबै आध्यात्मिक ज्ञान र धर्म संस्कृतिका विषय प्रसङ्ग जोडिएका स्वानुभव चेतको अनुभूति हुन् । यी विचार भावलाई जलेश्वर महादेवको महिमा बोध गराउनु नै प्रमुख उद्देश्य रहेको छ । यहाँको प्राकृतिक सौन्दर्य विविधताको दृष्टिप्रक्षेपणमा धार्मिक साँस्कृतिक, पौराणिक एवं इतिहास प्रदत्त सन्दर्भ जनश्रुति वा किवंदन्ती आधार लिएर आफुभित्र जागेको चेत अनुभूतिलाई लेखसारमा उतार्ने प्रयत्न सहित विवेचना गर्न खोजिएको हो । >
देवादिदेव महादेव शिवको महिमा र जलेश्वरको महत्वलाई उर्जागर गर्दै यस पवित्र देवभूमिस्थल बारेमा विभिन्न धार्मिक ग्रन्थहरुमा वर्णन भएका सन्दर्भमा धर्ममा गहिरो आस्था, श्रद्धा र विश्वास राख्ने धर्म अनुयायीले परिकल्पना गरेका कयौँ धर्म संस्कृतिका प्रसङ्ग विषय देव—देवीहरुका वर्णन देवस्थल र पवित्रस्थान देवतीर्थ र सम्पदाहरु युगौँयुग देखि पुज्दै पुजिदै आस्था र गहिरो विश्वासका रुपमा मान्दै पुज्दै आएका विषय हुन् । ती संस्कृति, संस्कार, धर्म, लोक परम्परा सदियौं देखि हस्तान्तरित हुदैं आइरहेका छन् । यी र यस्ता थुप्रै पवित्र देवस्थल, धार्मिक सम्पदा ऐतिहासिक पृष्ठभूमिका प्राचीन संस्कार संस्कृति एवं देवतीर्थ स्थलको अग्रज पुर्खाहरुले निर्माण गरी समाजलाई हस्तान्तरण गरिदिएका थुप्रै कलात्मक कृति, मूर्तिकला, प्रस्तर, काष्ठकला प्रशस्त रहेका छन् । जसमा पुर्खाको विरासत, विलक्षण कालीगढीको बेजोड नमूना देख्न र बुझ्न पाइन्छ । अग्रज पुर्खाहरुले बसाएको रितीथिति, संस्कार, परम्परा आदि प्रस्तर कलाकौशल नै राष्ट्र र समाजका लागि अक्षुण्ण सम्पत्ती रहेका छन् । यी गौरवका संस्कृति पहिचान पुर्खाको विरासत जीवन्त रही रहनेछन् । >
जलेश्वर महादेव मन्दिर:>
संघीय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा सदरमुकाम तानसेनदेखि पश्चिम रिब्दिकोटको कुसुमखोलामा अवस्थित जलेश्वर महादेव मन्दिर तानसेनबाट करिब २२ किलोमिटर दुरीमा कुसुमखोला, ठिमुरे र पालुङ्गमैनादीको साध घना जगंलबिच हिमवत्खण्डको चुरे महाभारत पर्वत श्रृङ्खलाको उच्च पहाडमा समुद्री सतहदेखि करिब १८९३.५ मिटरको उचाइमा रहेको छ । पवित्र धार्मिक स्थलका रुपमा पौराणिक कालदेखि विशेष महत्व महिमा रहेको प्रख्यात देवतीर्थ जलेश्वर महादेव मन्दिर प्रमुख शिवको हिन्दु मन्दिर हो । यस पवित्र देवस्थल महादेव मन्दिरको दर्शन गर्दा दुखः नासिने र मनले चिताएको मनोकांक्षा पुरा हुने विश्वासले यहाँ दैनिक सयौँ भक्तजन मन्दिर दर्शनलाई पुग्ने गर्दछन् । यस मन्दिरमा भक्तजनको गहिरो आस्था र विश्वासले दर्शनार्थी भक्तजनहरुको भीड हुने गर्दछ । यहाँ भगवान् शिवसंग सम्बन्धित विभिन्न चाडपर्वमा पूजाआजा हुने गर्दछ । जलेश्वर महादेव मन्दिरमा मन्दिरको आफ्नै दैनिक नित्य नैमित्य पूजा हुने गर्दछ । सोमबार भगवान् शिवको विशेष बार रहेका कारण यहाँ अरु बारभन्दा सोमबार दर्शनार्थी भक्तजनहरुको बढि उपस्थिति रहने गर्दछ । जलेश्वरको मन्दिरमा विशेष पूजाआजा सहित रोट, फूल प्रसादी र गाईको दुध चढ्ने गर्दछ । >
महाशिवरात्रीमा विशेष पूजाआजा हुने र रातभर जागा बसी भजनकिर्तन सहित शिवधुनी जगाउने पौराणिक परम्परा अनुसार यो मन्दिरमा शिव समर्पित विशेष पूजा हुने गर्दछ । जलेश्वर महादेवको पूजा सहित धुनी जगाउने पौराणिक मान्यता अनुसार यस मन्दिरमा सत्य युगैमा बालपुरी नामका योगीले यही पर्वत श्रृङ्खलामा बसेर तपस्या गरेको प्रसङ्ग उल्लेख छ । ती योगी बालपुरीलाई एकदिन सुषुप्त ध्यानमा रहेकै बेला भगवान् शिवले स्वयं प्रर्कट भएर दिव्य दर्शन दिइ डमरु बजाउँदै वाणी दिइ अदृश्य भएको भन्ने पौराणिक मान्यता र किंवदन्ती रहेको छ । शिवको दिव्य दर्शन पाएका ती तपस्वी बालपुरी योगीले यस ठाउँमा जलेश्वरको मन्दिर बनाएको भन्ने लोक भनाई रहेको पाइन्छ । योगी बालपुरीले मन्दिर बनाई महादेवको मूर्ति स्थापना गरी यही बसेर भगवान्को सेवामा समर्पित भएकोले यस स्थानको नाम जलेश्वर रहन गएको भन्ने छ । मन्दिर निर्माण र मूर्ति स्थापना गरी भगवान्को सेवा गरी पूजापाठ गर्दै आएका योगी देवताको स्नानलाई जल लिन कालीगण्डकीको रुरुक्षेत्र रिडी जाने गरेको समेत उल्लेख छ । पूजाआजा, मूर्ति स्नान, जलधारा र त्यहाँ नजिक रहेका बस्तीमा मानव, पशुपंक्षी चराचुरुङ्गीहरुलाई समेत पानी नभई समस्या देखिएपछि ती योगी बालपुरीले आफ्नो तपोबलले चिम्टा गाढेछन् । त्यो स्थलमा चिम्टाको डोबबाट पानीको मूल निस्केछ। त्यही पानीले बस्ती, भगवान् शिवलाई जलधारा लगाउन, देवता स्नान गराउन र पूजा गर्न सजिलो भएछ । पानीको मुहान रहेको स्थल र योगीले बनाएको मन्दिर क्षेत्र आसपासलाई जलेश्वर भनिने रहेछ । पौराणिक प्राचीन कालदेखि स्थापित यस जलेश्वर महादेवको मन्दिर पौराणिक कथन, जनुश्रुति भनाइ धार्मिक महाग्रन्थहरुमा गरिएका वर्णन र मन्दिरको प्रसङ्गसंग जोडिदा भगवान् शिवको यसै क्षेत्रमा बास रहेको र योगी महार्षिको तपोबल प्रभावले भगवान् प्रकट भइ बसेकोले पनि यहाँ पूजाअर्चना गर्नाले जीवनका हरेक दुखः कष्ट नासिएर जाने, पुण्य प्राप्ती भइ जीवनमा खुशी, समृद्धी, सकारात्मक ऊर्जा भरिने भन्ने विश्वास मान्यता रहदै आएको छ । त्यस्तै जलेश्वर महादेवका बारेमा अर्को प्रसङ्गमा गरिएको वर्णन अनुसार भगवान् आदिनाथ शिवको रुद्र स्वरुपमा यही स्थानमा प्रकट भएकाले यो भूमिदेव रक्षाका लागि नै प्राचीनकाल देखि प्रसिद्ध रही जलेश्वरनाथको नामबाट प्रख्यात रहेको उल्लेख छ । देवताको रक्षा कवजका रुपमा भगवान् स्वयं यस भूमिमा प्रकट भएर असुरहरुको युद्ध रोक्न उभिएपछि जलेश्वरनाथ भनिदो रहेछ । त्रेता युगमा यो रिब्दिकोटको हिमवत्खण्डको महाभारत पर्वतको चुरेलेक हिमालय क्षेत्र भनि वर्णन भएको पाइन्छ । यस पौराणिक देवभूमि स्थललाई जलेश्वरनाथ भूमि भनि शिव महापुराणमा समेत उल्लेख भएको पाइन्छ । धार्मिक साँस्कृतिक महत्व रहेको जलेश्वर मन्दिरको महिमा प्रसङ्ग पनि त्यतिबेलै देखि तपस्वी योगी बालपुरीसंग जोडिएको पाइन्छ । उनै योगी ऋषिको तपोबल प्रभावले यस जलेश्वर मन्दिरको निर्माण गरिएको भन्ने पौराणिक ग्रन्थहरुमा महत्व बताइएको छ । जलेश्वर महादेव मन्दिर धार्मिक साँस्कृतिक प्राकृतिक र ऐतिहासिक दृष्टिले धार्मिक पर्यापर्यटनको पर्यटकीय गन्तव्यको पौराणिक कालदेखिको विशेष महिमा रहेको देवभूमि र योगी सन्त साधक तपस्वीहरुका लागि ज्ञानको ऊर्जा भरिएको दिव्यभूमि देवस्थल, धार्मिक आस्था र विश्वासको केन्द्र रहदै आएको पवित्र तीर्थस्थलका रुपमा प्रसिद्ध रहेको पाइन्छ । >
जलेश्वर महादेव मूर्ति: >
पौराणिक प्राचीनकालदेखि अति महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक धरोहरको निधिको रुपमा महर्षिऋषि योगी बालपुरीले बनाएको भन्ने किवंदन्ती रहेको प्राचीन जलेश्वर महादेव मन्दिरको मूर्ति सन्दर्भमा विवेचनात्मक चर्चा गर्दा यस महादेव मन्दिर भित्रको शिव मूर्ति सहित अन्य देव देवताहरुको मूर्ति र कोटघरमा राखिने खुडा तरबारहरु जलेश्वर महादेव मन्दिरमा रहेका छन् । ती देवदेवतासंगै मुख्य मूर्तिको रुपमा रहेको शिवको मूर्ति सम्बन्धी विशेष चर्चा हुने गर्दछ । >
जलेश्वर महादेवको मन्दिरमा रहेका विभिन्न मूर्तिहरुमध्ये प्राचीन शिव मूर्तिको चर्चा र धार्मिक साँस्कृतिक महत्वको जलेश्वर शिव मन्दिर हिन्दु बौद्ध संस्कृति सम्बन्धी ठूलो महत्व राख्ने मूर्तिहरु यहाँ रहेका छन् । यस जलेश्वर महादेव शिव मन्दिरमा प्राकृतिक सौन्दर्यता र हिमालय क्षेत्रको महाभारत पर्वत श्रृङ्खलाको उच्च लेकमा अवस्थित देवस्थल रहेकाले यहाँ सदियौँदेखि देव देवताले विचारण गर्दै आएको किंवदन्ती रहदै आएको पाइन्छ । यही पावन पुण्यभूमिमा भगवान् शिवले समेत निवास गरि बसेको पौराणिक कथा प्रसङ्गहरु सुनिन्छ । प्राचीनकालदेखि नै पवित्र पुण्यभूमि दिव्य देवस्थल रहेको जलेश्वर महादेवको मूर्तिको महिमा धार्मिक ग्रन्थहरुमा पनि वर्णन गरिएको पाइन्छ । >
पौराणिक महत्वको यस जलेश्वर महादेव मन्दिरको मूर्ति सन्दर्भ रहेको शिवको मूर्तिलाई मन्दिरमा स्थापित गरी पूज्ने पुजिने गरिएको छ । यहाँ रहेको शिव मूर्तिको उचाइ तीस इन्च र चौडाइ बीस इन्चको रहेको छ । फूलको बुट्टेदार फलकमा कालो प्रस्तरको मूर्तिको रही बाइस इन्च उचाइ र बीस इन्च चौडाइ भएको बाँया पलेटी मारेको दाँया खुट्टा ठाडो गरी केही बाँयातिर ढल्केको र राजललित आसनमा बसेको मुख्य मूर्ति जलेश्वर महादेवको मन्दिरमा हेर्न सकिन्छ । उक्त मूर्ति फलक एउटै प्रस्तरमा समाहित भएको पाइन्छ । यस मन्दिरमा रहेको मूर्तिकलाको शैलीको आधार हेर्दा जलेश्वर महादेवको मूर्ति भनिएतापनि यो मूर्तिको आकार हेर्दा यहाँ रहेको यो मूर्ति बोधिसत्व मूषिक/मुषक आलिङ्गन गरिएको मूर्तिलाई बुद्ध वा पद्मपाणी बोधिसत्वको मूर्ति हो भनेर अध्ययन अवलोकनकर्ताहरुले बताउने र अनुमान गर्ने गरेको पाइन्छ । >
जलेश्वर मन्दिरको मूर्तिले हिन्दू बौद्धमार्गी दुबैको आराध्य देव शिवको प्रतिनिधित्व गरेको अनुमान गर्न सकिन्छ । शिव र पदमपाणी बोधिसत्वलाई शिव मानिएकोले पनि यो प्रस्तर मूर्ति हिन्दु–बौद्ध धर्मावलम्बीहरुको बोधिसत्व मूर्ति भएको मान्न सकिन्छ । यो मूर्ति शताब्दीको सातौँ आठौँ तिर बनेको अनुमान गर्न सकिन्छ । (स्रोत: पुरातत्व विभागको टोलीबाट तयार पारिएको अध्ययन रिपोर्ट) त्यस्तै यस जलेश्वर मन्दिर र मूर्तिको अवस्था हेर्दा मन्दिरभित्र रहेको मूर्ति धेरै पुरानो र संरक्षणको अभावमा खिइएको अवस्था छ । सो मूर्ति अलिकति बायाँतिर झुकेको र कानको लोती लामो भई कुमसम्म लट्किएको अवस्थामा मूर्तिको दाँया हात ज्ञानमुद्रामा छातीसम्म उठेको देखिन्छ । सोही मूर्तिको बाँया हातले सानो : कर्नाल जस्तो बस्तु लिएको देखिन्छ । सोही मूर्तिको दाँया हातले संवर ( ............) मगृलाई च्यापिराखेको देख्न सकिन्छ । मूर्तिको स्वरुप खिइएर रहेको अवस्थामा प्रष्ट देख्न नसकिने रहेको छ । मृगका मुखले बोधिसत्वको बाँया हातको पाखुरा छोएको, मूर्तिको कम्मरभन्दा माथि यज्ञोपवित्र धारण गरेको, दाँया हात ज्ञान मुद्रामा हुनु, टाउको मुडुलो हुनुले र कानको लोती कुमसम्म लत्कीनु मूर्तिमा मृगको उपस्थिति रहनुले यो मूर्ति बोधिसत्वको हो भन्न र यकिन गर्न सकिने इतिहासविद् निर्मल श्रेष्ठ बताउनुहुन्छ । यद्यपी जलेश्वर मन्दिरको मूर्ति सन्दर्भमा जे जसरी व्याख्या विवेचना लेखिए तापनि यो स्थान पौराणिक कालदेखि प्रसिद्ध रही प्राचीन देवभूमि तीर्थस्थलका रुपमा विभिन्न धार्मिक ग्रन्थहरुमा गरिएको वर्णन अनुसार पवित्र स्थलको मान्यता रही धर्म ग्रन्थका प्रसङ्ग जोडिएका कथन जनश्रुति किंवदन्ती लोक भनाइका आधारमा पुष्टि गर्नुपर्ने देखिन्छ । >
जलेश्वर शिव धुनी:>
पौराणिक कालदेखि नै अति महत्वपूर्ण रहेको ऐतिहासिक धार्मिक साँस्कृतिक महत्वको देवस्थल जलेश्वर महादेव मन्दिरमा रहेको जलेश्वर शिव धुनी महर्षिऋषि बालपुरीले तपस्यामा बस्दा तपोध्यानको दिव्य तन्त्रबलले यो धुनी बालेको भन्ने किंवदन्ती रहेको छ । शिव धुनी निरन्तर बलिरहेको छ । जलेश्वर महादेव मन्दिरमा बल्ने यो शिवधुनी यहाँ तपस्या, योगध्यान साधना गर्न आउने साधु सन्त, तपस्वी योगी साधकहरुलाई आगो ताप्न र तपोसाधनाको तपबलले आगो बाली देवदेवताहरुका मन्दिरमा काठका ठूल्ठूला मुढा रातदिन बालेर आगो जगाइराख्ने अगेनुलाई धुनी भनिन्छ । योगी साधकहरुले तन्त्रबलले बालेको निरन्तर बिना खण्डित बलिरहने आगोलाई धुनी भनिन्छ । यहाँको शिव धुनी पनि यही प्रकारले जगाएको धुनी र यहाँ आउने योगी साधकलाई आगो ताप्न र मन्त्र जप प्रभावले अखण्ड बलिरहेको आगो भएकाले यहाँको यो धुनीलाई शिव धुनी भनिएको हो । किंवदन्ती अनुसार मन्दिरमा बाल्ने आगो, योगी साधकको तन्त्रबल प्रभावले जल्ने आगो नै धुनी रहेको भनि उल्लेख छ । यस मन्दिरको निर्माण र धुनीसंगै भएकाले यहाँको धुनी विशेष छ । यी शिव धुनीको आगोबाट उत्पादन भएको शिवखरानी अर्थात विभूतिलाई मन्दिर आउने जो कोहीले घरघरमा लगेर राख्नाले शक्ति आर्जन हुने विश्वास र पौराणिक मान्यताले यहाँ आउने भक्तजनहरुले यो शिवखरानी लिएर जाने गरेको पाइन्छ । मन्दिरसंगै बलेको यो शिव धुनी निरन्तर बलिरहेको र हालसम्म पनि यो निरन्तर रही आगो निभेको छैन् । शिव खरानीलाई घरमा राख्नाले शक्ति आर्जन र मनोकांक्षा पुरा हुने विश्वासले घरघरमा लगेर राख्ने परम्परा रहेको पाइन्छ । >
जलेश्वर कुण्ड, जलेश्वरको पानी:>
जलेश्वर महादेवको मन्दिर स्थापनासंगै त्यहाँ रहेको मूर्ति स्नान गराउन र नित्य पूजा अर्चना सहित शिवलिङ्गको जलार्पणका लागि मन्दिरको पूजापाठ, तपः ध्यान सकेर मन्दिरका योगी महर्षि बालपुरी दैनिक कालीगण्डकी जाने र त्यहाँ गंगा स्नान गरेर गंगाको तटमाथी रहेको भगवान् ऋषिकेशवको दर्शन तथा पूजापाठ गरेर त्यहीबाट गंगा जल लिएर आई यहाँको जलेश्वर महादेवमा रहेको शिव मूर्तिको स्नान गराउने, मन्दिरको बाहिर रहेको शिवलिङ्गमा जलार्पण गरी ध्यान बस्ने गरेकोमा एकदिन भगवान् शिवले सुषुष्त ध्यानमा रहेको योगीलाई दिव्य वाणी भएछ । दिव्य वाणीमा कालीगण्डकीको महिमा, शालिग्राम बारे भन्नुभएछ जसरी हिमाली श्रृङ्खलाको सबभन्दा उचो शिखरबाट जसरी सूर्यले आफ्नो प्रभाती किरण फैलाउँदछन् भने विश्व विख्यात कृष्णा गण्डकी, कालीगण्डकी यस्ती नदी हुन् जसले शालिग्रामलाई कुद्धछिन् । आध्यात्मिक जगत्मा शालिग्राम शिलालाई विष्णु स्वरुप मानेर लोकले पुज्दछन् । संसारमा पाहिने शालिग्राम भने त्यही पवित्र कालीगण्डकी, दामोदर कुण्ड, कृष्णा गण्डकी, चक्रनदि आदि नामले पुकारिने यी प्रभावित नदिमा भेटिने गर्दछन् । शिवको महिमा पनि यही नदिमा जोडिएको छ त्यही तिम्रो भक्ति साधना तपोबलको प्रभावले तिमी त्यहाँ पुग्नु पर्दैन तिमी आफ्नो तपोबल साधनाले यही स्थानमा पवित्र ती नदिको जललाई प्रवाह गर्न सक्दछौ भनि गंगाको महिमा बताउँदै भगवान् शिव दिव्य वाणी दिएर अदृश्य भएको भन्ने छ । त्यस्तै हिमवत् खण्डको ५५/४३ मा समेत गंगा नदिको बारेमा यसरी वर्णन गरिएको छ । >
कूर्मचक्रमये भागे मध्यभागे खुरान्वितः । शिवनाम >
इतिख्यातो दुर्लभ: सर्वकामद्ः । >
अर्थात् — “तलतिर कक्षुवाको पीठजस्तो डोलो र माथीतिर गाईको खुर जस्तो आकार देखिने शिव नामले प्रख्यात दुर्लभ शालिग्राम र कामना प्रदान गर्ने शिवनाम शालिग्राम मानिन्छ ।” यस्तै कृष्णा गण्डकी र काली गण्डकी क्षेत्र रुरु गंगा नदि महिमा गानलाई जगतगुरु शंकरार्चायले शिव महिमा बताउनुभएको छ। त्यही पवित्र शिला स्वरुप, विष्णु स्वरुप ढुङ्गा विष्णुको चरणमा निस्किएर प्रवाहित नदि बारेमा जलेश्वर महादेवका योगीलाई भगवान् शिवले दिव्य दर्शनमा महिमाबोध गराउँदै वाणी दिई ज्ञानबोध गराई अदृश्य भएको उल्लेख छ । त्यही जल योगी बालपुरीले यस जलेश्वर मन्दिरको केही तल आफ्नो तपोबलद्वारा चिम्टा गाढेछन् । त्यही चिम्टाको डोबबाट पानीको मूल निस्केछ । त्यही पानीले भगवान् शिवको मूर्तिको स्नान, जलधारा लगाउन र पूजा गर्नलाई सजिलो भएछ । योगी बालपुरीले त्यहाँ स्थापना गरेका छ भगवान्लाई ‘जलेश्वर’ भन्न थालेछन् । यस विषयमा, “त्यहाँ पानीको आवश्यकता देखेर भगवान् शिव स्वयंले चिम्टा गाडेर पानीको स्रोत निकालेको किवंदन्ती रहेको छ ।” भन्ने अर्को भनाइ पनि सुनिन्छ । जे होस् तल पानी माथि भगवान् शिवको मन्दिर रहेको हुदाँ यस स्थानलाई जलेश्वर भन्ने गरिएको हो भन्ने अनुमान गर्न सकिन्छ । >
तपस्वी योगीहरुबाट यस स्थानमा जलेश्वरको मन्दिर बन्नु मन्दिरमा जलेश्वर महादेवको मूर्ति रहनुले पनि पौराणिक महत्वको स्थानको महिमा रहेको अनुभूति हुने गर्दछ । यही मन्दिरमा योगीको तपोबलले निस्किएको पानीको स्रोत रहेकाले मन्दिर केही तल शिव कुण्ड रहेकोमा पछि त्यसलाई जलेश्वर महादेव शिव कुण्ड भनी लोक कथन भनाइ र जनश्रुति रहेको छ । यही पानीको मुहानको केही तल मन्दिरको पुजाआजा गरी बसेका पुजेरीको मृत्यु भएमा योगीलाई मन्दिर अगाडि परम्परा अनुसार खाडल खनी मृत शरीरलाई आसनमा बसाली पूजा गरी नून लगायत चिजहरु राखी समाधी गाडिने चलन छ । यही शिव कुण्डको पानीले अहिले जलेश्वर महादेवको मूर्ति स्नान, शिवलिङ्गमा जलार्पण र पूजाआजा गर्ने गरिन्छ । >
पुजेरीको व्यवस्था:>
“मन्दिरमा सुरुका पुजारी स्वामी बालपुरी रही मन्दिरको पूजासुरु गरेपनि जलेश्वर मन्दिर परिसरमा रहेको घण्टमा लेखिएको स्वस्ति श्री सम्वत् १९८० साल माघ २८ गते रोजमा श्री गणेश पुरी, श्री महन्त दौलथ पुरी, सन्तोष पुरी, रघुनाथ पुरी वहिरीत गुरु प्रितय मोक्षषतिर जलेश्वर महादेवलाई चढायो ।” भन्ने कुरा उल्लेख गरिएको घण्ट रहेको छ । उक्त घण्ट बज्दाको आवाज (नाद)ले सेरोफेरोलाई गुञ्जाई गराइदिन्छ । (स्रोत: इतिहासविद् निर्मल श्रेष्ठ) धेरै वर्ष पहिले देखि यसक्षेत्र सेरोफेरोका भक्तजनले यस मन्दिरमा आस्था र विश्वास राख्दै पुजाआजा गर्दै आएकाले यसको महत्व रहनु स्वभाविकै रहेको र जति प्रचारप्रसार हुनुपर्ने त्यति नभएको र जतिले यस मन्दिर अवलोकन, दर्शन गर्नुपर्ने हो त्यति नभएको पाइन्छ । परम्परादेखि यो मन्दिरमा लालमहोरिया पुजेरीका रुपमा बालपुरी स्वामीका चेलाका सन्तान दरसन्तानहरुबाट पुजाआजा हुदै आएको छ । जसमा पहिलो पुजेरी बालपुरी र उनका चेला क्रमस गणेश पुरी, महन्त दौलथनाथ पुरी, सन्तोष पुरी, रघुनाथ पुरी, शिव पुरी र हाल अमरनाथ पुरीले यस मन्दिरको पुजाआजा गर्दै आएका छन् । पछिल्लो समयमा यस मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति र भीडभाडले गर्दा मन्दिर व्यवस्थापन समितिको निर्णयमा यस मन्दिरसंग साँस्कृतिक सम्बन्ध रहेको भैरवनाथ मन्दिरमा सेवारत पुजेरी र नाथ सम्प्रदायका पहिलो पुजेरीको रुपमा जलेश्वर महादेव मन्दिरमा सेवारत सोधननाथ योगी पुजेरी रहेका छन् । परम्परागत देखि यस मन्दिरको पुजाआजा रेखदेख बालपुरीका चेला गिरी योगी पुजेरीहरुबाट हुदै आएकोमा अहिले मन्दिरमा भक्तजनहरुको उल्लेखनीय उपस्थिति र बढ्दो चाँपका कारण परम्परागत भन्दा केही फरक देखिएता पनि उहाँहरुको पाएको सुविधा यथावत् राख्दै थप पुजारीको रुपमा नाथ योगी पुजारीलाई मन्दिर व्यवस्थापन समितिबाट व्यवस्था गरिएको पाइन्छ । यद्यपी योगी सन्त पुजेरी साधकहरु देशका जुनसुकै मन्दिरमा आउँजाउँ, बास बस्न र त्यहाँको साँस्कृतिक परम्परामा रहेर पुजाआजा गर्न कुनै किसिमको रोकतोक नरहेकोले पनि मठ– मन्दिर धार्मिक सम्पदाहरुमा साँधु सन्त, फकिर, योगी पुजेरी तीर्थ रुपमा घुमफिर गर्न त्यही बसेर सेवा गर्न पाउने व्यवस्था पनि रहेको छ । जलेश्वर मन्दिरमा पनि समयानुकुल हेर्दा थोरै परम्परामा परिवर्तन देखिएतापनि विधिसम्वत् योगी सन्त फकिर साधकहरुले गर्न पाउने पुजा प्रार्थना जुनसुकै मन्दिरमा बिना रोकतोक प्रवेश पाउँदछन् । >
यस मन्दिरमा पनि त्यही नै भएको हो जस्तो देखिन्छ । मन्दिरका पुजारी अमर पुरी पूर्खा परपूर्खाले गर्दै आएको पूजा स्वयं उनले पनि गर्दैछन् । ती मन्दिरका पुजारीका लागि नेपाल सरकार वा अन्य कुनै तर्फबाट भत्ता र जागिरको व्यवस्था गरिएको छैन । श्रीको स्थानमा रहेर पुजापाठ पिता परपिताहरुको कर्म धर्म रक्षा निम्ति परम्परा थाम्दै बसुन्जेल जलेश्वर गुठी आयआस्ता खान लाउन पाउने व्यवस्था भईदिए राम्रो हुने, मन्दिरको पुजाआजा र पुजारी छनौट उत्तराधिकारीको नियम नभएको र रीति विधिपूर्वक साविक दर साविक बमोजिम जलेश्वर मन्दिरको पुजाआजा चल्दै आएको यही परम्परा कायम गरी पुजारीको व्यवस्था रहेको छ । मन्दिरमा पुजेरी खान्की र अक्षेताका लागि मन्दिर नाउँमा तराईमा केही खेत रहेको भन्ने सुन्नमा आएको तर यकिन हुने कागज पत्र वा लिखत पूर्जा नभेटिएको मन्दिर व्यवस्थापन अध्यक्ष वेणीमाधव आचार्यले बताउँनुहुन्छ । >
मन्दिरबाट हुने अन्य पूजाआजा: >
जलेश्वर महादेव मन्दिरमा रहेको शिव मूर्ति संगै अन्य मूर्तिहरुको स्नान र पूजापाठ पहिले मन्दिरको आफ्नै भक्तजनहरुले ल्याएको पूजा सरजामलाई गर्ने गरिन्छ । यस मन्दिरमा पूजापाठका लागि फूल प्रसादीका रुपमा चढ्ने रोट, गाईको दुध, गंगाजल, फलफुल, धूपध्वजा, बेलपत्र, भाँङ धतुरो, करबिर, अपरजिता लगायतका फूलहरु प्रसादीका रुपमा चढ्ने गर्दछन् । मन्दिरमा बाह्रै महिना पूजा हुने गर्दछ । प्रत्येक दिन पूजापाठ हुने यस मन्दिरमा सोमबारको दिन भगवान्को बार भएकाले मन्दिरको र भक्तजनहरुको आएको पूजा सरजाम सहितको प्रसादीलाई विशेष पूजा हुने गर्दछ । मन्दिरको नित्य नैमित्य पूजापाठ संगै महाशिवरात्री, साउन महिनामा विशेष पूजापाठ हुने गर्दछ । यस मन्दिरमा नियमित पूजापाठ संगै अतिरिक्त पूजापाठ हुने गर्दछ ।जसमा महाशिवरात्रीमा रातभर जागा बसेर भजन किर्तन र धुनी जगाई पुजा हुने गर्दछ । यसका साथै शिव स्तोत्र पाठ लगायत अन्य देव–देवताको स्तोत्र पाठ, विवाह, व्रतबन्ध लगायतको पूजापाठ हुने गर्दछ । >
मन्दिरमा देखिने कलाकौशल: >
जलेश्वर महादेव शिव मन्दिर निर्माणमा मन्दिरमा देखिने कला कौशलको चर्चा गर्नुपर्दा–मन्दिर परिसरको बीच भागमा रहेको २४ से.मी. वर्गाकार भएको शिखर शैलीमा मन्दिर बनेको देख्न सकिन्छ । यस मन्दिरमा प्रयोग भएका कला कौशल र अवस्था हेर्दा पश्चिम पट्टी १० मिटर लम्बाई र ३ मिटर चौडाइ सहित भुइतला र तीनतले कलात्मक झ्याल ढोका सहितको सत्तल रहेको छ । यस सत्तललाई धुनीकार भनिन्छ। मन्दिरको स्थापत्य कला हेर्दा स्थानीय शैलीमा निर्माण भएजस्तो देखिन्छ । >
सत्तलमा प्रयोग भएका झ्याल ढोकाहरु र त्यहाँ खोपिएका काष्ठकलाले विभिन्न समयमा यस मन्दिर सत्तलको पुनः निर्माण भएको प्रष्ट हुन्छ । झ्याल ढोका र बार्दलीमा कुँदीएका काष्ठकलाका बेजोड नमूनाले सेनकालीन कला कौशलको समेत झल्को दिन्छ । सत्तलका झ्याल ढोका र भुइँ तलाका कवालहरु अर्ध गोलाकार शैलीमा रहेका छन् । त्यसमा आकर्षक बुट्टाहरु खोपिएका छन् । सत्तलको बिचको तलाको कोठामा चिल्लो प्रस्तरको आकर्षण जलाहारीयुक्त शिवलिङ्गको वेदिकार जलाहारी त्यति पुरानो जस्तो देखिदैन । जलाहारी माथि रहेको शालिग्रामको दुईवटा गोला चिफ्ला ढुङ्गाहरु मानव निर्मित शिवलिङ्ग नभई पवित्र कालिगण्डकीबाट ल्याएको जस्तो देखिन्छ । सत्तल बिचकै एउटा कोठामा अखण्ड धुनी बलेको छ । मन्दिरमा देखिने यी कला कौशल र शैलीले कैयन् अभिलेखहरुको समेत प्रतिनिधित्व गर्दछन् । मन्दिर पौराणिक भएर पनि विभिन्न समयमा भएको पुनः निर्माण र त्यहाँ प्रयोग गरिएका कलाकौशलले सेनकालमा प्रयोग हुने कल्प कौशलको बढि प्रभाव रहेको देख्न सकिन्छ । >
जलेश्वरको संरक्षण र विकासमा सरकारको पहल :>
यस पौराणिक प्राचीन साँस्कृतिक महत्व रहेको जलेश्वर मन्दिरको विकास तथा संरक्षण प्रवद्र्धनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको विशेष भूमिका सहितको अग्रसरता भएको देखिन्छ । विशेषगरी वि.सं. २०७४ को स्थानीय निर्वाचन पछि बनेको जननिर्वाचित गाँउसरकारका प्रमुख नारायण बहादुर जिसी र वि.सं. २०७९को निर्वाचन पछि बनेको द्वितीय जननिर्वाचित रिब्दिकोट गाँउ सरकार प्रमुख नारायण बहादुर कार्की र उहाँको नेतृत्वमा रहेको जनप्रतिनिधिहरु सहित रिब्दिकोट गाउँपालिकाको यस मन्दिरको सर्वपक्षीय विकास निर्माण र संरक्षण प्रवद्र्धनमा उल्लेखनीय भूमिका रहेको छ । यी दुवै स्थानीय सरकारका प्रमुख हैसियतमा रिब्दिकोटको समग्र जनपक्षीय विकास, आर्थिक उन्नति, जनजीविकोमा जनस्तरमा गरिएका कामहरु अनुकरणीय रहेका छन् । यी द्वयले जलेश्वर मन्दिरको समग्र विकास धर्म सँस्कृतिको संरक्षण, मन्दिरको व्यवस्थापन र पूजा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । जसमा जलेश्वर मन्दिरको स्वागतद्वार, बाटो तथा सिँढी निर्माण, स्वच्छ पिउने पानीको व्यवस्था, सप्ताहव्यापी सरसफाई, शौचालयको निर्माण, धर्मशाला निर्माण, योगशाला निर्माण, धार्मिक संग्राहलय र पुस्तकालयको निर्माणका लागि पहल, सेन दरबार निर्माण गर्न गुरुयोजना निर्माण, मन्दिरको सौन्दर्यतालाई फूलबारी बगैँचा निर्माण र रेखदेख गर्न रेखालुको व्यवस्था, पिकनिक तथा मन्दिरमा गरिने शुभ कार्य विवाह व्रतबन्ध जस्ता कार्यका लागि ट्रस निर्माणमा विशेष ध्यान दिइ पूर्वाधार निर्माणमा जोड दिएको पाइन्छ । स्थानीय सरकारको यो महत्वपूर्ण उपस्थिति र विकासको पहलमा अनुकरणीय कार्य रहेको पाइन्छ। त्यस्तै यस मन्दिरको संरक्षण प्रवद्र्धनमा नेपाल सरकारका तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशिल ज्ञवालीको पहलमा उचित बजेटको व्यवस्था गरि मन्दिरको संरचनामा पुनः निर्माण गरिएको छ । कतिपय मन्दिरका संरचना निर्माणका कामहरु उहाँको समन्वय पहलमा भएका छन् । यसरी हेर्दा यस मन्दिरमा नेपाल सरकार र प्रदेश सरकारको लगानी पनि ठूलै रहेको छ । जलेश्वर मन्दिर र आसपास क्षेत्रलाई धार्मिक तथा पर्या–पर्यटकीय गन्तव्यको रुपमा विकास गरी प्रचारप्रसार गर्ने हेतुले तीनैतहको सरकारबाट ठूलो धनराशी खर्चिएर भौतिक पूर्वाधार निर्माणको कामहरु सम्पन्न हुदैछन् । मन्दिरमा पुग्ने सडक कालोपत्रे भएको छ, अन्य बाटोघाटो सडकहरु विस्तार हुँदै छन् । सडक पहुँचमार्ग निर्माण र विस्तारको काम तीब्र भएका छन् । सडक विस्तारसंगै यहाँ दैनिक सयौँ संख्यामा भक्तजन पुग्ने गरेको अवस्था छ । जीर्ण अवस्थामा रहेको मन्दिरको भवन पुनः निर्माण भएको छ । धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै विशेष योग, ध्यान र ज्ञान दिने उद्धेश्यले अन्य संरचना निर्माण भई राखेका छन् ।धर्म संस्कृतिको उर्जागर गर्न सरकारको यो पहल कदमी प्रयास निकै महत्वपूर्ण रहेको देखिन्छ । जलेश्वर मन्दिरको विकाससंगै संरक्षण व्यवस्थापन र धर्म संस्कृतिको महत्व जोगाउनलाई गरिएका यी प्रयास प्रयत्न अनुकरणीय रहेका छन् र तीनवटै सरकारको उपस्थिति अग्रसरता निकै सहराणीय रहेका छन् । >
समिति निर्माण र महत्वपूर्ण कार्यहरु:>
यस जलेश्वर मन्दिरको हरेक पक्षीय विकास र मन्दिरको संरक्षण प्रवद्र्धनमा टेवा दिने उद्धेश्यले समिति निर्माण र गठनलाई बेला बेलामा विशेष प्रयत्न भएको पाइन्छ । जलेश्वर मन्दिरको पूजा सञ्चालन र मन्दिर संरक्षणसंगै यस क्षेत्रको विकासका लागि तत्कालिन कुसुमखोला, ठिमुरे र मैनादी गाँउपञ्चायतका जनपक्षीय प्रधानपञ्चहरु माधव आर्चाय गुनबहादुर जिसी, नारायणबहादुर कुवर र टोलबहादुर पचभैया लगायत त्यसबेलाका सामाजिक एवं धार्मिक व्यक्तित्वहरुको योगदान उल्लेखनीय रहेको छ । यस जलेश्वर मन्दिरको विकास, धर्म संस्कृतिको संरक्षण र पूजा सञ्चालन गर्ने सेवाभावले समिति निर्माण गरेको देखिन्छ । >
पौराणिक प्राचीन कालदेखि धार्मिक साँस्कृतिक र प्राकृतिक दृष्टिले अति महत्वपूर्ण रहेको जलेश्वरको विकासका लागि समितिको आवश्यकता महशुस गर्दै जनपक्षीय एवं समाजका अग्रज भद्र बुद्धिजीविहरुको भूमिका योगदान महत्वपूर्ण रहेको पाइन्छ । वि.सं.२०४६ को जनआन्दोलन पछि बनेको तत्कालिन कुसुमखोला गाँउ विकास समितिका गाविस अध्यक्ष माधव आर्चायकै नेतृत्वमा फेरी समिति बन्यो । त्यो समितिले सिमित स्रोत साधनका कारणले मन्दिरको सोचेँ जति काम गतिविधिहरु अगाडि बढाउन सकेन। त्यसपछि वि.सं.२०७६ सालमा अर्को समिति गठन भयो । जलेश्वर पर्यटन क्षेत्र विकास समितिको नामबाट यस समितिले विधान सम्वत् जिल्ला प्रशासन कार्यालय पाल्पामा विधिवत दर्ता भई आधिकारिकता प्राप्त गर्यो । जसको नेतृत्व वेणिमाधव आर्चायले गरे । सचिवमा दोलख बहादुर कार्की र कोषाध्यक्ष खड्का बहादुर थापा सहित समितिमा सदस्यहरु मेघराज आर्चाय, समर बहादुर वि.क., नारायण बहादुर कुँवर, भेषराम बगाले, चेतबहादुर थापा, केहरसिंह कुँवर, दिवाकर अर्याल, माया कार्की, सुमित्रा बोहरा, अम्मर गाहा र जित कुमारी खत्री रहेको पाइन्छ । यस समितिले वैधानिकता पाएसंगै समितिको पहिलोे बैठक निर्णय अनुसार प्रमुख संरक्षक रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी र वडा अध्यक्षहरु कृष्ण बहादुर थापा, तुलबहादुर जिसी र निल बहादुर रास्कोटी संरक्षक रहेको समितिले जलेश्वरको विकासमा केही पहल कदमी कामहरु भए, हुदैगरे । यस समिति बन्नुपूर्व समिति निर्माणमा लाग्ने अग्रज स्मरणीय रहेका छन् । ती सबै प्रयत्नहरु मन्दिर संरक्षण र प्रवद्र्धनका लागि अर्थपूर्ण रहेका छन्, रही रहने छन् । जे होस जलेश्वर महादेव मन्दिरको संरक्षण र प्रवद्र्धनमा गठन गरिएका ती कर्महरुले मन्दिरको हरेक पक्षीय सेवा समर्पणको अनुभूति गराँउदछ । >
पौराणिक प्राचीन कालदेखि धार्मिक सांस्कृतिक प्राकृतिक दृष्टिले अति महत्वपूर्ण रहेको जलेश्वर मन्दिरको विविध पक्षीय विकास धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सरोकार राख्नु सक्रियता देखाउनुले पनि जलेश्वरको विकास समृद्धि सम्भव रहेको धार्मिक आस्थाको केन्द्र रहेको यी पहलहरुले देखाउँछ । बेलाबेलामा भएका यी सबै गतिविधिहरुले मन्दिरको संरक्षण, प्रवद्र्धन, विकास निर्माणमा टेवा पुगेको अनुभूति दिन्छ । त्यस्तै लामो समयावधिमा वि.सं. २०८० साल चैत्र १० गते यस समिति पुनर्गठन भई अध्यक्ष वेणिमाधव आचार्य, उपाध्यक्ष समर बहादुर विक, सचिव दिवाकर अर्याल र कोषाध्यक्ष माया कार्की सहित सदस्यहरुमा मेघराज आचार्य, रमेशप्रसाद आचार्य, बृहस्पती पचभैया, तारादेवी थापा, लालबहादुर थापा, शशीकला आचार्य र सीता लम्तरी रहेको समितिले जलेश्वर मन्दिरको संरक्षण, प्रवद्र्धन विकास निर्माणका कामहरु गर्दै सम्बन्धित निकायसंग समन्वय गरी यसक्षेत्रको विकासमा उल्लेखीय काम गर्दै आएको छ । मन्दिरको प्रचारप्रसारका लागि मन्दिरसंग सम्बन्धित वित्तचित्र निर्माण देखि प्रचार प्रसारमा लागेको देखिन्छ । समितिले यसक्षेत्रको परिचय दिनेगरी पर्चा ब्रोसर निर्माण गरेको पाइन्छ । विभिन्न संघ संस्थाहरुको पहाल र सयोगमा धारा निर्माण, सेन वंशीय दरबार, फुलबारी निर्माण, गौशला बनाइ विकास र प्रवद्र्धनमा जुटेको देख्न सकिन्छ । >
निष्कर्ष :>
मन्दिरै मन्दिरको संस्कृति सभ्यताको जननी रहेको नेपाल धार्मिक पौराणीक मान्यताको प्राचीन भूमिस्थल रहेकको छ । मानव जीवनसंग जोडीएका पापधर्म मोक्षका कर्म र सिर्जनशीलता तिर दृष्टि दिदा यदाकदा तिनै कुराहरु नै जीवनका लागि महत्वपूर्ण हुने गर्दछन् । धार्मिक तथा पौराणिक प्राचीन मान्यताको जलेश्वरको मन्दिर धार्मिक आस्थाका अतिरिक्त पावन पुण्यभूमि देवतीर्थ स्थलका रुपमा शिव महिमाको विशेषतायुक्त भूमि पाँचौ शताब्दी पछि हिन्दु—बौद्ध संस्कृति माथि आस्था राख्ने विविध महत्व रहेको जलेश्वर महादेव मन्दिर नेपाली जनजीवनको सभ्यता, पौराणीक संस्कृति, धार्मिक आस्था र परम्परागत मान्यता राख्दै जीवन कर्म साँस्कृतिक सम्पदाको रुपमा मूर्त एवं अमूर्त सम्पदाको संरक्षणका लागि निरन्तरता दिदैँ यस्ता साँस्कृतिक सम्पदा, धार्मिक स्थलको जीवन्तता र दिगो विकासका लागि धार्मिक एवं पर्यटकीय स्थलको रुपमा यी मठ–मन्दिरहरुको विकास हुनुपर्दछ । हाम्रा पूर्खा–परपूर्खाहरुले धरोहरका रुपमा हस्तान्तरित गर्दै आएका यी सम्पदाहरु ती पूर्खाको स्मरणका लागि गौरवका विषय र राष्ट्रका लागि अक्षुण्ण सम्पत्तीका रुपमा रहेका छन् । पूर्खाहरुले गरेका ती मानव पुण्य कर्मका लागि उभिएका ती साँस्कृतिक धार्मिक सम्पदाहरु अचेल प्रायः सरोकार बिहिन बन्दैछन् । यी यस्ता मानव पूर्खाका निर्मित संस्कृतिको संरक्षण र जीवन्तता राख्नु, प्रचारप्रसार गर्नु र संरक्षण प्रवद्र्धन गरि भौतिक पूर्वाधारको विकास गर्दै प्राचीन स्मारक सम्पदाको रुपमा रहेका यी सम्पत्तीको जीर्णेद्वार पुनः निर्माण गरी मूर्त एवं अमूर्त पूर्खाका कृति पात्र खडा गरिएन भने त्यसको स्थायित्व निरन्तरता गर्नलाई यी कार्य सञ्चालन भएन भने पक्कै ठप्प हुनेछन् । त्यसर्थ पनि यस्ता सम्पदाको भौतिक संरक्षण र साँस्कृतिक रुपमा खडा गरिएका ती स्थलको स्थायित्व सञ्चालन गर्न खेतीपाती आदि गुठीको व्यवस्था गरेको पाइन्छ । जलेश्वर महादेवको नित्य नैमित्यक पूजा विधि र भौतिक संरक्षणको लागि तत्कालिन समयदेखिनै सरकारको तर्फबाट व्यक्ति विशेषले विशेष ध्यान दिएको पाइन्छ । साँस्कृतिक पक्षका यी कार्यहरु कुनै हालतमा खण्डित नहुन् भनि सचेत रही पारस्पारिक सहयोगले मात्र यस मन्दिरको पूजा सञ्चालन, मन्दिर संरक्षण विकास सम्भव रहने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको देखिन्छ । यद्यपि यस कार्यमा जलेश्वर मन्दिर व्यवस्थापन समिति आफै पनि निरन्तर लागि परेको देखिन्छ । >
सन्दर्भ स्रोत :>
खनाल, विष्णुप्रसाद (अनु., २०८२), गरुड पुराण – नेपाली भावानुवाद, पाल्पा : गोविन्दबहादुर पोखरेल >
घर्ती, “भनभनेली”, विष्णु लुम्बिनी प्रदेश दिग्दर्शन ( पाल्पा जिल्ला ), अप्रकाशित लेख >
घिमिरे, विष्णु प्रसाद (२०६९) पाल्पा राज्यको इतिहास भाग–१–द्वितीय संस्करण, चितवन: पद्मा घिमिरे >
घिमिरे सीता (सम्पा., २०७०) मिर्मिरे द्वैमासिक, काठमाडौँ >
ज्ञवाली, राम र नवराज ज्ञवाली (२०८०) पाल्पाका भैरवनाथ, पाल्पा : श्री भैरवस्थान मन्दिर व्यवस्थापन समिति >
ज्ञवाली, हरिप्रसाद देवभूमि नेपालका चार धाम, काठमाडौँ >
ढकाल, टीकाराम (२०८२) कालीगण्डकी सभ्यता, काठमाडौँ: केन्द्रशेखर ढकाल र जगतशेखर ढकाल >
तिमिल्सिना, यज्ञमूर्ति (सम्पा., २०७९) हाम्रो बगनासकाली फिचर सङ्ग्रह, पाल्पा >
लामिछाने अर्जुन (सम्पा., २०८१) गौरी मासिक, काठमाडौँ >
शर्मा, दिपक (२०७८) साँस्कृतिक कूटनीति, काठमाडौँ : टुँडिखेल साप्ताहिक >
श्रेष्ठ, निर्मल (२०७७), साँस्कृतिक नगर तानसेन, पाल्पा: केशलक्ष्मी श्रेष्ठ >
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन