सद्भावयुक्त समाज निर्माणका लागि सकारात्मक सोच अभियान सञ्चालन गरौँ “सोच बदलौँ, व्यवहार बदलौँ, समाज बदलौँ ।”>
हामी उत्तरआधुनिक युगमा छौं । यो युगले केन्द्र भन्दा बहुकेन्द्रमा बिश्वास गर्दछ । सबैको अस्तित्व स्विकार गर्नृपर्दछ भन्ने मान्यता राख्दछ । ठूलो र सानो, धनी र गरिव, राम्रो र नराम्रो, सुख र दुख, आमा बावु र छोराछोरी, सजिलो र अप्ठयारो, आदिको बिषयमा एकले अर्काको परिपुरक भएको हुनाले दुवै पक्षको अस्तित्व छ । दुवैलाइ महत्वका साथ हेर्नुपर्दछ किन भने एकले अर्कोको परिचय वा अस्तित्व प्रदान गरिरहेको हुन्छ । नराम्रो नभै राम्रोको अर्थ रहदैन । बुवा आमा नभै छोराछोरी हुदैनन भने छोराछोरी नभै बावु आमा बन्न वा भनाउन पाइदैन । तसर्थ समाज क्वान्टमको अस्तित्व जस्तै हरेक व्यक्तीको अस्तित्व अलग र स्वतन्त्र छ । यो आजको युगको ब्याख्या हो । यसैको उपयोग गर्दै यसको नकारात्मक पक्ष आफुलाइ सर्वेसर्वा मान्ने र अरुको अस्तित्व अस्विकार गर्ने व्यवहार बिकास भएकोछ । जसका कारण समाजमा सद्भाव भत्किएको अवस्था छ । मानवता मर्दै भएको छ । हरेक ब्यक्ती, घटना, वा बस्तुका बारेमा सकारात्मकता भन्दा नकारात्मकताको खोजी, चर्चा र बिबेचना गरिएको छ । यसबाट समाजमा नकारात्मकता बढिरहेको देखिन्छ । यसलाइ बदल्न आवस्यक छ र बदल्नका लागि, वास्तविक परिवर्तन बाहिरबाट होइन, मानिसको सोचबाट सुरु हुन्छ । हाम्रो सोच सकारात्मक भयो भने बोलीमा मिठास आउँछ, व्यवहारमा करुणा देखिन्छ, सम्बन्धमा विश्वास बढ्छ र समाजमा सद्भाव कायम हुन्छ ।>
आजको समाजमा असहमति, अविश्वास, नकारात्मक टिप्पणी, द्वेष र विभाजनका प्रवृत्ति बढ्दै गएका छन् । यस्तो अवस्थामा हामीले दोष खोज्ने भन्दा समाधान खोज्ने, विरोध गर्ने भन्दा संवाद गर्ने र निराशा फैलाउने भन्दा आशा जगाउने संस्कार विकास गर्न आवश्यक छ । हाम्रो पूर्वीय दर्शनले पनि सकारात्मक सोच र सद्भावको मार्ग निर्देश गर्दछ यसको ज्वलन्त उदाहरण यस श्लोकले पुष्टि गर्दछ :“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु ,मा कश्चिद् दुःखभाग्भवेत्। ।” यसको अर्थ हुन्छ : सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले शुभ कुरा देख्न पाऊन् र कसैले पनि दुःख भोग्नु नपरोस् । यो केवल प्रार्थना होइन, सद्भावयुक्त समाज निर्माणको मार्गदर्शन हो । आफ्नो सुखसँगै अरूको सुखलाई पनि महत्व दिनु नै सकारात्मक सामाजिक चेतना हो । त्यसैगरी उपनिषद्को सुन्दर भाव छ—“संगच्छध्वं संवदध्वं, सं वो मनांसि जानताम् ।” अर्थात सँगसँगै अघि बढौँ, मिलेर संवाद गरौँ र हाम्रा मनहरूमा एकता कायम गरौँ । यसैलाइ हामीले गतिशिल संवाद भनेका छौं । यसबाट हामीलाई शिक्षा मिल्दछ, संवादले दूरी घटाउँछ, सहकार्यले शक्ति बढाउँछ र सकारात्मक सोचले समाजलाई जोड्छ ।>
चारवटा वेदको सार भागवद्गीता हो भनिएको छ, जसले सिंगो युगको ब्याख्या गर्दछ । जीवनको मार्गदर्शन गर्दछ । जीवनलाइ उत्साहका साथ अगाडि बढाउनुपर्दछ । सदैव आसाबादी सोचका साथ जीवनलाइ अगाडि बढाउनपर्दछ । निराशाले जीवनलाइ पतन तर्फ लैजान्छ र मृत्यूको मुखमा पु¥याउँछ । प्रशंसनीय दृष्टिकोणको मान्यताले भनेझै सकारात्मकताको अन्त्य नै मानिसको मृत्यू हो । यसलाइ भागवद्गीता भन्दछ: “उद्धरेदात्मनात्मानं ,नात्मानमवसादयेत् ।” अर्थात मानिसले आफूलाई आफैँ माथि उठाओस्, आफूलाई निराशा र पतनतर्फ नलैजाओस् । यसले हामीलाइ सन्देश दिइरहेको छ कि, परिवर्तनको पहिलो जिम्मेवारी आफ्नै सोच र व्यवहार परिवर्तन गर्नु हो ।>
समाजलाइ सकारात्मक दिशातर्फ अगाडि बढाउन समाजमा बढदै गएको नकारात्मकतालाइ रोक्न र सकारात्मक दिशा दिन हामी सबैले पहलकदमी लिनुपर्दछ । सबैले योगदान गर्नुपर्नेछ । एउटाले लिएको पहलकदमीलाइ सबैले सबैको पहलकदमी मानेर त्यसको स्वामित्व ग्रहण गरेर सबैले साझा ढंगले सो पहलकदमीलाइ बोकेर अगाडि बढाउने कार्यलाइ हामीले अभियान भनेर भन्दछौं । समाजमा व्याप्त हुदैंगइरहेको नकारात्मकतालाइ घटाउन सकारात्मक पहलहरु अगाडि बढाउनुपर्दछ । सकारात्मक सोच बिकास तथा बिस्तार गर्नका लागि सकारात्मक सोच अभियानको आधार तयार गर्नुपर्दछ ।>
सकारात्मक सोच अभियानका आधार>
सकारात्मक सोच भन्नुको अर्थ हरेकलाइ राम्रै राम्रो देख्नु होइन । अप्ठयारो भित्र अवसर देख्नु हो । समस्या भित्र सम्भावना खोज्नु हो । गाली भित्र अर्ति र फोहर भित्र मोहर देख्नु हो । तसर्थ मानिस भित्र भएको सकरात्मक सोच भन्ने बित्तिकै कालोलाइ पनि सेतो देख्नु वा अध्याँरोलाइ पनि जबरजस्ती उज्यालो मान्नु होइन । तसर्थ अभियानको आधार भनेको सकरात्मक सोच भनेको केहो भन्ने चेतनाकरण गरेर एक प्रकारको आधार तयार गर्नुपर्दछ ।>
हामीले अभियानमार्फत पाँचवटा संस्कार विकास गर्न सक्छौँ— >
पहिलो भनेको सकारात्मक सोचौँ>
हरेक बस्तु, घटना, वा ब्यक्तीमा नकारात्मकता होइन सकारात्मकताको खोजी गरौं । हरेक बस्तु, घटना वा ब्यक्ती भित्र सम्भावना र समाधान खोजौँ ।>
हरेक कुराको निकास र सद्भाव बढाउन सम्मानपूर्वक संवाद गरौँ, मत फरक हुन सक्छ, तर मन फरक हुनु आवश्यक छैन ।>
गल्ती सृष्टिमा होइन दृष्टिमा हुन्छ तसर्थ क्षमा र करुणाको संस्कार विकास गरौँ,गल्तीलाई घृणाको कारण होइन, सुधारको अवसर बनाऔँ ।>
सकारात्मक हरेक कार्यमा सहकार्यको संस्कार बसालौँ, किनभने संघौ शक्ती कलौयुगे,“म” भन्दा “हामी”लाई प्राथमिकता दिऔँ ।>
आशा र विश्वास फैलाऔँ, एउटा सकारात्मक शब्दले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । तसर्थ सम्मानजनक शब्द प्रयोग गरौं । >
हाम्रो अभियानको मूल मन्त्र>
“नकारात्मकता होइन—सकारात्मकता, द्वेष होइन—सद्भाव, विभाजन होइन—एकता, विरोध होइन—संवाद, निराशा होइन—आशा ।”>
हामी प्रत्येक व्यक्तिले दैनिक जीवनमा कम्तीमा एक सकारात्मक सोच, एक सकारात्मक शब्द र एक सकारात्मक काम गर्ने संकल्प गरौँ, घरबाट सकारात्मकता सुरु गरौँ, विद्यालयमा सकारात्मकता फैलाऔँ कार्यस्थलमा सहकार्य बढाऔँ, समुदायमा सद्भाव जगाऔँ, सामाजिक सञ्जालमा घृणा होइन, सकारात्मक सन्देश साझा गरौँ ।>
हाम्रो सामूहिक संकल्प>
“म आफैँबाट सकारात्मक परिवर्तन सुरु गर्छु । म अरूको सम्मान गर्छु । मतभिन्नतालाई द्वन्द्व होइन, संवादको अवसर बनाउँछु । म आदर, सम्मान , अहिंसा र सकारात्मकता फैलाउने काम गर्नेछु । म आफ्नो परिवार, समुदाय र समाजमा सद्भाव, सहकार्य, करुणा र आशाको वातावरण निर्माण गर्न योगदान गर्छु ।”>
किनभने: “एक व्यक्तिको सकारात्मक सोचले परिवार बदल्न सक्छ, एक परिवारको सकारात्मक व्यवहारले समुदाय बदल्न सक्छ, र सकारात्मक सोच भएका समुदायहरूले समग्र समाज बदल्न सक्छन् ।”>
आउनुहोस्,>
सद्भावयुक्त, शान्त, समतामूलक र सकारात्मक समाज निर्माणका लागि, सकारात्मक सोच अभियान सञ्चालन गरौँ । “सोच बदलौँ → व्यवहार बदलौँ → सम्बन्ध सुधारौँ → समाज बदलौँ । ”>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन