कीर्तिपुरको मसानघाट क्षेत्रमा करिब नौ दिनदेखि बेवारिसे अवस्थामा बस्दै आएकी अन्दाजी ५० वर्षीय कुमारी छन्त्याललाई आइतबार मानवसेवा आश्रमले उद्धार गरेको छ। कीर्तिपुर नगरपालिका उप–प्रमुख शुभलक्ष्मी शाक्य, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरूको पहलमा सम्पन्न गरिएको उद्धारपछि नगरपालिकाले उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाएको हो।
शारीरिक तथा मानसिक रूपमा अत्यन्तै कमजोर बन्दै गएकी छन्त्यालको अवस्थाबारे स्थानीयले जानकारी गराएपछि आश्रमले उद्धार प्रक्रिया अघि बढाएको थियो। स्थानीयका अनुसार केही समयअघि उनका छोराले “लिन आउँछु” भन्दै उनलाई बसपार्कमा छाडेर गएको कुरा उनी प्रायः दोहोर्याइरहन्थिन्। सुरुमा सामान्य रूपमा देखिने उनी क्रमशः मानसिक रूपमा अस्थिर हुँदै गएपछि ढलको पानी पिउन बाध्य भएकी र त्यसपछि स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको बताइएको छ।
ढलको दूषित पानी सेवनका कारण पेटमा पानी भरिनु, शरीर सुन्निनेजस्ता गम्भीर समस्या देखिएपछि आश्रमले तुरुन्त उद्धार गरी कीर्तिपुर नगरपालिकासँग सहकार्यमा उपचारको व्यवस्था मिलाएको हो। अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार जारी छ। अवस्था स्थिर भएपछि परिवारका सदस्यहरूसँग सम्पर्क स्थापना गरी पारिवारिक पुनर्मिलन गराइने आश्रमले जनाएको छ।














