माघ ८, रम्भा पाल्पा- रिमिघा लेक जैविक विविधताको हिसाबले धनी मानिन्छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पीपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक नेपालकै एक सय पर्यटकीय गन्तव्य सूचीका रुपमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरदेखि दक्षिणतिर लगभग दुईदेखि साढे दुई किलोमिटरको दूरीमा रिमिघा लेक पर्छ। यो लेक समुद्र सतहदेखि १ हजार ७ सय ९४ मिटर उचाइमा रहेको छ । यहाँबाट एकै नजरमा हिमाल, पहाड र तराई क्षेत्रको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ रहेको माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी अग्लाअग्ला डाँडाका साथै तराईको समथर मैदान देखिने यस पर्यटकीय लेकको विकासका लागि काम अगाडि बढाइएको छ ।
पूर्वपट्टि फोक्सिङ्गकोटको झोकेदी, पश्चिपट्टि पीपलडाँडाको माथिल्लो घोङ्गसिङ्ग, उत्तरतर्फ फोक्सिङ्गकोटको बोरोङ्गसे, नम्टाहा, दक्षिणपट्टि फोक्सिङ्गकोटकै झोकेदी भाग रिमिघा लेकसँग जोडिएको छ।
धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा लेक सुन्दर र रमणीय छ। यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चौर, टुँडिखेल, इनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन्। यहाँबाट उत्तरतर्फ रहेका अग्लाअग्ला अन्नपूर्ण तथा धवलागिरि हिमशृङ्खलाका दृश्य अवलोकन गर्न पाइन्छ। तलतिर नागबेली आकारमा बगेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ।
रिमिघा लेकमा करीब ३४ मिटरको क्षेत्रफलमा सुरुङ्ग जस्तो आकारमा रहेको गुफा, परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेको घरको आकार, नौतुनामा हिँडेको रेल, पोखरा बजारको दृश्य दूरबिनमार्फत देख्न सकिने रिमिघा लेकमा पाल्पा, स्याङ्जा लगायतका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु घुमफिर गर्न, वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन्।
अत्यन्त सुन्दर र समथर भूमिमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिहरुले तपस्या गरेको धार्मिक मान्यता छ ।
रिमिघा लेकलाई प्राथमिकता दिएर यस क्षेत्रमा सडक निर्माण, भौतिक पूर्वाधारका कामलाई अगाडि बढाउँदै गएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रास्ट्रिय न्युजलाई बताउनुभयो।










